प्रदेश राजधानीमा प्रशासन चलाउन आकर्षक दश भवन


भैरहवा– लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा ‘मण्डल’ आकारका आकर्षक दश भवन तयार भएका छन् । काम सुरु गरेको तीन वर्षमा भवन निर्माणको ९५ प्रतिशत भन्दाबढी काम सकिएको छ ।
लुम्बिनी प्रदेश सरकारले नयाँ स्थानमा राजधानी सहर विस्तार गर्ने योजना तयार गरेर आफ्नै स्रोतबाट भवन निर्माण सुरु गरेको थियो । ४ अर्ब २१ करोड लागतका भवनको वित्तीय प्रगति भने ७० प्रतिशत मात्र छ । २०७९ फागुन ३ गते तत्कालीन मुख्यमन्त्री लीला गिरीले भवन निर्माणको शिलान्यास गरेका थिए । भवन निर्माण गर्ने योजना प्रदेश सरकारको गौरवको आयोजना हो ।
देउखुरीको राप्ती प्राविधिक शिक्षालयको १७ बिगाहा जग्गामा भवन तयार भएका हुन् । भवन निर्माणका लागि शर्मा सुगन जेभीले सम्झौता गरेका थिए । तीव्र गतिमा निर्माण भइरहेको भवनको ९५ प्रतिशत भन्दा बढी निर्माण सकिएको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख इन्जिनियर प्रदीप भट्टराईले बताए ।
‘भवन निर्माणको समग्र प्रगति ९५ प्रतिशत भन्दा बढी पुगेको छ,’ उनले भने, ‘अब अन्तिम रंगरोगन, बत्ती जडान र सामान्य भित्री फिनिसिङका काम मात्र बाँकी छन् ।’ सीमा पर्खाल, सडक पिच, बत्ती जडान तथा ट्वाइलेटका सामग्रीसम्बन्धी केही फिनिसिङ काम मात्र बाँकी रहेको उनले बताए ।
बाहिरी कम्पाउन्ड निर्माण र हरेक मन्त्रालयमा जाने सडक कालोपत्रे भइरहेको छ । आगामी पुसभित्रै सबै भवन हस्तान्तरण गर्ने गरी काम भइरहेको उनले बताए । संघीयता कार्यान्वयनमा देशका ७ प्रदेशमध्ये आफ्नै जग्गामा आफ्नै स्रोतबाट भवन निर्माण गर्ने लुम्बिनी प्रदेश सरकार पहिलो हो । अन्य प्रदेश सरकारले अहिलेसम्म जग्गा व्यवस्थापन गर्नसमेत सकेका छैनन् । राजधानी देउखुरीमा निर्माण भइरहेका मण्डला आकारमा ९ वटा मन्त्रालय र एउटा मुख्य प्रशासनिक भवनको रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहनेछ ।
मुख्यमन्त्री कार्यालयको भवनमा मात्र ठुला २ हलसहित ९६ कोठा रहेका छन् । मुख्यमन्त्री कार्यालय दुईवटा लिफ्टसहित ६ तलाको छ । ९ वटा मन्त्रालयका सबै भवनमा ५४–५४ कोठा छन् । हरेक भवनमा एक बैठक कक्ष, मल्टिपर्पोज मिटिङ हल छन् । सबै भवनमा अन्डरग्राउन्ड पार्किङ सुविधा छ । १० वटै भवनका पहिलो तला अपाङ्गमैत्री र अन्य तलामा लिफ्ट सुविधासहितका छन् । कोठाहरु एचभीएसी सुविधासहितका छन् । हरेक कोठाको बाहिरी दृश्य फुल बगैँचा र हरियाली वातावरणमा छन् । मन्त्रालयका भवन र छाना सेतो र रातो रंगले पोतिएको छ ।
भवन र जग्गाको डिजाइन गर्दा सबै मन्त्रालयमा पुग्न एक मुख्य सडक र त्यससँग जोडिएका अन्य सडकको चौडाइ विस्तार गरेर नाली र १० फुटको फुटपाथसहित निर्माण भएका छन् । भवन निर्माण सम्पन्न भएर नयाँ भवनबाट सेवा सुरु गरेपछि मन्त्रालयले अहिले प्रयोग गरिरहेका भवनहरूलाई मन्त्री र कर्मचारीका आवास गराउने सरकारको तयारी छ । लुम्बिनीमा अहिले १२ मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय, प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोगसहित ७ निर्देशनालय लगायतका संरचना छन् ।








प्रतिकृया दिनुहोस्