August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

खाद्यले लक्ष्य अनुरुप भैरहवामा धान खरिद गर्न सकेन

Advertisement

भैरहवा–यस वर्षका लागि ५ हजार क्विन्टल सावा मनसुली धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाले आधा भन्दा कम परिमाणमात्रै खरिद गरेको छ । उक्त कार्यालयले गत मंसिर महिनादेखि धान खरिद गर्न सुरु गरेको थियो ।

Advertisement

रुपन्देही आसपासका क्षेत्रमा बढी मात्रामा किसानले सावा मनसुली धान लगाउने भएकाले भैरहवा कार्यालयबाट सावा मनसुली धानमात्र खरिद गर्ने योजना कम्पनीले यस बर्ष राखेको थियो । मसिनोमा गनिने सावा मनसुली धान खरिद गर्ने अनुमती पाएको खाद्यको यो कार्यालय मुलुकभरिको एकमात्र हो । धान खरिद गर्न बजार भाउ भन्दा केही धेरै राखेर समर्थन मूल्य कायम गरेपनि किसानहरु धान बिक्री गर्न कम सँख्यामा आएपछि धान खरिद गर्न कार्यालय लक्ष्य अनुरुप पुग्न नसकेको हो ।

कार्यालयका अनुसार, प्राथमिक खरिद समितिले प्रति क्विन्टल ३ हजार ६ सय रुपैँया ३३ पैसा मुल्य निर्धारण गरि मंसिर ५ गतेदेखि धान खरिद कार्यक्रम सुरु भएको थियो । समितिले यो मूल्य निर्धारण गर्दा बाहिर बजारमा मनसुली धानको खरिद मुल्य प्रति क्विन्टल ३ हजार ५ सय रुपैयाँ मात्र थियो ।

कम्पनीको प्रादेशिक कार्यालय भैरहवाका सुचना अधिकृत तथा गुण नियन्त्रण अधिकारी बसन्तराज अधिकारीले यस बर्ष २ हजार ५० क्विन्टलमात्र सावा मनसुली धान खरिद भएको र गत माघ २३ गतेदेखि धान खरिद कार्याक्रम बन्द गरिएको बताए । उनका अनुसार, धान बिक्री गर्न आएका रुपन्देही र आसपास क्षेत्रका २२ जना किसानको धान खरिद भएको थियो । कम्पनीले निर्धारण गरेको खरिद मुल्य केही समयपछि बजारमा व्यापारी तथा स्थानीय राइसमिल व्यवसायीले कायम गरेपछि किसान बिक्रीका लागि व्यवसायी समक्ष जान थालेका थिए ।

कम्पनीले भने केही किसानको धान निर्धारित मापदण्ड अनुरुपको गुणस्तर नभएकाले फर्काएको थियो । ‘लक्ष्य अनुरुपको धान खरिद गर्न बजार भाउ भन्दा केही धेरै मूल्य निर्धारण गरि यस वारेमा प्रचारसार गरी किसानलाई जानकारीपनि गराएका थियौं’ अधिकारीले भने, ‘लक्ष्य अनुरुपको धान खरिदका लागि निर्धारित मापदण्ड पुरा भएको गुणस्तरीय धान कार्यालय समक्ष आएन ।’ धेरै भुस भएको, अन्य धान मिसिएको, धानमा बढी चिसोपन भएको, दाना बिग्रेको धान कम्पनीले खरिद गरेको थिएन ।