July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

उद्योगी–व्यवसायीलाई अनावश्यक धरपकड नगरः सिउवा संघ

Advertisement

भैरहवा– सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले पछिल्ला समय विभिन्न आर्थिक विषय तथा वित्तीय कारोबार सम्बन्धी अनुसन्धानका क्रममा उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुमाथि सरकारले धरपकड तथा पक्राउ गरेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

शुक्रबार संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विज्ञप्ती जारी गर्दै विभिन्न बहानामा धरपकड र पक्राउ नगर्न सरकारसँग आग्रह गरेका छन् । ‘यसप्रकारका गतिविधिबाट स्वदेशी तथा विदेशी लगानीकर्ता, उद्यमी तथा व्यवसायीमा नकारात्मक सन्देश प्रवाह गरेको छ । राष्ट्रको अर्थतन्त्रकोे महत्वपूर्ण आधारस्तम्भको रुपमा रहेको निजी क्षेत्र तथा बैंकिङ क्षेत्रका नेतृत्वदायी व्यक्तिहरुमाथि प्रारम्भिक अनुसन्धानकै चरणमा फौजदारी अभियुक्त सरह व्यवहार गरिनुले समग्र व्यवसायिक वातावरणमा त्रासको अवस्था सिर्जना भएको छ,’ अध्यक्ष आचार्यले जारी गरेको वित्रप्तीमा भनिएको छ ।

कुनै पनि विषयमा निष्पक्ष अनुसन्धान हुनु आवश्यक भए पनि अनुसन्धान प्रारम्भ हुनु अगावै सार्वजनिक रूपमा व्यक्तिको मान–प्रतिष्ठामा असर पुग्ने गरी पक्राउ गर्ने, अनावश्यक प्रचार–प्रसार गर्ने तथा तथाकथित मिडिया ट्रायल गर्ने प्रवृत्ति उचित नभएको संघले विज्ञप्तीमार्फत् जनाएको छ । ‘यस्ता कार्यले सम्बन्धित व्यक्ति तथा संस्थाको सामाजिक प्रतिष्ठा र व्यावसायिक विश्वसनीयतामा दीर्घकालीन असर पार्न सक्छ । अनुसन्धान प्रक्रिया कानूनी मर्यादा, गोपनीयता तथा न्यायिक सिद्धान्तअनुरूप अघि बढाइनु आवश्यक छ’, अध्यक्ष आचार्यले भने ।

बैंकिङ क्षेत्र आम सर्वसाधारणको निक्षेप तथा विश्वासमा आधारित संस्था भएकाले कर्जा असुली वा नियमित बैकिङ प्रक्रियासँग सम्बन्धित विषयमा बैंकका उच्च पदाधिकारी माथि गरिएको पक्राउले बैकिङ क्षेत्रको विश्वसनीयता र साखमा प्रत्यक्ष असर पर्न सक्ने उनको भनाइ छ । ‘यसले बैंक तथा वित्तीय संस्थाहरुको निर्णय क्षमतामा संकुचन ल्याई लगानी प्रवाहमा कमी आउने तथा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने सम्भावना देखिन्छ,’ विज्ञप्तीमा भनिएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म कसैलाई दोषी नमानिने संवैधानिक व्यवस्थाप्रति सबै पक्ष संवेदनशील रहन आवश्यक रहेको संघले बताएको छ । ‘देवानी दायित्व सिर्जना हुने प्रकृतिका विषयहरूलाई पनि सोहीअनुरूप कानूनी प्रक्रियाबाट समाधान गरिनुपर्छ भन्ने संघको स्पष्ट धारणा रहेको छ,’ विज्ञप्तीमा भनिएको छ ।

विगत केही वर्षदेखि शिथिल बन्दै गएको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा निजी क्षेत्रको मनोबल उच्च बनाउने दिशामा सरकारबाट सकारात्मक पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको उनले बताएका छन् । तर, पछिल्ला घटनाक्रमले व्यवसायिक आत्मविश्वास कमजोर हुने तथा लगानी विस्तारको वातावरण प्रभावित हुने चिन्ता उत्पन्न भएको अध्यक्ष आचार्यले जनाए ।

‘समग्र निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्ने, लगानीकर्तालाई सुरक्षित अनुभूति दिलाउने तथा कानूनी शासन र व्यवसायिक मर्यादालाई सुदृढ बनाउने वातावरण निर्माण गर्न सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले सरकारसँग अपील गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।