October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

७३ वर्षमा सिद्धार्थ उद्योग वाणिज्य संघ: व्यापार प्रवर्द्धनदेखि सामाजिक नेतृत्वसम्म

Advertisement

भैरहवा–तत्कालिन अवस्थामा सीमावर्ती क्षेत्रमा व्यापार व्यवसाय प्रवद्र्धन र व्यवसायीको एकताका लागि सात दशक अघि जन्मेको सिद्धार्थ उद्योग वाणिज्य संघले आफ्नो ७३औँ स्थापना दिवस बिहीवार मनाएको छ ।

Advertisement

७३ वर्षको यात्रामा सिद्धार्थ उद्योग वाणिज्य संघले आफ्नो भूमिकालाई उद्योग, व्यापार, पर्यटन, कृषि, रोजगारी र सामाजिक क्षेत्रसम्म विस्तार गरेको छ । स्थापना दिवसमा उठाइएका विषयहरूले पनि अब संघको प्राथमिकता केवल व्यवसायीको हकहितमा सीमित नरही भैरहवा–लुम्बिनी क्षेत्रको आर्थिक तथा पर्यटन विकाससँग समेत जोडिएको देखाएको छ ।

२०११ सालमा ‘भैरहवा व्यापार मण्डल’का रूपमा स्वर्गीय मंगलसेन शर्मा संस्थापक रहेको यो सँस्था सिद्धार्थ उद्योग बाणिज्य संघमा रुपान्तरण हुन पुगेको हो । सँघको २२ हौं नेतृत्व हाल नेत्रप्रसाद आचार्यले गरिरहेका छन् । यस संघको नेतृत्व गरेका विभिन्न व्यक्तिहरू नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय उपाध्यक्ष तथा सदस्यदेखि लुम्बिनी प्रदेशस्तरीय उद्योग वाणिज्य संगठनको नेतृत्वदायी भूमिकासम्म पुगेका छन् ।

स्थापनाका बेला भारतीय सीमावर्ती क्षेत्रमा हुने व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने र व्यवसायीबीच एकता कायम गर्ने उद्देश्यमा केन्द्रित संघको भूमिका अहिले भने फराकिलो बनेको छ। उद्योग, व्यापार, पर्यटन, कृषि तथा रोजगारीलगायतका क्षेत्रलाई समेट्दै संघले आफ्नो गतिविधि विस्तार गरेको अध्यक्ष आचार्यले बताए ।

उनका अनुसार संघ व्यवसायीको हकहितमा मात्र सीमित नभई सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएको छ । ‘सिद्धार्थ उद्योग वाणिज्य संघ आफ्नो व्यावसायिक हकहितका विषयमा मात्रै केन्द्रित नभई सामाजिक कार्यमा पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ’ अध्यक्ष आचार्यले भने, ‘स्थानीय निकायहरू जनप्रतिनिधिविहीन रहेको अवस्थामा संघले स्थानीय सरकारको रूपमा समेत समन्वयकारी भूमिका निर्वाह गरेको थियो ।’

७३औँ स्थापना दिवस समारोहमा भैरहवा–लुम्बिनी क्षेत्रको पर्यटन तथा होटल व्यवसायका विद्यमान समस्या, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन तथा पर्यटन प्रवद्र्धनका विषय प्रमुख रूपमा उठाइएका थिए । समारोहमा संघका पूर्वअध्यक्षहरूलाई सम्मान गर्नुका साथै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाका प्रबन्ध निर्देशक खुमा अर्याललाई सम्मान गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुर वैद्यले लुम्बिनी र पोखरालाई पर्यटन हबका रूपमा विकास गर्न भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालनमा ल्याउन महासंघले निरन्तर पहल गरिरहेको बताए ।

विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरमा समेत संवाद र पहल आवश्यक रहेको उनको भनाइ थियो । ‘पर्यटन वर्ष मनाउने घोषणा गर्दैमा पर्यटक आउने होइनन् । त्यसका लागि पर्यटन क्षेत्रमा थप आकर्षण र पूर्वाधार सञ्चालनमा ल्याउन जरुरी छ’ वैद्यले भने, ‘पर्यटन व्यवसायलाई अनुकूल हुने गरी नीति निर्माण तथा संशोधन गर्न पनि आवश्यक छ ।’

पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले सिद्धार्थ उद्योग वाणिज्य संघ स्थापना भएदेखि हालसम्मको सफलताको आधार सामूहिक टिमवर्क रहेको बताए । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालनमा ल्याउन नेपाल उद्योग वाणिज्य महासंघको टोलीले सरकारसँग डेलिगेशनमार्फत पहल गर्नुपर्ने बताए । त्यसका लागि रुपन्देहीसहित आसपासका सबै जिल्लाका उद्योग वाणिज्य संघ तथा सम्बन्धित संस्थाहरूको निरन्तर प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल होटल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि बुद्ध धर्मावलम्बीको ठूलो जनसंख्या रहेका मुलुकलाई लक्षित गरी हवाई उडान विस्तार गर्नुपर्ने बताए । बुद्ध जन्मस्थल लुम्बिनीलाई लक्षित गरेर निर्माण गरिएको विमानस्थलबाट बौद्धमार्गी मुलुकका पर्यटक भित्राउने स्पष्ट योजना सरकारसँग नहुनु कमजोरी भएको उनले बताए ।

श्रेष्ठले पर्यटन क्षेत्रका लागि पटक–पटक परिवर्तन भइरहने नीति तथा नियमले व्यवसायमा असर परेको दाबी गरे । प्रहरी प्रशासनबाट पर्यटन व्यवसायमाथि बारम्बार हुने छापा तथा निगरानीका कारण पर्यटक र व्यवसायी दुवै हतोत्साहित हुने गरेको उनको भनाइ थियो । ‘प्रत्येक वर्ष परिवर्तन भइरहने पर्यटनसम्बन्धी नीति नियमले नेपालको पर्यटन क्षेत्रमा असर पारेको छ’ उनले भने, ‘प्रहरी प्रशासनले पर्यटन व्यवसायमाथि बारम्बार छापा मार्ने कार्यले पर्यटक र व्यवसायीलाई हतोत्साहित बनाएको छ ।’

सरकारले आगामी दशकलाई आरोग्य दिवसका रूपमा अघि बढाउने तयारी गरिरहेका बेला त्यससँग सम्बन्धित व्यवसायमा प्रहरी प्रशासनबाट छापा मार्ने क्रम बढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । भारतीय पर्यटकले आफ्नो सवारीसाधन नेपालमा ल्याउन पाउने व्यवस्थामा रहेको समयसीमाले समेत पर्यटन प्रवद्र्धनमा समस्या सिर्जना गरेको उनको दाबी थियो ।

२२औं अध्यक्षसम्मले हाँकेको सिद्धार्थ उद्योग बाणिज्य संघ, कसले के काम गरे ?