June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

सिद्धार्थ सुरुङमार्ग निर्माण ६५ प्रतिशत सकियो

Advertisement

भैरहवा– सिद्धार्थ राजमार्गमा निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । यो राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, स्थित दोभानमा सुरुङमार्ग निर्माणाधीन अवस्थामा छ । सुरुङमार्ग निर्माण आयोजनाका अनुसार हालसम्म आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत पुगेको छ ।

Advertisement

आयोजनाका अनुसार पहिलो बाइपास सुरुङ १५१ मिटर, दोस्रो बाइपास १६१ मिटर र तेस्रो बाइपास १३० मिटर खनेर सकिएको छ । तीन वटै बाइपास ढोका यही पुस ७ गतेअघि नै छिचोलिएको आयोजनाको कार्यालयले जनाएको छ । दुई वर्षअघिदेखि सिद्धार्थ राजमार्गको तिनाउ–३, दोभान क्षेत्रमा सुरुङमार्गको काम भइरहेको छ ।

सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, पहाड संरक्षण कार्य, रिटेनिङवाल लगायत संरचना निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार समग्रमा २ हजार ३ सय ९८ मिटर सडक स्तरोन्नति गर्नु पर्नेछ । उक्त काम निर्माणको क्रममा छ ।

पाँच वर्षभित्र काम सक्ने गरेर २०७८ फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग निर्माणको ठेक्का सम्झौता भएको थियो । दुई वर्षसम्म बाहिरी भागमा प्रारम्भिक काम गरेको निर्माण कम्पनीले पछिल्लो एक वर्षभित्र बाइपास ढोका र मुख्य सुरुङ छिचोल्न काम सकेको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट पटक पटक पहिरो खसेर मानिसको मृत्युसमेत भएपछि यात्रु यात्रा गर्न डराएका छन् । सुरुङ बनेपछि भने यात्रुले सुरक्षित यात्रा गर्न पाउने आशा गरेका छन् । सुरुङमार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा गर्न सहज हुने छ ।

आयोजनाका अनुसार पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालु रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाई, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाई भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको आइतबार अनुगमन गरी निर्माणलाई तीव्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न आग्रह गरे ।