बैंक भौचर भरेर दाखिला गरिएको रकम गयो कहाँ ?


कपिलवस्तु– बैंकमा भौचर भरेर खातामा रकम जम्मा गरेपछि सम्बन्धित बैंक खातामा भौचरमा उल्लेख गरिए अनुरुपको रकम जम्मा हुने गर्छ । यो विश्वव्यापी बैकिगं प्रचलन तथा नियम नै हो ।
तर, कपिलवस्तु जिल्लामा रहेको एउटा अस्पतालमा भने यसरी बैंक भौचर भरेर दाखिला गरिएको भनिएको रकम नै नदेखिएपछि यतिबेला बैकिगं क्षेत्रमा नयाँ चर्चाको बिषय बनेको छ । यो बिषय अव छानबिनका लागि प्रहरी समक्ष पुगेको छ ।
कपिलवस्तुको चन्द्रौटास्थित शिवराज आधारभूत अस्पतालमा बैंक भौचर भरेर जम्मा गरिएको भनिएको ३८ लाख बढी रकम नदेखिएपछि यतिबेला हल्लीखल्ली मच्चिएको हो । शिवराज नगरपालिकाको आन्तरिक लेखा परीक्षणका क्रममा आव ०८१÷८२ मा बैँक दाखिला गरिएका भनिएका १ सय २८ वटा भौचरका रकम खातामा नभेटिए यो बिषय बाहिर आएको हो ।
उक्त अस्पतालको नेपाल बैँक लिमिटेड चन्द्रौटा शाखामा रहेको खाता नम्बर २२८००१०६९४६१३००००००१ जम्मा गरिएको भौचरको रकम खातामा फेला नपरे पछि हिनामिना भएको आशकां गरिएको छ ।
अस्पतालको खातामा जम्मा हुनु पर्ने रकम नभएको पाइएपछि शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले घटनाको विषयमा अनुसन्धान गर्नका लागि प्रहरी समक्ष पत्राचार गर्न बाध्य भएका छन् । उनले गत शुक्रवार वडा प्रहरी कार्यालय चन्द्रौटालाई यस वारेमा पत्राचार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक तथा प्रबक्ता रिपेन्द्रकुमार सिंहले घटनाको विषयमा नगरपालिकाले पत्राचार गरेको र अनुसन्धानको चरणमा रहेको बताएका छन् । यस सम्बन्धमा अस्पतालले पेस गरेको बैंक भौचर नक्कली भएको कारणले खातामा रकम जम्मा नभएको बैँक मार्फत मौखिक जानकारी आएको जनाएको छ । तर अस्पतालका प्रशासनले भने उक्त रकम बैँकमा बुझाइएको र बैँकबाट प्राप्त भौचर रहेको दाबी गरेको छ ।
शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले उक्त अस्पताल नगरपालिकाद्वारा सञ्चालित नगर अस्पताल भएको र अस्पतालका लागि बैंकमा जम्मा गर्न लगाइएको रकम नदेखिएको बताए । ‘यस वारेमा छानबिन जारी छ’ उनले भने, ‘छानबिन पछि यतार्थता खुल्ने छ ।’








प्रतिकृया दिनुहोस्