June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

बुटवल–गोरुसिंगे सडक विस्तारमा अलमल

Advertisement

भैरहवा– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिंगे सडक खण्डमा यात्रा कष्टकर हुन थालेको छ । सडक बिस्तारका क्रममा निर्माण भइरहेक पुल र कल्भर्टका कारण यात्रा जोखिमपूर्ण बनेको हो । बुटवल उपमहानगरको बेलबासबाट पश्चिम पुल र कल्भर्ट निर्माण भइरहेका छन् । अन्य क्षेत्रमा पनि पुरानो सडक कायम राखेर दायाँ–बायाँ निर्माण चलिरहेको छ । तर, अहिले सबैं ठाउँमा काम भइरहेको छैन ।

Advertisement

केही पुल निर्माण भइरहेको ठाउँमा कामदार र मेसिन सञ्चालन भएको देखिन्छ । केही स्थानमा माटो खन्याएर सम्याइएको छ । तर, सडकमा कामदार देखिँदैनन् । कसैले निगरानी गरेको पनि देखिँदैन । निर्माण समाग्री ओसारेको पाइएन । भत्काइएको सडकमा धुलो उडाउँदैं गाडी गुडिरहेका छन् । सडक फराकिलो बनाउने क्रममा जताततैं धुलो मात्र छ । केही स्थानमा सावधानी अपनाउन अनुरोध गरिएका बोर्ड र चिन्ह नराखेका कारण हलुका सवारी चालक कल्भर्टबाट खस्ने जोखिम छ । यही बाटो भएर स्थानीय यात्रा गर्छन् ।

आयोजनका अनुसार निर्माण जन्य सामाग्री अभाव भएकाले काम प्रभावित बनेको हो । सयमै काम नसकिए यस खण्डका यात्रु र स्थानीय बासिन्दाले पनि बुटवल–नारायणगढ खण्डमा जस्तै दुःख पाउने चिन्ता बढेको छ । राष्ट्रिय राजमार्ग विस्तार आयोजना अन्तर्गत बुटवलदेखि गोरुसिङ्गेसम्म ४९ किलोमिटर खण्ड विस्तार भइरहेको छ । उक्त खण्डका लागि ३० लाख घनमिटर निर्माण सामग्री आवश्यक छ ।

अहिलेसम्म ५ लाख ८० हजार घनमिटर मात्र उपलब्ध भएको आयोजनाले जनाएको छ । स्थानीय सरकारले निर्माणका लागि आवश्यक माटो, गिटी, बालुवा लगायत सामाग्री उपलब्ध गराउन नसक्दा समस्या भएको हो । बुटवलदेखि कपिलवस्तुको बेल नदीसम्म बिस्तार गर्न लागिएको राजमार्गलाई दुई खण्डमा विभाजन गररेर विस्तारको काम भइरहेको छ । सडक विस्तार कम्पनीका इन्जिनियर राजकुमार श्रेष्ठले आवश्यक नदीजन्य सामग्रीका लागि स्थानीय सरकारसित समन्वय गरेर स्रोतको खोजी भइरहेको बताए ।

बुटवलदेखि सैनामैना हुँदै सालझण्डीबाट कपिलवस्तुको कोठी नदीसम्म पहिलो खण्ड विस्तार भइरहेको छ । यस खण्डका लागि ८ लाख ७१ हजार घनमिटर नदीजन्य पदार्थ आवश्यक पर्ने आयोजनाले जनाएको छ । अहिलेसम्म सैनामैना नगरपालिकाले ६३ हजार घनमिटर सामाग्री मात्र उपलब्ध गराएको छ । थप नदीजन्य पदार्थका लागि बुटवल उपमहानगर लगायत पालिकासित आग्रह गरेपनि सुनिश्चित हुन सकेको छैन ।

‘बुटवल, सैनामैना र कपिलपस्तुका स्थानीय सरकारसँग समन्वयका लागि आग्रह गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘यस खण्डमा माटोमात्र ८ लाख ७९ हजार घनमिटर आवश्यक रहेकोमा अहिलेसम्म २७ हजार घनमिटर उपलब्ध भएको छ । पहिलो खण्ड अन्तर्गत २५ किलोमिटरमा ६७ वटा ‘बक्स कल्भर्ट’ मध्ये ३७ वटाको निर्माण अन्तिम चरणमा छ । दुईवटा ‘एनिमल क्रसिङ’ को निर्माण पूरा भइसकेको छ । १२ वटा ठूला मध्ये अधिकांशमा पाइलिङ सहितको काम अन्तिम चरणमा छ । ६ वटा बक्स ब्रिज मध्ये दुई स्थानमा निर्माण भइरहेको छ । यस खण्डमा आवश्यक १९ हजार प्रिकास्ट नाली निर्माण पूरा भइसकेको छ ।

दोस्रो खण्ड अन्तर्गत कोठीदेखि कपिलवस्तुको इमिलियाको बेल नदीसम्म २४ किलोमिटर छ । सयस खण्डमा पनि सामग्री अभावको खटकिएको छ । यहाँ पनि माटो र मिस्कट अभाव भइरहेको छ । यस खण्डका लागि ६ लाख २० हजार घनमिटर माटो आवश्यक छ । अहिलेसम्म तीन लाख घनमिटर माटो प्राप्त भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाले माटो उपलब्ध गराएकाले केही सहज भएको आयोजनाका साइट इन्जिनियर अशोक पौडेलले बताए । अझैं ५ लाख घनमिटर नदीजन्य सामाग्री आवश्यक रहेको उनले बताए । यस खण्डका ६६ वटा बक्स कल्भर्ट मध्ये २६ वटा, १६ वटा एनिमल क्रसिङमध्ये १३ वटा, ठूला आठमध्ये छ वटा पुलको निर्माण अन्तिम चरणमा छ ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको गिर्वाण निर्माण सेवाले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजारमा सडक विस्तारको काम सुरु गरेको थियो । ३ वर्षमा सडक विस्तारको काम सक्ने गरी गत माघबाट काम सुरु गरेको थियो । आयोजनाले १ वर्षमा झण्डै २० प्रतिशत भौतिक प्रगती गरेको छ । १६ प्रतिशत वित्तिय प्रगती भएको आयोजना प्रमुख इन्जिनियर कुलशता न्यौपानेले बताइन् ।

कल्भर्ट, अन्डरपास र नाली निर्माणको काममा ३५ प्रतिशत भन्दा बढी भौतिक प्रगती भए पनि माटो फिलिङ र सडक चौडा गर्ने काम सुस्ताएको उनले बताइन् । न्यौपानेका अनुसार अहिले सडक विस्तारको काममा करिब ६ सय कामदार खटिएका छन् । यस अघि ८ सयसम्म थिए ।