June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

मेला–महोत्सवमा स्थानीय उत्पादनले प्राथमिकता पाउनु पर्छ : मुख्यमन्त्री आचार्य

Advertisement

भैरहवा–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध प्रदेशको लक्ष्य स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाटमात्रै संभव हुने बताएका छन् ।

Advertisement

सैनामैना ब्यापार संघको आयोजनामा सुरु भएको सातौं सैनामैना महोत्सव–२०८२ को सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको बताए । मेला–महोत्सवमा स्थानीय उत्पादनले अनिवार्य रूपमा प्राथमिकता पाउनु पर्नेमा उनले जोड दिए ।

‘स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवद्र्धनमा सबैको साझा ध्यान जानु आवश्यक छ’ आचार्यले भने, ‘मेला–महोत्सवमा स्थानीय उत्पादनका सामग्रीलाई प्राथमिकतामा राख्नु उत्तिकै आवश्यक छ ।’ मेला–महोत्सवमा स्थानीय उत्पादनले प्राथमिकता नपाउने अवस्था आउन नहुने भनाइ उनको थियो ।

लुम्बिनी प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा सधैं रक्षा कवच बनेर उभिने गरेको दाबी उनले गरे । ‘प्रदेश सरकार उद्योगी व्यवसायीको रक्षा कवच बनेर उभिएको छ’ उनले भने, ‘व्यवसायीको लगानीको सुरक्षाको ग्यारेन्टीका लागि हामी खटिरहेका छौं ।’ लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको जनाउँदै उनले उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन जरुरी भएको बताए ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल लगायतले नवप्रवर्तनको क्षेत्रमा समेत लगानी बढाउन आवश्यक रहेको बताएका थिए ।