लुम्बिनी प्रदेशका उद्यमीलाई सीप विकास कार्यक्रम


भैरहवा– नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा लुम्बिनी प्रदेशका लगानीकर्तालाई दक्षता बृद्धि कार्यशाला सुरु भएको छ । प्रदेश अन्तर्गत विभिन्न ३५ जना उद्यमीलाई सोमबारबाट दुई दिने सीप विकास कार्यशाला सञ्चालन गरिएको हो । रुपन्देही, कपिलवस्तु, दाङ, पाल्पा लगायत जिल्लाबाट १८ देखि ५० वर्ष उमेर समूहका सहभागी रहेका छन् ।
व्यापार, लगानी र अन्वेषणमा सामूहिक रुपमा काम गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो । कार्यक्रमको सुरुवातमा सहभागीले आफूले गरिरहेको उद्यम, त्यसको प्रतिफल र आगामी डेढ वर्षको लक्ष्यबारे बताएका थिए । यसअघि नेपालगन्ज, जनकपुर, हेटौंडामा यस्तो कार्यशाला आयोजना भइसकेको छ । भैरहवापछि पोखरामा कार्यक्रम गरिने आयोजकले जानकारी दिएका छन् । मुलुकका ७ प्रदेशमा गरेर २ सय जना यसमा सहभागी हुनेछन् ।
इन्टरनेशनल डेभलपमेन्ट इन्ष्टिच्युटका कन्ट्री निर्देशक रोशन घिमिरेले एक महिनाअघि नेपालगन्जबाट सीप विकास कार्यक्रम सुरुआत गरिएको बताए । प्रदेशका आर्थिक केन्द्र रुपन्देही, कपिलवस्तु, नेपालगन्ज, दाङका युवालाई प्राथमिकता दिएर कार्यक्रममा सहभागी गराइएको बताए ।
‘काठमाडौं बाहिरका आर्थिक सहरका लगानीकर्ताको व्यवसायिक दक्षता बृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो,’ घिमिरेले भने, ‘दुई दिने कार्याशालापछि ६ महिनासम्म सहभागीहरुलाई डिजिटल माध्यामबाट सहजीकरण गरिनेछ ।’
लगानीकर्तासित लामो सहकार्य गरेर व्यवसायिक कुटनीति बलियो बनाइने उनले बताए । सहभागीलाई आशुतोष तिवारी र कमल ज्ञवालीले प्रशिक्षण दिइरहेका छन् । यो कार्यक्रमको उद्देश्य रोजगार बृद्धिसँग पनि जोडिएको छ । ‘तपाईंहरु जस्तै नयाँ उद्यम सुरुवातकर्ताले नै भविष्यमा धेरै रोजगार गरेको देखिन्छ,’ घिमिरेले भने, ‘त्यसका लागि कस्तो खालको सहयोग र सुविधा दिन सकिन्छ भन्नेबारे हामी ध्यान दिन्छौं ।’








प्रतिकृया दिनुहोस्