कल बाईपास गर्ने एक व्यक्ति रुपन्देहीको सिमावर्ती क्षेत्रबाट पक्राउ


भैरहवा–रुपन्देहीको सिमावर्ती क्षेत्रमा होटलको कोठा भाडामा लिएर मु्लुकलाई आर्थिक नोक्शानी पुर्याउने गरि अवैध रूपमा कल बाईपासमा संलग्न रहेको अभियोगमा विभिन्न उपकरण र बिदेशी सिमकार्डसहित एक जना व्यक्तिलाई प्रहरीले विभिन्न अत्याधुनिक उपकरण र नगदसहित पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्क क्षेत्रबाट ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जिल्लाप्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा प्रबक्ता कृष्ण कुमार चन्दले बताए ।
बेलहिया बसपार्कस्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्टको दोस्रो तलामा कोठा भाडामा लिई बस्दै आएका गोरखा जिल्ला, चुमनुव्री गाउँपालिका–४ का ६२ वर्षीय छिरिङ गुरुङ पक्राउ परेका हुन् । उनी बसेको कोठामा खानतलासी गर्दा अवैध कल बाईपासमा प्रयोग हुने विभिन्न उपकरण र सिमकार्डहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, २ थान सिमकार्ड जडान गरिएका डिभाइस, १ थान वल्र्डलिंकको राउटर, १ थान वाइफाइ–६ राउटर, ५६ थान भारतीय सिमकार्ड, नेपाल टेलिकमको सिम, चिनियाँ सिमकार्ड ३ थान, विभिन्न कम्पनीका मोबाइल ३ थान, १२ भोल्टेजको ब्याट्री १ थान, इन्भर्टर १ थान बरामद भएको छ । उनको साथबाट बागमती प्रदेश ०२–०२७ प ९५९७ नम्बरको स्कुटर, नेपाली नागरिकता भारतीय निर्वाचन कार्ड र भारतीय निर्वाचन कार्डपनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका गुरुङलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गत कल बाईपास सम्बन्धी कसूरमा मुद्दामा अदालतबाट कारवाही अघि बढाएर थप गहन अनुसन्धान अगाडि बढाइरहेको डिएसपी चन्दले जनाए ।
कल वाइपासबाट राजस्व तथा कर छली र सेवाको गुणस्तरमा ह्रास हुनुको साथै राष्ट्रिय सुरक्षा र गोपनीयतामा खतरा हुन गर्छ ।








प्रतिकृया दिनुहोस्