मेला–महोत्सवको मौलिकता खोइ ?


भैरहवा– जलवायू परिवर्तनको असरले हो कि कुन्नि ? आजकाल मंसिरमा गर्मी हुन्छ । जेठ असारमा वर्षा हुँदैन । लेकमा गुराँस फुल्ने समय फेरबदल भइसक्यो । लाउने–खाने परम्परा र संस्कृतिमा परिवर्तन भइसक्यो । सायद त्यसैको असर होला आजकलका मेला–महोत्सवबाट मौलिक पन गुम्दैं गएको छ । रुपन्देहीमा मेला–महोत्सवको चलन सुरु भएको दुई दशकभन्दा धेरै समय भइसक्यो । उतिबेला मेला–महोत्सव पर्व जस्ता हुन्थे । अहिले बाध्यता जसरी आयोजना गर्न थालियो ।
त्यतिबेला औद्योगिक नगरि बुटवलमा सडक डिभिजन परिसरमा महोत्सव सञ्चालन हुँदा रुपन्देहीका बासिन्दालाई दशैं तिहारको माहोल हुन्थ्यो । बालक, युवा, तन्नेरी र बृद्धबृद्धा महोत्सव हेर्न पुग्थे । दिनैभरि घाम ताप्दै महोत्सवका प्रस्तुति हेर्थे । बिहान १०–११ बजेदेखि लाग्ने सर्वसाधरण भीड झमक्क रातसम्म गीत, संगित र हाँस्यव्यंङ्गमा झुम्थे । त्यसबेला लोकदोहोरी प्रतियोगिता खुब जम्थ्यो । दिनैभरि समूह–समूहबीच कडा सवाल जवाफ हुन्थ्यो । दर्शकहरु छमछम नाच्थे ।
चुरे फेँदको बुटवलमा लोकदोहोरीको माहोल हुन्थ्यो । त्यतिबेला भैरहवामा सञ्चालन हुने मेला–महोत्सवमा दोहोरी नघन्के पनि स्थानीय भाषा–भाषी र संस्कृतिले स्थान पाउँथ्यो । अवधि, भोजपुरी मिश्रणमा सञ्चालन गरिने विविध सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण हुन्थे । जाडो महिनामा मेला–महोत्सव भनेपछि स्थानीय बासिन्दा पनि हुरुक्क हुन्थे । पहिले उद्योग वाणिज्य संघहरुले मेला आयोजना गर्थे । बिस्तारैं उद्योगी व्यवसायीका संस्था बढ्दैं गए । मेलामहोत्सवका नामकरण बदलिए ।
अहिले वर्षैपिच्छे मेला–महोत्सव आयोजना भइरहन्छन् । एक हैन, पालिकापिच्छे आयोजना गरिन्छन् । पहिले संस्कृति, प्रकृति, रहन, सहन, खानपान, भेषभुषा जगर्ने गर्ने उद्देश्यलाई पूर्ति गर्ने प्रयासर गरिन्थ्यो । पुराना चलनचल्तिका सामान प्रदर्शन गरिन्थ्यो । संग्राहलय जस्ता हुन्थे मेला पनि । स्थानीय उत्पादनको प्रवद्र्धनलाई जोड दिने गरिएको थियो । आधुनिक सामान पनि हुन्थे । तर, स्थानीय कला, शैली र परम्परा हावी हुन्थे । मेलामा चल्तिका कलाकारसँगैं स्थानीयलाई स्थान दिइन्थ्यो । प्रतियोगिता आयोजना गरेर प्रस्फुटन हुने अवसर मिल्थ्यो ।
घामपानी, यामहरु मात्र फेरिएका रहेनछन् । अहिले पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्य भए पनि अधिकांश महोत्सव रमाइलो मेलामा सिमित बनेका छन् । आयोजना गर्दा लगानी धेरै लाग्ने भएर हो कि ? मेलाको उद्देश्य दर्शकबाट आर्जन गर्ने धेरै देखिन्छ । मेलामहोत्सवमा आकर्षिक गर्न जलपरिदेखि लण्डन ब्रिज आयातित हुन्छन् । पहिले मेलाको गेटमा लुम्बिनीस्थित मायादेवी मन्दिरको झल्को दिने संरचना तयार गरिन्थ्यो । अहिले त लण्डनब्रिज र जलपरिले स्वागत गर्छन् । रैथाने व्यापारलाई जोड दिन छाडियो । जति सकिन्छ लत्ताकपडा र तयारी खानपान पस्किने प्रचलन सुरु भएको छ । यसैले त होला मेलाको आकर्षण घट्दो छ ।
पछिल्लोपटक मेलामहोत्सव आयोजकले दर्शक कुर्नुपर्ने भयो । बिदाको दिनमात्र मेलामा मानिसको घुँइचो लाग्छ । अन्य दिन मञ्चमा कलाकार चिच्याउँछन् । परिसर सुनसान हुने अवस्था छ । अब दर्शक नै नआउने अवस्था हो भने उद्योगी–व्यवसायीले मेलामहोत्सवको स्थानमा अरु नै कुनै आकर्षणका कार्यक्रम गर्न सकिन्छ कि । सोच्ने बेला आएको छ । हुन त मुलुकमा मानिसकै कमी भएका बेला, कसरी चलुन मेला ।
कम दर्शक हुने अवस्थामा उद्योगीका संघसंस्थाले विशेष अवसर पारेर एउटै मेलामहोत्सवको पो गर्ने हो कि ? यस्ता महोत्सव आयोजना गर्दा धेरै लगानी भइरहेको छ । बुटवलमा स्थायी संरचना छन् । तर, अन्यत्र स्थायी संरचनाको अभाव छ । यस्तोमा अस्थाई संरचना निर्माण गरेर भत्काउँदा हुने क्षति अब रोकिनु पर्छन् । पालिका मिलेर पायक पर्ने ठाउँमा स्थायी संरचना तयार गर्न सकिन्छ कि ? सोचौं ।








प्रतिकृया दिनुहोस्