September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

बर्मेली र जर्नेली धान पनि लोप

Advertisement

पाल्पा– मुलुकका पहाडी जिल्लामा २० वर्षअघिसम्म रैथाने धान बालीको खेती गरिन्थ्योे । पछिल्ला वर्षमा भने कहिँकतै मात्र त्यस्ता रैथाने धानबालीका बीउ बचेका छन् । किसानका अनुसार उत्पादन थोरै हुने, लगाउन झन्जटिलो, पानी प्रशस्त चाहिने, ढिला पाक्ने भएकाले रैथाने धान लगाउन छाडेका हुन् ।

Advertisement

परम्परागत रैथानै धानबाली लगाउने रामपुर–९, लाम्दीखोलाका गोपाल काफ्लेका अनुसार विगतमा उत्पादन हुने गरेका रैथाने जातका धानको बीउ पछिल्लो समय पाउनै मुश्किल भएको छ । ‘पहिले पहिले परम्परागत ढंगबाट रोपिने छोटे, बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमति, कालो झिनुवा, झिनुवा, आमझोत्ते जस्ता धान बीउ पाइनै मुस्किल भएको छ,’ उनले पुराना धानबाली सम्झिँदै भने, ‘गाउँमा रैथाने धानको महत्व नै हराउँदै गएको छ । लगाउने किसान पाइनै छाडेका छन् । बजारबाट किनेर ल्याएका धान लगाउने बढेका छन् ।’

कतिपय नयाँ पुस्ताले त्यस्ता धानको नाम नै नसुनेको उनले बताए । खेती गर्न छाडेका मात्र छैनन, बीउसमेत मासिएको उनको गुनासो छ । कतिपय धानको बीउ नै लोपोन्मुख अवस्थामा रहेको रामपुर–६, का किसान कृष्ण प्रसाद अर्यालले बताए । उनका अनुसार पछिल्लो समय बजारमा पाइने विभिन्न थरिका धानको बीउबाट उत्पादन धेरै हुने, पानी कम लाग्ने भएपछि किसानको यसतर्फ आकर्षण बढेकोहो । ‘मानिसहरु थोरै क्षेत्रफलमा लगाउने र धेरै उत्पादन दिने धान खोजेकाले पनि पुरना रैथाने धानबाली पाउन सकिएको छैन,’ उनले भने, ‘अब प्रायः बीउ नै मासिन थालेको छ । दुर्गम गाउँतिर गयो भने पाउन सकिएला नत्र मुश्किल नै छ ।’

उत्पादन बढी हुने, धानको नल छोटो हुने, स्याहार्न सहज हुने भएपछि रैथाने धानखेती गर्न छाडेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले बताए । उनका अनुसार हाइब्रिड तथा उन्नत जातहरु रैथाने जातको तुलनामा धेरै उत्पादन हुने, धान काट्न, ठटाउन, आधुनिक उपकरण प्रयोगका साथै गाउँमा काम गर्ने युवाको विदेश पलायनले गर्दा पनि लगाउन छाडेको उनले बताए । ‘थोरै मिहिनेतले धेरै उत्पादन खोजेकाले पनि यस्तो भएको हुनसक्छ,’ उनले भन, ‘खान मिठो र अडिलो धान रैथाने हुने गरे पनि त्यसप्रति अहिलेको पुस्ताको ध्यान नै गएको छैन ।’

उनका अनुसार कतिपय किसानले चाडपर्वमा खानका लागि मात्र लगाउने गरेका छन् । पुराना धानबाट खाना स्वाादिलो भए पनि उत्पादन कम, सिंचाइका लागि पानी धेरै लाग्ने, नल लामो हुने र धान नपाक्दै ढल्ने कारण पनि हाइब्रिडतर्फ किसानको आकर्षण बढेको हो । जिल्लाको ७ हजार२८७ हेक्टर क्षेत्रफल धानका लागि उपयुक्त रहेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले जनाएको छ ।