August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

निर्माण उद्योगमा आपतकाल घोषणा र मूल्य समायोजन गर्न व्यवसायीको माग

Advertisement

भैरहवा–रुपन्देहीका निर्माण व्यवसायीले निर्माण सामाग्रीको पटक पटक अस्वाभाविक रुपमा अत्याधिक मूल्यबृद्धि भएको र अभाव समेत रहेकाले निर्माण उद्योगमा आपतकाल घोषणा गरि मूल्य समायोजन गर्नु पर्ने माग गरेका छन् ।

Advertisement

मध्यपूर्वि एशियामा जारी युद्धका कारण निर्माण सामाग्रीहरुको पटक पटक भइरहेको मूल्यबृद्धि र स्वदेशमैं उपलब्ध हुनु पर्ने नदीजन्य निर्माण सामाग्रीको चरम अभावले गर्दा सम्पूर्ण निर्माण कार्य पूर्ण रुपमा प्रभावित भएको र यथास्थितीमैं सूचारु राख्न नसकिने भनाइ उनीहरुको छ । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै ठेक्का सम्झौता गर्दा कायम रहेको निर्माण सामाग्रीको मूल्य दरमा पटक पटक बृद्धी भएको र मूल्य बृद्धि भए अनुरुपको बिल पेस गर्दा भुक्तानी नपाइने गुनासो गरे ।

लुम्बिनी निर्माण व्यवसायी संघका कार्यवाहक अध्यक्ष प्रितम रौनियारले अहिलेको अवस्थामा निर्माण व्यवसायीलाई परेको समस्याका वारेमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारको ध्यानाकर्षण गराइएको जनाउदै पटक पटकको मूल्य बृद्धिले व्यवसायीलाई आक्रान्त पारेको बताए । ‘सरकारले निर्माण उद्योगमा आपतकाल घोषणा गरि व्यवसायीलाई राहत दिनु पर्ने र बढ्दो मूल्य बृद्धिलाई मूल्य समायोजन गरि सवै अवधिको ठेक्काको समय थप गर्नु पर्ने माग व्यवसायीको हो’ रौनियारले भने, ‘अन्यथा व्यवसायीले लिएको ठेक्काबाट हात उठाउनुको बिकल्प छैन ।’

मूल्य बृद्धीले लागतअत्याधिक बढेका र निर्माण समाग अभावले रोकिएको आयोजनाको समयमैें काम सम्पन्न नगरेको भनि निर्माण व्यवसायीलाई कारवाही गर्न नपाएने उनले बताए । निर्माण व्यसायीका अनुसार, निर्माण उद्योगमा प्रयोग हुने पेट्रोलियम पदार्थ, अलकत्रा, सिमेन्ट, छड लगायत्का सामाग्री मूल्य अप्रत्याशित रुपले बढिरहेको र स्वदेशमा क्रशर उद्योगहरुमा देखा परेको समस्याका कारण नदीजन्य निर्माण सामग्रीको चरम अभाव छ ।

ठूला निर्माण व्यवसायीले सम्झौता गरेको ठेक्कामा सरकारले मूल्य समायोजन गर्ने तर साना व्यवसायीले सम्झौताका काममा नगरेर विभेद गर्ने गरेको, स्थानिय तहरुहरुले निर्माण व्यवसायीको जथाभावी लाइसेन्स दिंदा काममा गुणस्तरीयता आउन नसकेको, सम्पन्न भैसकेको कामकोपनि विभिन्न बहाना देखाएर भुक्तानी रोक्ने गरिएको, सरकारले निर्माण सामाग्रीको गुणस्तर राम्ररी नहेर्दा कमसल निर्माण सामाग्रीको प्रयोग हुने गरेको, सरकारी कार्यालयमा रकमान्तर प्रकृया झन्झटिलो हुने गरेको लगायत्का समस्या दर्शाएका थिए ।

निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज श्रेष्ठले सम्झौता अनुरुप निर्माण सम्पन्न नगरेको भनेर सरकारले व्यवसायीलाई कारवाही गर्ने हो भने पहिला निर्माण सामाग्रीको सहज उपलब्धता र मूल्य समायोजन मार्ग निर्देशिका तत्काल लागु गर्नु पर्ने बताए ।

लुम्बिनी निर्माण व्यवसायी संघका अनुसार, रुपन्देहीमा यस बर्ष करिव ३० अर्व रुपैयां मुल्य बराबरको सरकारी आयोजनामा निर्माण कार्य सञ्चालनमा छ । जसमा साना ठूला गरि करिव डेढ सय निर्माण व्यवसायी संलग्न छन् । करिव २० हजार मजदुर कार्यरत छन् ।

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका निबर्तमान अध्यक्ष बिनय ज्ञवालीले जिल्ला दर रेट निर्धारण समितिले कायम गरेको निर्माण सामाग्रीको मूल्यलाई बर्षमा दुई पटकसम्म समायोजन गर्नु पर्ने नियम भएपनि त्यस अनुरुप परिमार्जन नहुदा व्यवसारी समस्यामा परेको बताए ।