July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

प्रहरीले सीमानाकामा कडाई गर्दा एकैदिन करोडको अवैध सामान बरामद

Advertisement

भैरहवा– भारतबाट भन्सार छली गरी भित्र्याइएका करिब करोड रुपैयाँ बराबरका अवैध सामानहरु बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देही र मातहतबाट खटिएको प्रहरी टोलीले एकै दिन ठूलो मात्रामा सामान बरामद गरेको हो ।

Advertisement

प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा एकैदिन एक करोड बराबरको अवैध सामान बरामद भएको हो । प्रहरीले बरामद गरेको सामानमा सुन काट्न प्रयोग हुने सामान, पित्तलको पाता, सुन, खरबुजा, केरा, अंगुर, हरियो तरकारी, चिनी, मटर दाना, विभिन्न किसिमका किराना सामान, बोइलर कुखुराको मासु, भारतीय नम्बर प्लेटको जिप, मोटरसाइकल, बोइलर कुखुरा, हरियो खुर्सानी, गम्छा, साइकल, धागो, युरिया मललगायत छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सीमा क्षेत्रमा प्रहरीका सबै युनिटले कडा निगरानी गरेकाले एकै दिन ठूलो परिणाममा समान बरामद गरिएको जनाए । ‘हामीले कुनै अवैध सामान नभित्रियोस् भनेर निगरानीलाई बढवा दिएका छौं’, उनले भने, ‘कसैले पनि भन्सार छलेर सामान ल्याउनु हुँदैन भन्ने जानकारी हुँदाहुँदै त्यस्तो कानून विपरीतको काम नगर्न पनि आग्रह गरिरहेका छौं ।

बरामद गरिएको सामान र सवारीसाधन आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भैरहवा भन्सार कार्यालय बेलहियामा आवश्यक कारबाहीका लागि पठाइएको छ । प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएसँगै पछिल्लो समय धमाधम अवैध सामान बरामद भइरहेको छ । केही दिन अघि पनि प्रहरीले करिब ८ लाख बराबरको अवैध सामान बरामद गरेको थियो ।