सालझण्डी–ढोरपाटन सडक निर्माण सुस्त


भैरहवा– नियमित निर्माण कार्यका लागि बजेट अभाव भएपछि रुपन्देहीको सालझण्डीबाट बागलुङको ढोरपाटन जोड्ने सडक निर्माण सेलाएको छ । २०६५ सालबाट निर्माण थालिएको सडक बिस्तार, स्तरोन्नती र कालोपत्रेको काम अहिले सुस्त छ ।
रुपन्देहीको सालझण्डी–पाल्पाको खुर्साने, अर्घाखाँची सदरमुकाम सन्धिखर्क, गुल्मीको पुर्काेटदह अर्खाबाङ हुँदै बाग्लुङको ढोरपाटन जोड्न सडकको निर्माण सुरु भएको थियो । सडकको लम्बाई १ सय ९७ किलोमिटर छ । यसको अनुमानित लागत ८ अर्ब थियो । अहिले लागत बढेर ११ अर्ब पुगेको छ । ६५ करोड माग गरिए पनि चालु आर्थिक वर्ष ३८ करोड रुपैयाँ बजेट परेको छ ।
यस खण्डको अहिलेसम्म ३६ किलोमिटर मात्र कालोपत्रे गरिएको आयोजना प्रमुख इन्जिनियर गगालबहादुर भण्डारीले बताए । रुपन्देहीमा साढे ४, पाल्पामा ४ र अर्घाखाँचीमा साढे २६ किलोमिटर कालोपत्रे गरिएको छ । ‘बजेट अभावमा काम हुन सकेको छैन,’ उनले भने, ‘फाइल पेस गरिरहेका छौं ।’
सडकले लुम्बिनीका चार र गण्डकी प्रदेशको एक जिल्लालाई तराईसँग जोडेको छ । रुपन्देहीमा कालोपत्रे सकिएको छ । पाल्पाको खुर्सार्नेदेखि अर्घाखाँचीको पटौटीसम्म २२ किलोमिटर धमाधम कालोपत्र भइरहेको छ । सन्धिखर्कको माटेदेखि भडारसम्म ७ किलोमिटरमा कालोपत्र बनाउन लागिएको छ । गुल्मीको पुर्काेटदहदेखि अर्र्खाबाङसम्म १९ किलोमिटर र गुल्मीकै सिर्सनीदेखि गंगरेसम्मको ७ किलोमिटर, पुर्काेटदलहदेखि सिर्सनीसम्मको २६ किलोमिटरमा बहुवर्षे अनुसार काम अगाडि बढेको छ । बागलुङको बुर्तिबाङ देखि ढोरपाटनसम्मको २२ किलोमिटरको पनि काम भइरहेको छ ।
सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलले बजेट अभाव, समयमै निर्माण व्यवसायीले काम पूरा नगरिदिने जस्ता समस्याका कारण छिटो काम हुन नसकेको बताइन् । ‘ढोरपाटन सडक बहुआयामिक योजना हो,’ सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले भने, ‘यसै सडक भएर जिल्लामा पर्यटक भित्रिँदा अर्घाखाँचीको आर्थिक गतिविधि बढ्छ । यही बाटो भएर शिकार आरक्ष जाने विदेशी र स्वदेशी पर्यटकको बाक्लो उपस्थितले जिल्लामा चहलपहल बढ्छ ।’
संघीय सरकारले सडकलाई उच्च प्राथमिकता दिएर बजेट पारिदिनुपर्नेमा उनले जोड दिए । ढोरपाटन सडक नियमित भएपछि प्यूठान र रोल्पाबासी पनि बुटवल काठमाडौं आउजाउ गर्न दाङको भालुवाङबाट भन्दा सन्धिखर्कबाट आउजाउ गर्र्न सहज हुने उनले बताए । त्यसका लागि सन्धिखर्क–खलंगा सडक पनि कालोपत्रे अन्तिम चरणमा रहेको छ । ढोरपाटन सडकले अर्घाखाँचीलाई पहाडी जिल्लाको संगमस्थल बनाउने अपेक्षा गरिएको छ ।








प्रतिकृया दिनुहोस्