August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

करको दायरा बढाउँदै भन्सार दर घटाउन बाँकेका उद्यमी व्यवसायीको माग

Advertisement

नेपालगन्ज – सरकारले अव ल्याउने बजेटमा करको दायरा बढाउँदै भन्सार दर घटाउन र भ्याटको दर घटाउन नेपालगन्जका उद्योगी, व्यवसायीले माग गरेका छन् ।

Advertisement

अर्थ मन्त्रालयको राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८२÷०८३ को राजश्व नीति तर्जुमाका लागि नेपालगन्जमा उद्योगी, व्यवसायीसँग आयोजना गरेको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यवसायीले खुल्ला सिमानाबाट हुने चोरी निकासी पैठारीलाई नियन्त्रण गर्दै भन्सार कडाई गर्नपनि सुझाव दिएका छन् । खुल्ला सिमानामा निगरानी तथा कडाइ नहुँदा भइरहेको तस्करीले राज्यलाई राजश्व र व्यवसायीले भन्सार छलेर ल्याएको मालसामानसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको भनाइ उनीहरुको थियो ।

खुल्ला सिमानाबाट यसरी नै तस्करी नै भैरहने, भन्सार दर नघट्ने र भन्सारमा पनि कडाइ नहुने हो भने उद्योग, व्यवसाय नै धाराशायी हुने र यसबाट बेरोजगारीको समस्या पनि बढ्दै जाने चेतावनी उनीहरुले दिएका छन् । कोरोनापछि बैंकले ब्याजदर मनपरी बढाउँदा अहिले उद्योगी, व्यवसायीले लगानीका लागि ऋण लिन छाड्दा बैंकमा पैसा जम्मा भैरहेको जनाउदै उद्यमी व्यवसायीले राजश्व उठाउने कार्यालयको अवस्था पनि त्यस्तै नहोस् भन्नेमा सचेत हुन आग्रह गरेका छन् ।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सार्वजनिक पदाधिकारी, उद्योगी, व्यवसायी र व्यक्तिले व्यक्तिगत नाफाघाटा भन्दा केही माथि उठ्न आवश्यक रहेको बताए । के गर्दा आर्थिक क्रियाकलाप वृद्धि हुन्छ ? भन्ने सोंच सबैको हुनुपर्ने भनाइ उनको थियो । उनले कार्यक्रममा सहभागी रहेका भन्सारका अधिकारीहलाई भन्सारमा निगरानी बढाउन निर्देशन पनि दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लाको सुरक्षा व्यवस्था र व्यवसायिक सवालमा छलफल गर्नका लागि आँफु जुनसुकै वेलापनि उपलब्ध रहेको बताए । सीमापारि किनमेलका लागि जाने र प्रश्न पनि आफैं गर्ने प्रवृत्ति छाडेर सबै इमान्दार हुनुपर्ने भनाइ उनको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले खुला सीमाका कारण ८० प्रतिशत मालसमान बिना भन्सार भित्रिने गरेको बताए । उनका अनुसार, दैनिक २५–३० करोडको मालसामान बिना भन्सार भित्रिने गरेकाले राजश्व वृद्धि हुन सकेको छैन । ‘नेपाल–भारतमा सामानको मूल्य फरक हुनासाथ तस्करी बढेको छ, त्यसैले कम्तीमा दैनिक उपभोग्य सामानमा भन्सार दर र भ्याट हटाउनु पर्छ ’ उनले भने । भन्सार दर घट्ने हो भने भन्सार गराउनेको संख्या वृद्धि हुँदै जाने भनाइ उनको छ । कतिपय नेपाली सामान भारत जाने र त्यहाँबाट पुनः नेपाल भित्रिने गरेको तर्फ पनि सरकारको ध्यान जान आवश्यक रहेकोतर्फ उनले औंल्याए ।

अटोमोबाइल व्यवसायी नरेन्द्र ओलीले हरेक वर्ष करका विषयमा दिने गरेको सुझाव कार्यान्वयन नहुने गुनासो गरे । लत्ताकपडा, खाद्यान्न, मेकानिकल पाट्र्स कर्मचारीकै सेटिङमा भित्रिने गरेको आरोप उनले लगाए । नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले निकासीमा सय प्रतिशतसम्म कर लगाउने हो भने निर्यात फस्टाउन नसक्ने बताए । यसबारे पटकपटक अर्थमन्त्री, सचिवहरूलाई भेटेर कुरा राखे पनि कुनै उपलब्धि नभएको गुनासो उनले गरे । व्यवसायी कस्मिरा खातुनले भारतबाट नेपाल भित्राइने कच्चा पदार्थमा भन्सार महसुल घटाउन जरुरी रहेको बताइन् ।