मोतिपुर औद्योगिक क्षेत्रबाट बस्ती हटाउने विषयमा बुटवलका मेयरको विमती


भैरहवा–मोतिपुर औद्योगिक क्षेत्रमा रहेको बस्ती हटाउने विषयमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले विमती जनाएका छन । पाण्डेयले औद्योगिक क्षेत्रमा परेका बस्ती नहटाउने त्यहाँ बसोबास रहेका बासिन्दालाई आश्वासन दिएका छन् ।
विगतमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ का बस्तीलाई नचलाउने (नहटाउने) गरी जग्गाको सिमांकन गरिएकाले बस्ती विस्थापित नगर्न उपमहानगर प्रतिबद्ध रहेको पाण्डेयले सुनाए ।‘रानीगन्जका बस्तीलाई विस्थापित गरेर मोतिपुर औद्योगिक क्षेत्र सम्भव छैन,’ नगर प्रमुख पाण्डेयको भनाइ छ, ‘केन्द्र सरकारले फिल्डमा आएर जग्गा नापजाँच गरेकै छैन, स्याटेलाइटबाट ८१३ बिघा नापजाँच गरे पनि त्यसमा बस्ती र तिनाउ नदी क्षेत्र समेत छ, त्यो नापजाँच अनुसार खोलामा औद्योगिक क्षेत्र बन्दैन ।’
औद्योगिक क्षेत्रका लागि हालसम्म बस्ती नरहेको २६० बिघा क्षेत्रफल जग्गाको मात्र टुंगो लागेर त्यहाँबाट काम शुरु गर्ने सहमति भएको हुँदा रानीगन्जको बस्ती यथावत रहने नगर प्रमुख पाण्डेयको भनाइ छ । बस्ती खाली गराउने केन्द्र सरकारको ताकेता र बस्ती नहटाउने स्थानीय सरकारको प्रतिबद्धताले मोतिपुर औद्योगिक क्षेत्रको काम कसरी अघि बढ्छ भन्ने चासो छ । बस्ती हटाइए औद्योगिक क्षेत्र बन्न नदिने स्थानीय ग्यामलाल भुसालले चेतावनी दिए ।

बुटवल उपमहानगरभित्र गत असार मसान्तसम्मको तथ्यांक अनुसार १६ हजार ८७४ परिवार भूमिहीन र अव्यवस्थित रहेकामा १० हजार ६ सय १६ जनाको जग्गा नापजाँच गरी अधिकांशको नक्सा तयार भएको थियो ।
रुपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समेत गरी करिब ८० हजार परिवार रहेको भूमि समस्या समाधान आयोग रुपन्देहीको तथ्यांक छ । २०७२ सालमा घोषणा भएको रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा विवादका कारण पुरानो डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) काम नलाग्ने भन्दै नयाँ डीपीआर बनाउने भनिएको थियो । संघीय सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा रहेका अव्यवस्थित बस्ती तत्काल हटाउन गत वैशाख १५ गते पत्राचार गरेको थियो ।
बुटवल उपमहानगरपालिकाले बस्ती नहटाउने प्रतिबद्धता जनाए पनि केन्द्र सरकारको निर्देशनले औद्योगिक क्षेत्रको काम अघि बढ्न अन्योलता सिर्जना भएको छ । उक्त पत्राचारले बुटवल १७ र १८ मा पर्ने रानीगन्ज र आसपासको नदी उकास क्षेत्रका करिब पाँच हजार घरधुरीका हजारौं बासिन्दामा वर्षौंदेखि बस्दै आएको थातथलोबाट विस्थापित भइने त्रास छायो ।








प्रतिकृया दिनुहोस्