August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

बजेट खर्चमा कमजोर देखियो लुम्बिनी सरकार

Advertisement

भैरहवा– चालु आर्थिक वर्ष २०८२–२०८३ को चैत्त मसान्तसम्म लुम्बिनी प्रदेश सरकारको बजेट खर्च निकै न्युन देखिएको छ । यसले सुशासन र समृद्धिको नारा दिने मुख्यमन्त्री चेतनारायण आचार्य र उनको मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुको काम गर्ने शैलीलाई गिज्याएको छ ।

Advertisement

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार तेस्रो त्रैमासिक अवधि अर्थात् चैत्र मसान्तसम्म सरकारले कुल बजेटको ३४.३१ प्रतिशत मात्रै खर्च गरेको छ । पुँजीगततर्फ ३२.३६ प्रतिशत र चालुतर्फ ३७.२७ प्रतिशत बजेट खर्च भएको लेखा नियन्त्रक कार्यालय जनाएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । चैत्र मसान्तसम्म जम्मा १३ अर्ब ३४ करोड ९६ लाख रुपैयाँमात्र खर्च भएको छ ।

प्रदेश सरकारले पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेकोमा चैत्र मसान्तसम्म ७ अर्ब ५९ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै १५ अर्ब ४३ करोड ५ लाख ३५ हजार रुपैयाँ चालु बजेटमध्ये समीक्षा अवधिसम्म ५ अर्ब ७५ करोड ३९ लाख रुपैयाँ खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै बजेट खर्चमा कमजोर देखिएको छ । कुल बजेटको २३.१८ प्रतिशत खर्च गरेको मुख्यमन्त्री कार्यालयले चालुतर्फ २४.४९ प्रतिशत र पुँजीगततर्फ १२.५१ प्रतिशत मात्रै खर्च गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सबैभन्दा कम ८.६३ प्रतिशत बजेट खर्च गरेको छ । यसमा चालुतर्फ ३१.७४ प्रतिशत खर्च भए पनि पुँजीगत खर्च २.४९ प्रतिशत मात्रै छ । स्वास्थ्य मन्त्रालयले भने सबैभन्दा उच्च ५३.५१ प्रतिशत बजेट खर्च गरेको छ । यसमा चालुतर्फ ४५.८० प्रतिशत र पुँजीगततर्फ ७०.०९ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस्तै, वन तथा वातावरण मन्त्रालयले ३५.१० प्रतिशत बजेट खर्च गरेको छ । जसमा चालु ४३.५९ प्रतिशत र पुँजीगत २३.१८ प्रतिशत छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ३७.१ प्रतिशत बजेट खर्च गरेको छ । यसमा चालु ३७.२८ प्रतिशत र पुँजीगततर्फ ३७ प्रतिशत छ । आर्थिक मामिला मन्त्रालयले २४.३७ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले चालुतर्फ २६.१७ प्रतिशत र पुँजीगततर्फ ११.३७ प्रतिशत खर्च गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले हालसम्म आफ्नो वार्षिक बजेटको १०.३८ प्रतिशतमात्रै खर्च गरेको छ । यसमा चालु २१.४५ प्रतिशत र पुँजीगततर्फ ३.३० प्रतिशत खर्च भएको छ । सहकारी विकास तथा खानेपानी मन्त्रालयले ३१ प्रतिशत बजेट खर्च गर्दा चालुतर्फ ४८.४३ प्रतिशत र पुँजीगततर्फ ३०.१७ प्रतिशत छ ।

सामाजिक विकास मन्त्रालयले २०.४५ प्रतिशत बजेट खर्च गरेको छ । जसमा चालु २३.२६ प्रतिशत र पुँजीगततर्फ १५.२० प्रतिशत छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको कुल खर्च २२.८२ प्रतिशत छ । चालुतर्फ ४१.९८ प्रतिशत खर्च भए पनि पुँजीगततर्फ १०.९२ प्रतिशतमात्र खर्च भएको जनाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ३१.६६ प्रतिशत बजेट खर्च गरेको छ । यसमा चालु ४९.०६ प्रतिशत र पुँजीगत २९.६३ प्रतिशत छ । यस्तै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको बजेट खर्च ३०.८४ प्रतिशत छ, जसमा चालु ३१.७४ प्रतिशत र पुँजीगत २०.१० प्रतिशत छ ।