October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

भारततर्फ नेपाल आउन लागेका मालबाहक गाडीको लामो लाइन

Advertisement

भैरहवा– बाढीपहिरोका कारण नेपालमा लामो दूरीका यातायात सञ्चालन प्रभावित भएपछि भारतबाट विभिन्न सामग्री बोकेर नेपाल भित्रिन लागेका सयौँ मालबाहक गाडी सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका छन् ।

Advertisement

रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने मालबाहक गाडीको भारततर्फ सुनौलीदेखि मुडिलासम्म १५–२० किलोमिटरभन्दा लामो लाइन लागेको छ । भारतको सुनौली–गोरखपुर सडकखण्डमा मालबाहक सवारीसाधन लामबद्ध रोकिएका छन् ।

अविरल वर्षाका कारण नेपालका अधिकांश राजमार्ग तथा सडकखण्ड प्रभावित भएपछि त्यसको प्रत्यक्ष असर भारतबाट नेपाल भित्रिने मालबाहक सवारीसाधनमा परेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । सडकमा बाढीपहिरो तथा अन्य अवरोधका कारण लामो दूरीमा जाने मालबाहक सवारीसाधन नियमित रुपमा सञ्चालन हुन नसक्दा भन्सार प्रक्रियासमेत प्रभावित भएको हो ।

मालबाहक सवारीका चालक रमेश कान्दुका अनुसार लामो समयसम्म सडकमा जाममा बस्नुपर्दा चालक तथा व्यवसायीलाई समस्या हुने गरेको छ । सवारीसाधन लामो समयसम्म रोकिँदा समय र खर्च दुवै बढ्ने गरेको उनले बताए ।

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलका अनुसार भन्सार परिसरमै ४० भन्दा बढी मालबाहक गाडी भन्सार पास नभई रोकिएका छन् । भारततर्फ पनि लामो जाम रहेकाले ठूलो संख्यामा मालबाहक गाडी उतै रोकिएको उनले बताए ।

चाडपर्व नजिकिँदै गर्दा व्यवसायीहरुले विभिन्न उपभोग्य तथा अन्य सामग्रीको आयात बढाएका छन् । तर, पछिल्ला केही दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण नेपालतर्फका प्रमुख सडक तथा राजमार्ग पूर्ण रुपमा सहज हुन सकेका छैनन् । आइतबारबाट वर्षा केही रोकिएकाले सोमबारदेखि भन्सार पास हुने गाडी बढ्ने अपेक्षा गरिएको छ ।

कतिपय सडकखण्ड खुले पनि पहिरो तथा बाढीका कारण जोखिम कायमै रहेकाले लामो दूरीमा जाने मालबाहक सवारीसाधन सञ्चालनमा समस्या देखिएको हो । जोखिमका कारण कतिपय व्यवसायीले तत्काल भन्सार पास गराउने तथा भन्सारबाट टाढा जाने मालबाहक गाडी तत्काल पठाउन रोकेका छन् ।

नेपालतर्फ सडकको अवस्था सहज नभएसम्म भारतबाट आउने मालबाहक गाडीको आवागमन सामान्य हुन नसक्ने अवस्था देखिएको व्यवसायी बताउँछन् । यसले सीमावर्ती क्षेत्रमा मालबाहक सवारीको चाप बढ्नुका साथै आयात गरिएका सामग्री नेपाल भित्र्याउने प्रक्रियासमेत प्रभावित भएको छ ।

वर्षाका कारण सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रमा लामो समयसम्म मालबाहक सवारी रोकिँदा चालक, व्यवसायी तथा आयातकर्ताले थप आर्थिक तथा व्यवस्थापकीय समस्या झेल्नुपरेको छ । लामो समय भन्सारमा रोकिँदा पार्किङ शुल्क समेत बढी तिर्नुपर्ने समस्या व्यवसायी छन् । भारततर्फ नेपाल आउनका लागि बाटोमै रोकिएका गाडीका कारण लामो जाम समेत लागेको छ ।