July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

तिनाउ नदीमा बन्ने ‘सिग्नेचर पुल’ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने तयारी

Advertisement

भैरहवा– रुपन्देहीको तिनाउ नदीमाथि सिग्नेचर पुल निर्माणको तयारी गरिएको छ । अत्याधुनिक ‘सिग्नेचर पुल’को ठेक्का चिनियाँ निर्माण कम्पनीलाई दिने तयारी गरिएको छ ।

Advertisement

सरकारको सडक विभागअन्तर्गत वैदेशिक सहायता महाशाखाले गत मंसिर अन्तिममा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा ६ वटा चिनियाँ कम्पनी तथा संयुक्त उपक्रम (जेभी) सहभागी भएका छन् । सबै कम्पनी चिनियाँ भएकाले निर्माण जिम्मा चिनियाँ कम्पनीले नै पाउने पक्का भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको तिनाउमा निर्माण हुन लागेको ‘सिग्नेचर ब्रिज’लाई पूर्वाधारका रूपमा नभई पर्यटकीय आकर्षणको केन्द्रका रूपमा समेत विकास गर्ने योजना छ ।

हाल तिनाउमा रहेको पुरानो पुललाई यथावत् राखेर त्यसको उत्तर र दक्षिणतर्फ २–२ लेनका दुई नयाँ पुल निर्माण गरिनेछन् । करिब २६६ मिटर लामो आधुनिक पुल निर्माणका लागि झन्डै २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

निर्माणका लागि बोलपत्र पेस गर्ने कम्पनीहरूमा चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेड, पोलिचाङ्दा इन्जिनियरिङ कम्पनीलिमिटेड, आनह इसिन्जियान होल्डिङ ग्रुप कम्पनी लिमिटेड, जीसीजीसीर र आरसीसी जेभी छन् ।

चिनिया जेडआईईसीसँग जेभीको नेपाली कम्पनी शर्मा–एएनके पनि बोलपत्र बुझाएका छन् । यस्तै सीआरईजीसीसँग नेपाली कम्पनी कालिकाले पनि जेभीको बोलपत्र बुझाएको सडक विभागको वैदेशिक सहायता महाशाखाका सिनियर इन्जिनियर सुरेश पौडेलले जनाए । उनका अनुसार अहिले सहभागी कम्पनीहरूको प्राविधिक पक्षको मूल्यांकन अन्तिम चरणमा पुगेको छ ।

सम्पूर्ण प्रक्रिया सम्पन्न हुन करिब तीन महिना लाग्ने अनुमान गरिएको छ । निर्माण कम्पनी छनोट भएपछि सम्झौता गरी कार्यान्वयनको जिम्मा बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालयलाई दिइनेछ ।

नेपाल सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी र तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने योजना अघि बढाएको हो । नारायणी नदीमा भने निर्माण कार्य सुरु भइसकेको छ । त्यहाँ तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्र काम सम्पन्न गर्ने गरी १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँभन्दा बढी रकममा ठेक्का सम्झौता गरिसकेको छ ।

तिनाउ नदीमा निर्माण हुने पुलका लागि सडक विभागले करिब २ अर्ब रुपैयाँ लागत अनुमानसहित टेन्डर आह्वान गरेको थियो । हाल रहेको पुललाई यथावत् राख्दै त्यसको उत्तर र दक्षिणतर्फ थप २–२ लेनका नयाँ पुल निर्माण गरिने योजना छ ।

करीब २६६ मिटर लामो हुने प्रस्तावित ‘सिग्नेचर ब्रिज’ आधुनिक, आकर्षक र कलात्मक डिजाइनमा निर्माण गरिने बताइएको छ । हाल बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम जारी छ । पुरानो तिनाउ पुल जीर्ण बन्दै जानु र बुटवल क्षेत्रमा सवारी चाप अत्यधिक बढ्दै जानुले नयाँ पुल निर्माणको आवश्यकता थप बढाएको हो ।

बुटवल–गोरुसिङ्गे सडक आयोजनाका सूचना अधिकारी अशोक पौडेलका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति २३ प्रतिशत तथा वित्तीय प्रगति २२ प्रतिशत पुगेको छ । आयोजनामा संलग्न इन्जिनियर सुरेश पौडेलका अनुसार पुललाई सडक सतहभन्दा माथि उठाएर बुटवल र तिनाउ क्षेत्रको सौन्दर्य झल्किने गरी कलात्मक शैलीमा निर्माण गरिनेछ ।

उनका अनुसार ‘सिग्नेचर ब्रिज’ परम्परागत पुलभन्दा फरक, आकर्षक र आधुनिक संरचनाका रूपमा तयार हुनेछ । तिनाउ क्षेत्रमा ऐतिहासिक जीतगढी किल्ला, माथिल्लो भागमा रहेको फुलबारी तथा नुवाकोट क्षेत्रसँग पर्यटकीय सम्भावना जोडिएकाले नयाँ पुलले बुटवलमा थप पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।