August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

ग्यास अभाव हटाउन भारतसँग थप ग्यास माग

Advertisement

भैरहवा–मुलुकभर चर्किएको एलपी ग्यास अभावलाई सहज बनाउन नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)सँग थप ग्यास माग गरेको छ ।

Advertisement

यसअघि करिब ४९ हजार ५०० मेट्रिक टन ग्यास माग गर्दै आएको निगमले यसपटक ५५ हजार मेट्रिक टन ग्यास उपलब्ध गराउन आईओसीसँग सहमति गरेको जनाएको छ ।

सुर्खेतमा आयोजित सर्वपक्षीय बैठकमा सहभागी भएका निगमका प्रवक्ता मनोज ठाकुरले बजारमा देखिएको ग्यास अभाव समाधानका लागि विगतको तुलनामा ५ हजार मेट्रिक टन बढी ग्यास माग गरिएको जानकारी दिए । उनका अनुसार निगमले ६० हजार मेट्रिक टन ग्यास माग गरे पनि आईओसीले ५५ हजार मेट्रिक टन उपलब्ध गराउने सहमति जनाएको छ ।

थप ग्यास नेपाल भित्रिएपछि अहिले देखिएको अभाव क्रमशः हट्ने भनाइ निगमको छ । प्रवक्ता ठाकुरले उपभोक्तालाई ग्यास अभाव हुने हल्लाको पछि नलाग्न र आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित नगर्नपनि आग्रह गरेका छन् ।

निगमका अनुसार पछिल्ला महिनामा ग्यासको माग उल्लेख्य रूपमा बढेको छ । फागुनमा ३१ हजार मेट्रिक टन, चैतमा ३८ हजार, वैशाखमा ३२ हजार र जेठमा ३३ हजार मेट्रिक टन ग्यास आपूर्ति गरिएको थियो । असारमा भने आपूर्ति बढेर ४४ हजार ५०० मेट्रिक टन पुगेको थियो । असारदेखि उपभोग बढे पनि त्यसअनुसार आपूर्ति व्यवस्थापन हुन नसक्दा बजारमा अभाव देखिएको जनाएको छ ।

नेपालमा ग्यास ढुवानी गर्ने करिब ६५० वटा बुलेट भारतीय पक्षका रहेका कारण पनि आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको निगमले जनाएको छ । यसअघि लागू गरिएको आधा सिलिन्डर वितरण प्रणालीले समेत समस्या थप जटिल बनेको प्रवक्ता ठाकुर बताउँछन् ।

उता, उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर सञ्चय गर्दा बजारमा कृत्रिम अभावको अवस्था देखिएको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ ।