June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

सकियो सातौं लुम्बिनी महोत्सव, करिब १२ करोडको कारोबार

Advertisement

भैरहवा– रुपन्देहीको भैरहवामा आयोजित सातौं लुम्बिनी महोत्सव सकिएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग ब्यापार संगठन)को आयोजनामा संचालित महोत्सवमा करिब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, महोत्सव १ लाख २० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताए ।

Advertisement

महोत्सव मंसिर ३ गतेदेखि २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा चलेको थियो । आइतबार महोत्सव समापन समारोहमा बोल्दै अध्यक्ष रोक्काले भने, ‘महोत्सवले कृषि, पर्यटन, उद्योग, व्यापार लगायत क्षेत्रको प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ’, उनले भने, ‘यसपटक विगतका वर्षहरुमा भन्दा सभ्य, भव्य र मर्यादित रुपमा सकिएको । निजी क्षेत्रलाई यो महोत्सवले हौसला दिलाएको छ ।’

महोत्सव समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले यस्ता महोत्सवले आर्थिक क्षेत्रलाई गति दिन योगदान गर्ने बताए । ‘यहाँहरुले ठूलो मिहिनतले यो महोत्सव सम्पन्न गर्नुभयो’, उनले भने, ‘पक्कै पनि यसले बजारमा नयाँ उर्जा थपेको छ ।’

उनले अहिले प्रदेश सरकारले कृषिमा सहुलियत ऋणको व्यवस्था गरेको जनाए । बैंकले लिने ८ प्रतिशत ब्याजमा पाँच प्रतिशत प्रदेश सरकारले तिर्ने र ३ प्रतिशत ऋणिले तिरे हुने जानकारी दिए । उनले निजी क्षेत्रले भैरहवामा स्थायी मण्डप बनाउनका लागि माग गरिरहे पनि प्रदेशसँग त्यस्तो लगानी नभएको स्पष्ट पारे । बुटवलमा मण्डप भए पनि चलाउन नसकिएको उनको भनाई छ । उनले पर्यटक बढाउने खालमा गतिविधि गर्नुपर्नेमा जोड दिए । समग्रमा प्रदेशको विकासका लागि सरकार लागि परेको उनको भनाई छ ।

उनले यस क्षेत्रको आर्थिक विकासको आधार समेत रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन प्रदेश सरकारले निरन्तर पहल गरिरहेको जनाए । ‘प्रदेशले गर्ने सबै पहल गरेको छ’, उनले भने, ‘हेरौं, केही महिनामा रिजल्ट आउला । विमानस्थल चल्ला ।’ उनले कम्तिमा दुईवटा विमान चलाउन सके यस क्षेत्र गुल्जार बन्ने बताए ।

कार्यक्रममा लुम्बिनी सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले मेला महोत्सवले स्थानीय उत्पादन र पर्यटनको प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने जनाए । १८ दिनसम्म चलेको महोत्सवमा ३ सय वटा स्टल थिए । यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको जलपरी र फिस टनेल थिए ।

यस्तै, महोत्सवमा राष्ट्रिय, घरेलु तथा साना उद्योगको उत्पादन, अटो, बैंक तथा वित्तीय संस्था लगायतको प्रबद्र्धन गरिएको थियो । स्थानीय बजारमा खरिद गरी स्थानीय बजारको प्रबद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔं भन्ने मूल नाराका साथ आयोजित महोत्सवले भैरहवा र यस आसपासको बजार चलायमान बनाउन कोशेढुंगा सावित भएको आयोजकको दावी छ ।