July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

‘निजी क्षेत्रलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गरिनुपर्छ’

Advertisement

भैरहवा– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र केवल नाफामुखी समूहका रुपमा नभई रोजगारी सिर्जना, राजस्व संकलन र पूर्वाधार विकासको प्रमुख साझेदारका रुपमा रहेको बताएका छन् । शनिबार भैरहवामा सम्पन्न नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको आठौं प्रदेशसभामा बोल्दै अध्यक्ष ढकालले शिक्षण संस्थालाई ‘शान्ति क्षेत्र’ घोषणा गरिएजस्तै निजी क्षेत्रलाई पनि निर्वाध रुपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने जनाए ।

Advertisement

उनले पुराना कानुन, नीतिगत अस्पष्टता तथा नियामक निकायको दबाबका कारण व्यवसायीहरु असुरक्षित महसुस गरिरहेको उल्लेख गरे । सरकारले अघि सारेको ‘निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन योजना’लाई स्वागतयोग्य र ऐतिहासिक कदमका रुपमा व्याख्या गरे । ‘उक्त योजना निजी क्षेत्रको मनोबल उकास्ने दिशामा महत्वपूर्ण उपलब्धि मानिएको छ’, उनले भने, ‘यो माग हामीले नै उठाएको हो । वर्तमान सरकारले पूरा गरेको छ । अब, कार्यान्वयन हुनुपर्छ ।’

उनले सरकार गठनपछि पहिलो मन्त्रिपरिषद् बैठकबाटै यस योजनालाई अगाडि बढाउने निर्णय हुनु सकारात्मक संकेत भएको उल्लेख गरे । महासंघले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरी निजी क्षेत्रका मुद्दामा व्यापक बहस आवश्यक रहेको जनाएको छ । लुम्बिनी प्रदेशका व्यवसायीहरुलाई एकताबद्ध हुन आग्रह गर्दै अध्यक्ष ढकालले साझा धारणा निर्माणबिना आर्थिक समृद्धि सम्भव नहुने स्पष्ट पारे ।

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधानका लागि व्यवसायीहरुबीच कार्यगत एकता अपरिहार्य रहेको बताए । उनका अनुसार निर्वाचन प्रक्रिया लोकतान्त्रिक अभ्यास भए पनि त्यसपछि सबै व्यवसायी एउटै लक्ष्यका लागि एकजुट हुनुपर्छ । श्रेष्ठले अहिले भ्रष्टाचार सम्बन्धी भइरहेको छानविनलाई निरन्तरता दिनुपर्ने बताए । तर, निजी क्षेत्रलाई नोक्सानी पुर्याउने कामविरुद्ध एकजुट हुन उनको आग्रह छ ।

महासंघ लुम्बिनी प्रदेशको आठौँ सभाले प्रदेशको समग्र आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारी अपरिहार्य रहेको औँल्याएको छ । महासंघले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दीर्घकालीन रुपमा पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, भैरहवा र नेपालगन्जका एकीकृत जाँच चौकी शीघ्र सम्पन्न गर्नुपर्ने तथा औद्योगिक पूर्वाधार विस्तारमा तीव्रता दिनुपर्ने माग गरेको छ । रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र तिनाउ–दानव औद्योगिक करिडोरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके प्रदेशको औद्योगिक उत्पादनमा उल्लेख्य वृद्धि हुने महासंघको ठहर छ ।

पर्यटनतर्फ लुम्बिनी केन्द्रित सर्किट, बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्रवद्र्धन तथा ऊर्जा क्षेत्रमा झिमरुक र तिनाउ जलविद्युत् आयोजनाको विकासले आर्थिक गतिविधि सशक्त हुने महासंघको अपेक्षा छ । महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले पछिल्लो समय देखिएको आर्थिक मन्दी, उच्च ब्याजदर र तरलता अभावका कारण व्यवसायीहरु मारमा परेको जनाए । ऋणको सावाँ–ब्याज भुक्तानीमा समय थप गर्न र लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग उनले माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष हेमराज ढकाल, जिल्ला–नगर उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यष भाष्करराज राज कर्णिकार, जिल्ला–नगर उपाध्यक्ष सुरकृष्ण बैधले बोल्दै ‘निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन योजना’ लाई निजी क्षेत्रले दीर्घकालीन सुधारको आधारका रुपमा लिनुपर्ने बताए । यद्यपि यसको प्रभावकारिता भने कार्यान्वयनको गति, नीतिगत स्थायित्व र सरकार–निजी क्षेत्रबीचको विश्वासमा निर्भर रहने उनीहरुको भनाई थियो ।

कार्यक्रममा उद्योगी–व्यवसायीहरुले सामाजिक आन्दोलनपछिको अस्थिरताले निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको भन्दै सम्पत्ति क्षति पुर्याउनेमाथि कानुनी कारबाही र शान्ति सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिएको थिए ।