July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

‘सरकारले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ’

Advertisement

बुटवल– उद्योगी–व्यवसायीले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेकोमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन (समाचार र विचारको संकथन) अन्तर्गत कसरी उभो लाग्छ ? भन्ने बहस कार्यक्रमामा बोल्दै उद्योगी–व्यवसायीले सरकारले उद्योग–व्यवसाय फस्टाउने नीतिनियम बनाउनुपर्नेमा जोड दिएका हुन् ।

Advertisement

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले राष्ट्रिय उत्पादनले प्राथमिकता पाउन नसकेको बताए । ‘काठ पनि तेस्रो मुलुकबाट आयात भइरहेको छ । नीतिगत क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता छ । कम्तिमा सरकारको दृष्टिकोण यस्ता क्षेत्रमा पुग्नुपर्छ । निजीक्षेत्र मैत्री नीति बनाउनुपर्छ’, उनले भने ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्रको कुरा राज्यले सुन्ने नचाहेको आरोप लगाए । उनले कच्चा पदार्थमा भन्सार शुल्क घटाउनुपर्नेमा जोड दिए । बेलहिया नाकामा मात्र नभइ सबै नाकामा कडाइ हुनुपर्ने उनको भनाइ छ । ‘निजी क्षेत्रले उठाएका आवाज सुन्ने कोसिस सरकारी पक्षबाट भएको छैन’, उनले भने, ‘जसले गर्दा नेपालमै प्रशस्त भएका वस्तु बाह्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ ।’

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्यम गर्नका लागि धेरै अवरोधहरु रहेको बताए । ‘हामी निर्वाहमुखी उद्योग–व्यवसायमा केन्द्रीत भयौं कि ? यसतर्फ सोच्नुपर्नेछ’, उनले भने, ‘यसका लागि सरकारले निजी क्षेत्रसम्ग समन्वय गरी काम गर्नुपर्छ ।’

अध्यक्ष पराजुलीले स्वदेशी उद्योग दिगो सञ्चालनका लागि सरकारले नीति बनाउनुपर्नेमा जोड दिए । उनले स्वदेशी वस्तुको प्रयोगमा जोड दिन आग्रह गरे । ‘अचार, डेरी प्रोडक्ट नेपालकै प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘यस्ता कुराहरुमा ध्यान दिने कहिले र कसले ? अब ढिला गर्नु हुँदैन ।’

रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले उद्योग–व्यापारको सम्बन्ध नङ र मासुको जस्तो भएको बताए । सरकारको नीति व्यवसायमैत्री हुन नसकेको उनको आरोप छ । उद्योग व्यापार संघ, बुटवलका अध्यक्ष लोकनाथ पन्थीले राज्यका नीतिनियम ठीक हुनुपर्नेमा बताए । उनले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । ‘राज्यलाई मात्रै दोष लगाएर हुँदैन, गलत गर्ने व्यवसायीको समर्थन गरेका छैनौं,’ उनले भने । कार्यक्रमको सहजीकरण पत्रकार रेखा भुसालले गरेकी थिइन् ।