रूपन्देहीमा बढ्यो तस्करी, यात्रुबाहक बसमै पठाइन्छ काठमाडौंसम्म सामान


भैरहवा– रूपन्देहीमा तस्करी बढेको छ । जिल्लाको मुख्य नाकाहरुबाटै तस्करी बढेको हो । दैनिक रुपमा भैरहवाको बसपार्कबाट यात्रुबाहक गाडीमा तस्करीका सामान राखेर विभिन्न ठाउँमा पठाउने गरिएको छ । हुनतः लामो समयदेखि भैरहवाको बसपार्क आसपासमा गोदाम गरेर राखिएको तस्करीको सामान यात्रुबाहक बसमा राखेर पठाउने गरिएको छ ।
यो क्रम जेनजी आन्दोलन पछि झनै बढेको बसपार्क क्षेत्रका स्थानीयहरु बताउँछन् । खासगरी साँझको समयमा यात्रुबाहक बसमा तस्करीको सामान राख्ने गरिएको छ । तस्करहरुको समूहले कपडा, जुत्ता, फूल, हार्डवेयर र किराना सामान यात्रुबाहक बसमा राखेर काठमाडौं, पोखरा लगायतका सहर सप्लाई गर्ने गरेको बसपार्कका एक स्थानीयले बताए ।
दैनिक बसमा अवैध सामान राखेर पठाइँदा समेत बसपार्कमै रहेको प्रहरी देखेर पनि नदेखेझै गरिरहेको स्थानीयको भनाई छ । स्थानीयले भारतबाट माछा समेत बसमा राखेर काठमाडौं पठाइने गरेको जनाएका छन् । हरेक दिन ३०–४० कार्टुन र बोराहरुमा राखेर अवैध सामान पठाउने गरिएको छ ।
पछिल्लो समय बसपार्क र यसआसपास मेउडिहवा, बगाहा, बेलहिया, धकधई लगायतका क्षेत्रबाट तस्करीको सामान भित्रिने गरेको छ । दैनिक उपभोग्य सामान खरिद गर्ने बहानामा तस्करी बढीरहेको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने बताउँछन् ।
‘नाकामै सशस्त्र प्रहरी छ, तर तस्करी रोक्नेमा ध्यान दिएको पाइँदैन’, उनले मंगलबार सिद्धार्थ उद्योग बाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रममा भने, ‘भन्सार, प्रहरी र सशस्त्रले चाहे तस्करीको सामान रोकिन्छ । तर, रोक्ने काम भएको छैन ।’ व्यवसायीले अहिले चिनी, कपडा लगायत घरायसी सामानको बहानामा दैनिक तस्करी भइरहेको बताएका छन् ।
भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलले समेत सीमा क्षेत्रका बजारमा अवैध खाद्यान्न लगायतको सामान भित्रिरहेको बताउँछन् । ‘भन्सार हुँदै बैध बाटोबाट जम्मा पाँच प्रतिशत खाद्यान्न भित्रिन्छ, तर, नेपाली बजारमा सबै ठाउँलाई पुग्ने खाद्यान्न आयात भएको छ’, उनले भने, ‘धेरै खाद्यान्न अवैध बाटोबाट भित्रिने गरेको छ ।’ उनले अवैध सामान खरिद नगर्न उद्योगी व्यवसायीलाई आग्रह समेत गरे ।
पछिल्लो समय सशस्त्र र नेपाल प्रहरीको सेटिङमा धकधई क्षेत्रबाट बढी मात्रामा तस्करी भइरहेको छ । तस्करहरुले गोदामै गराएर सामान सप्लाई गर्ने गरेका छन् । यस्तै, सुरक्षा निकायसँगको मिलेमतोमा लुम्बिनी क्षेत्रबाट कपडा र मल तस्करी ब्यापक छ । किसानको नाममा ठूलाठूला गोदम बनाएर मल तस्करी भइरहेको प्रत्यक्षदर्शी बताउँछन् । मल तस्करी भइरहेको प्रमाणित मंगलबार मात्रै पाल्पामा अवैध मल बरामद हुनुले पुष्टि गर्छ । रुपन्देहीका सीमा क्षेत्रबाट भित्र्याएर लगिँदै गरेको अवैध मल पाल्पा प्रहरीले नियन्त्रणमा लिएको थियो । केही दिन अघि भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा समेत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमा क्षेत्रमा तस्करी मौलाएको जनाएका थिए ।
उनले भन्सारबाट अवैधरुपमा ट्रकका ट्रक सामान भित्रिरहेको बताएका थिए । तर, मंगलबार उद्योग बाणिज्य संघमा आयोजित कार्यक्रममा भन्सार प्रमुख पौडेलले मुख्यमन्त्रीप्रति व्यङ्ग्य गर्दै भन्सारबाट ट्रकमै सामान भित्रिने, ती बैध हुने जनाएका थिए । प्रहरी र सशस्त्रले तस्करी नियन्त्रणमा लागि परेको दावी गरेका छन् । तर, तथ्यले रुपन्देहीको नाकाबाट रातदिन तस्करी बढेको देखाउँछ । व्यवासयीले अवैध गर्नेलाई कानूनी दायरामा ल्याउन माग गरेका छन् ।
गल्लामण्डीका व्यवसायी झविलाल बेल्बासेले कर्मचारीको मिलेमतो बिना चोरीतस्करी सम्भव नहुने बताउँछन् । ‘कर्मचारीले गर्ने गल्तिका कारण राज्यलाई राजश्व घाटा लागिरहेको छ,’ उनले भने, ‘सेवाग्राहीभन्दा बिचौलियासित कर्मचारीको पहुँच हुने भएकाले समस्या भइरहेको छ ।’ बिचौंलियाका कारण राजश्व चुहावटले प्रसय पाइरहेको उनले बताए ।
व्यवसायी मदन पौडेलले अहिले चिनी तस्करी ब्यापक रहेको बताउँछन् । उनी भन्छन्, ‘सीमा क्षेत्रमाबाट तस्करी बढेको छ । रोक्नतर्फ ध्यान दिऔं, दैनिक लाखौं राजस्व गुमीरहेको छ ।’ बैध व्यवसायीको भनाई मान्ने हो भने अहिले रुपन्देहीमा तस्करी बढेको पुष्टि हुन्छ । जिल्ला प्रहरी र सशस्त्र प्रहरीले घुमुवा नै परिचालन गरेर तस्करीलाई प्रसय दिइरहेको व्यवसायीको दावी छ । यतिसम्मकी सशस्त्रले हरेक बीओपीमा घुमुवा परिचालन गरेको छ । तर, ती घुमुवार तस्करी नियन्त्रणमा भन्दा तस्करसँग साँठगाँठ गर्न बढी तल्लीन भएको दावी व्यवसायीहरुको छ ।








प्रतिकृया दिनुहोस्