झण्डै २४ करोड लागतमा तयार भयो सिद्धार्थनगर अत्याधुनिक प्रशासनिक भवन


भैरहवा– झण्डै २४ करोड रुपैयाँ लागतमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । शिलान्यास गरिएको करिब ५ वर्षपछि नगरपालिकाको नयाँ प्रशासनिक भवनको सोमबार उद्घाटन गरिएको छ । नयाँ भवन परिसरमा सोमबार आयोजित समारोहमा नगर प्रमुख इश्तियाक अहमद खाँन र उपप्रमुख उमा अधिकारीले भवन उद्घाटन गरेका हुन् । उदघाटनसँगैं भवनको वास्तु पूजा समेत गरिएको छ ।
गत मंसिर २४ गतेदेखि नयाँ भवनबाट सेवा प्रारम्भ गरिए पनि निर्वाचन लगायत कारणले उद्घाटनमा ढिलाई भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाकाअनुसार २०७८ असार २४ गते स्काई रामसागर जेभीसित निर्माण सम्झौंता गरिएको थियो । सम्झौंता अनुसार २०८० असोजमा निर्माण सकिनु पथ्र्यो । निर्धारित मितिमा काम सम्पन्न नभएपछि २०८२ असोज ३ गते भवन निर्माण पूरा भएको उनले बताए ।
उनका अनुसार चार कठ्ठा क्षेत्रफलमा फैलिएको भवन भ्याटसहित २३ करोड ९२ लाख ६९ हजार रुपैयाँमा निर्माण भएको हो । नगरपालिकाको भवनमा भूमिगत पार्किङ, २६ कोठा, दुई वटा लिफ्ट, कार्यक्रम हल लगायत सुविधा छन् । ‘अझैं इन्टेरियर डिजाइनको काम बाँकी छ,’ थापाले भने, ‘नयाँ भवनबाट कसरी चुस्त सेवा प्रभाव गर्न सकिन्छ भन्नेबारे छलफलमा छौं ।’ सेवाग्राहीलाई कुनै मर्का नपर्नेगरि सेवा प्रदान गर्न कार्यालय भवनलाई अझैं सहज बनाइने उनले बताए ।
नगरप्रमुख खाँनले नगरपालिका स्थानीयका समस्या हल गर्दै स्वच्छ र सफा नगर बनाउन क्रियाशील रहेको जनाउँदैं सहकार्यका लागि स्थानीय बासिन्दा र सरोकारवालासित आग्रह गरे । नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न पनि आधुनिक पूर्वाधार आवश्यक रहेको उनले बताए । ‘अब हाम्रो ध्यान कर्मचारी र जनप्रतिनिधि मिलेर नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नमा केन्द्रित हुनेछ,’ उनले भने, ‘नयाँ भवनबाट प्रविधिको उपयोग गरेर सेवा दिइनेछ ।’
उपप्रमुख अधिकारीले स्थानीयको योगदान र सहयोगले नै नगरपालिका अहिलेसम्म सफलतापूर्वक अगाडि बढिरहेको बताइन्् । ‘तर, अधिकार माग गर्दै गर्दा कर्तव्यको पनि ख्याल गर्नुपर्छ,’ उनले भनिन्, ‘नगरपालिकालाई गुनासो रहित बनाउन नागरिकको ठूलो भूमिका रहन्छ ।’
सिद्धार्थनगरका पूर्वप्रमुख हरिप्रसाद अधिकारीले आफ्नो पालामा शिलान्यास भएको भवनको उद्घाटन गरिएकोमा खुसी व्यक्त गरे । नगरपालिका पूर्वाधारयुक्त भइसकेकाले नागरिकले सामाजिक सञ्जालमा गुनासो गर्नेभन्दा कार्यालयमा आएर आफ्ना भनाई राख्नुपर्ने उनले बताए । नगरपालिकाका सेवा सुधार र सर्भिस प्रवाह प्रभावकारी तुल्याउन स्थानीय बासिन्दाले पनि सकारातमक भूमिका खेल्नुपर्ने उनको भनाई थियो । सेवाग्राहीसित गुनासोमात्र नगर्न उनले अनुरोध गरे ।
उद्घाटन कार्यक्रममा बोल्दैं उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स), रुपन्देहीका अध्यक्ष सचिन रोकाले नगरको आर्थिक क्षेत्र चलायमान हुनेगरि स्तरीय सेवा प्रदान गर्न आग्रह गरे । नगरपालिकाका सेवालाई गुणस्तरीय तुल्याउन आफ्नो संस्थाले सकारात्मक भूमिका खेल्ने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दीलीपकुमार कान्दुले आधुनिक भवन निर्माणसँगैं नागरिकले नगरपालिकाबाट सहज सेवा पाउनु पर्ने बताए । ‘भव्य भवन बन्यो,’ उनले भने, ‘अब सेवामा पनि भव्यता आवस् ।’
साहित्यकार बिजयगोविन्द श्रेष्ठले नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका पुस्तकालयलाई व्यवस्थित गर्नुपर्ने बताए । नगरपालिका नजिकै रहेको भैरहवाकै पुरानो सिद्धार्थ पुस्तकालयको संरक्षणमा ध्यान दिन अनुरोध गरे । जनप्रतिनिधि र कर्मचारीले नियमित पुस्ताकालयमा गएर रेखदेख गर्नुपर्ने बताए । ‘भैरहवाका दिवंगत साहित्यकारका तस्बिर राख्न अनुरोध छ,’ उनले भने ।
सिद्धार्थनगर–४, का वडाध्यक्ष मुक्तिनाथ यादवले भवन तयार हुनु गर्वको कुरा भएको जनाउँदैं कर्मचारी र जनप्रतिनिधिले मिलेर नगरका सेवालाई गुनासा रहित र प्रभावकारी तुल्याउनुपर्ने बताए । ‘नगरपालिकाका सेवा अब पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि जनप्रतिनिधि र कर्मचारीबीच एकता जरुरी छ ।’ उद्घाटन कार्यक्रममा साहित्यकार, पत्रकार, एसईईमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रा, खेलाडी, उत्कृष्ट कर्मचारी र सेवानिवृत्त भएका नगरपालिकाका कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।








प्रतिकृया दिनुहोस्