July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

बर्दियामा हिउँदे र बसन्ते मकै खेतीमा आकर्षण

Advertisement

बर्दिया– बर्दियामा हिउँदे र बसन्ते मकै खेतीमा आकर्षण बढ्ेको छ । यसअघि जिल्लाका किसान वर्षायाममा मात्र मकै खेती गर्दै आएका थिए । मकैमा घोगा लाग्ने बेलादेखि ग्राहक बारीमै आउन थालेपछि स्थानीय बासिन्दा मकैं खेतीतर्फ अग्रसर भएका हुन् । अहिले उनीहर दुई बाली मकै खेती गरेर लाभ हासिल गरिरहेका छन् ।

Advertisement

गहुँ भन्दा मकैमा फाइदा देखेपछि गत वर्षदेखि आफुले मकै खेती सुरु गरेको गुलरिया–८, थपवाका सीताराम थारुले बताए । ‘गहुँ भन्दा मकै धेरै उत्पादन हुने र विक्री गर्दा फाइदा पनि छ,’ उनले भने, ‘एक बिघामा ६० देखि ७० क्विन्टलसम्म मकै फल्छ ।’ उनले १२ कठ्ठामा मकै खेति गरेका छन् । दुई साताभित्र मकै तयार भइसक्ने उनले बताए । १२ कठ्ठामा ३० देखि ३५ क्विन्टलसम्म मकै उत्पादन हुने उनले बताए ।

बढैयाताल–६, कि सुनिता थारुले ४ कठ्ठामा लगाएको बिक्री गरिरहेको बताइन् । प्रतिघोगा १० रुपैयाँमा बेचिरहेको उनले बताइन् । चार–पाँच वर्षदेखि निरन्तर मकै खेती गरिहेको मधुवन–७, कि चित्रा कुमारी केसीले भनिन्, ‘गहुँ भन्दा मकै बढी उत्पादन हुन्छ । उत्पादन बढी हुने भएकोले मकै खेतीमा आकर्षण बढेको हो ।’ यसपाली १५ कठ्ठामा मकैं खेति गरेको उनले जनाइन् । करिब ३५ क्विन्टल बढी उत्पादन हुने अनुमान गरेको उनले बताइन् ।

‘तर, गहुँ खेती भन्दा मकै खेतीमा बढी दुःख हुन्छ । लगाउने बेला बिउ र मलको सधैं समस्या पर्छ,’ उनले भनिन्, ‘मुस्किलले एग्रोभेटमा बिउ पाइन्छ ।’ गत वर्ष प्रतिक्विन्टल ३ हजारमा मकै बिक्री गरेको उनले सुनाइन् ।

यस वर्ष गुलरिया नगरपालिकाभित्र ४ सय हेक्टरमा हिउँदे र बसन्ते मकै खेती गरिएको गुलरिया नगरपालिका कृषि शाखाका प्रमुख महादेव साहले बताए । कृषि शाखाले ७५ प्रतिशत अनुदानमा हिउँदे मकैको हाइब्रिड जातको मकैको बिउ वितरण गरिएको छ । ‘यस वर्ष २ सय ३७ जनालाई वितरण गरेका हौं,’ उनले भने, ‘उस्तै किरा लागेमा निःशुल्क विषादी र किसानलाई प्राविधिक सल्लाह सुझाव दिइरहेका छौं ।’

कृषि तथा पशुपंक्षी विकास कार्यालयका नायव प्राविधिक सहायक मनिराम थारुले आर्थिक वर्ष २०८०–०८१ मा जिल्लाभर १ सय १० हेक्टरमा हिउँदे मकै खेती गरिएको बताए । ४ हजार १ सय ७० हेक्टरमा बसन्ते मकै खेती गरिएको उनले बताए । उनका अनुसार २०८१–०८२ मा ४ सय ६८ हेक्टरमा हिउँदे मकै खेती गर्दा २ हजार १ सय ८३ मेट्रिक टन उत्पादन भएको थियो । भने, ४ हजार ३ सय १० हेक्टरमा बसन्ते मकै लगाउँदा २१ हजार २ सय ५६ मेट्रिक टन उत्पादन भएको थियो ।