June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद

Advertisement

बुटवल– भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा आएको टोलीले बुटवलमा जारी औद्योगिक प्रदर्शनीको अवलोकन तथा अन्तरक्रिया गरेको छ ।

Advertisement

प्रदर्शनीको तयारीका क्रममा उद्योग संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीको नेतृत्वमा संघको टोलीले भारतको उत्तर प्रदेशका विभिन्न शहरहरुमा रहेका औद्योगिक क्षेत्रका संस्थाहरुलाई भ्रमणको निमन्त्रणा गरेको थियो । सोही क्रममा यसअघि गोरखपुरको औद्योगिक क्षेत्रको एक टोलीले प्रदर्शनीको अवलोकन गरिसकेको थियो ।

बिहीबार गीडा औद्योगिक क्षेत्रका उद्योगीहरुको टोलीलाई प्रदर्शनीको अवलोकन तथा दुवै क्षेत्रमा उद्योगी व्यवसायीहरुलाई सहज बजार प्रबन्धनका विषयमा अन्तरक्रिया गरिएको प्रदर्शनीका प्रचार संयोजक किरण खरेलले जानकारी दिए ।

प्रदर्शनीमा देखिएको ठूलो उत्साहलाई देखेर भ्रमण टोलीमा आएका भारतीय उद्योगीहरु निकै खुसी भएको र नेपालमा उद्योगको साथै पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने प्रतिवद्धता जनाएको संघका कार्यसमिति सदस्य अखिलेश कसौधनले जानकारी दिए ।

भ्रमणमा गीडा औद्योगिक क्षेत्रको नेतृत्व गरेर आएका गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीले आफूले सोचेभन्दा निकै धेरै उत्साह नेपाली उद्योगी र अवलोककर्तामा पाएको बताए ।

‘हामीले भारतमा बस्दा केही नेपाली साथीहरुसँग मात्रै कुरा भएको थियो तर एकै प्रदर्शनीमा यति धेरै सहभागिता देखेर हामीले त नेपालमा ठूलो उद्योग र पर्यटनको संभावना देखेका छौं, हामी अब सहकार्य गरेर जानसक्छौं, धेरै क्षेत्रमा सहकार्यका आधार यो भ्रमणले देखायो, निकै खुसी छौं’, उनले भने ।