राजश्व अनुसन्धान र भन्सार कार्यालयबाट व्यवसायीमैत्री व्यवहारको अपेक्षा


भैरहवा– जिल्लामा रहेका राजश्व अनुसन्धान र भन्सार कार्यालयका सेवा व्यवसायीमैत्री हुनुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको अन्तरक्र्रिया कार्यक्रमका सहभागीले जेन–जी आन्दोलनपछि सरकारले औद्योगिक र व्यवसायिक क्षेत्रमा गरेको सुधारले निरन्तरता पाउनु पर्ने बताएका हुन् ।
संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले रुपन्देही औद्योगिक र व्यवसायिक जिल्ला भएकाले यहाँका राजश्व र भन्सार कार्यालयले प्रदान गर्ने सेवासित सरोकार हुने बताए । यहाँबाट लुम्बिनी र गण्डकी प्रदेशका जिल्लामा खाद्यान्न लगायत सामाग्री आपूर्ति हुने भएकाले एउटैं गाडीमा धेरै व्यवसायिक प्रतिष्ठानका सामान पठाउने गरिएको बताए । त्यसरी पठाउँदा कसैले त्यस्ता गाडीमा भन्सार छलीका सामान राखेको भए सम्बन्धित व्यक्तिलाई मात्र कारबाही गर्न र गाडी फिर्ता गरिदिन आग्रह गरे ।
जिल्लास्थित आर्थिक क्षेत्रमा गलत काम भइरहेको महसुश सबैले गर्ने तर सरकारी निकायले त्यसबारे पत्तो नपाउने समस्या रहेको उनले बताए । संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले बेलहिया नाकास्थित भैरहवा भन्सार कार्यालयबाट के सुविधा पायौं–पाएनौं भन्नेबारे व्यवसायीनै स्पष्ट नरहेको बताए । ‘भन्सारबाट मिल्ने सुविधाबारे जानकारी राख्नुपर्छ,’ उनले भने, ‘अनिमात्र हामीले भन्सारका काम कारबाहीबारे प्रश्न गर्न मिल्छ ।’
भन्सारले प्रदान गर्ने सेवा–सुविधाबारे स्थानीय सरकारले पनि व्यवसायीलाई जानकारी गराउन भूमिका खेल्नुपर्ने उनको भनाई थियो । ‘पहिलेको भन्सार होइन्,’ उनले भने, ‘सेवा सुविधा अपग्रेड भइरहेका छन्, हामी जानकार हुनुपर्छ ।’ संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठले उद्योगी व्यवसायीले लामो समयदेखि सरकारी निकायमा हाबी विचौलिया प्रवृत्ति अन्त्यका लागि आवाज उठाउँदै आए पनि सुनुवाई नभएको बताए । ‘राजश्व र भन्सार कार्यालयमा विचौंलिया अन्त्य गर्ने रणनीति के हो ?,’ उनले प्रश्न गरे, ‘कम्तिमा ऐन, कार्यविधिमा भएका कुरा इमान्दारितासाथ लागू गरिदिनुस् ।’
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले मुलुकमा जेन–जी आन्दोलनपछि सरकारी कर्मचारीको व्यवहारमा परिवर्तन देखिनु सकारात्मक भएको । तर, सीमा क्षेत्रबाट हुने अवैध तस्करी नरोकिएको उनको भनाई छ । संघका निर्वतमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जिल्लामा राजश्व अनुसन्धान र भन्सार कार्यालय प्रमुख परिवर्तन हुने वित्तिकैं उद्योगी व्यवसायीले एउटै गुनासो गरे पनि व्यवहारमा सुधार नआउनु दुःखद पक्ष भएको बताए ।
‘बिलबिजक भएका गाडीलाई पनि प्रहरीले अनुसन्धानका लागि भन्दैं भन्सार र राजश्व कार्यालय पठाउँदा मर्का परेको छ,’ उनले भने, ‘नियन्त्रणमा लिएका गाडीसित प्रमाण छ भने तुरुन्त फिर्ता गरिनुपर्छ । कार्यालयमा थन्काएर विचौंलिया हावी हुने वातावरण बन्नु हुँदैन ।’ प्रहरी र कर्मचारीमा जसरी हुन्छ मुद्दा चलाउने मानसिकता अन्त्य हुनपर्ने उनले बताए ।
स्थानीय व्यवसायी झविलाल बेल्बासेले कर्मचारीको मिलेमतो बिना चोरीतस्करी सम्भव नहुने बताए । ‘कर्मचारीले गर्ने गल्तिका कारण राज्यलाई राजश्व घाटा लागिरहेको छ,’ उनले भने, ‘सेवाग्राहीभन्दा बिचौलियासित कर्मचारीको पहुँच हुने भएकाले समस्या भइरहेको छ ।’ बिचौंलियाका कारण राजश्व चुहावटले प्रशय पाइरहेको उनले बताए । आफ्नै कार्यालय भित्र हुने गरेका बेथितिबारे प्रमुखलाई जानकारी नहुँदा सेवाग्राही पीडित बनिरहेको उनले बताए ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले खुला सिमाना भएका कारण जिल्लामा धेरै समस्या भएकाले तिनलाई सल्टाउनतर्फ राजश्व र भन्सार कार्यालय लाग्नुपर्ने बताए । ‘गृह र अर्थ मन्त्रालय मातहत निकायले राम्रोसित काम गरेको खण्डमा सुधार सम्भव छ,’ उनले भने, ‘नीति नियम पालना गर्नेलाई प्रोत्साहन गर्नुपर्यो, नियम मिच्नेलाई कारबाही गरिनुपर्छ ।’
राजश्व अनुसन्धान कार्यालय बुटवलमा प्रमुख राधेश्याम दाहालले कुनै पनि व्यवसायीलाई दुःख दिने पक्षमा कार्यालय नरहेको बताए । ‘राजश्व जुहावट गर्नेलाई संरक्षण गरिँदैन,’ उनले भने, ‘बिलबिजक राम्रो भएका व्यवसायीले अब डराउनु पर्दैन ।’ वास्तविकता बुझेर र राजश्व चुहावट भए–नभएको हेरेर कारबाही अगाडि बढाइने उनले बताए ।
भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलले अहिले भन्सार परिसर अस्तव्यस्त रहेकाले चुस्त सेवा प्रदान गर्न समस्या भइरहेको बताए । ‘आईसीपी निर्माण पूरा भएपछि सुधार हुन्छ,’ उनले भने, ‘सीमा क्षेत्रमा बसेर धेरै कुरामा व्यवहारिक बन्न जरुरी छ । त्यसैले सेवा प्रदान गर्दा काखापाखा गरिँदैन ।’ कार्यक्रममा लुम्बिनी ईंटा उद्योग ब्यवसायी संघका अध्यक्ष अजयकुमार गुप्ताले आफ्नो क्षेत्रमा भोग्नु परेका समस्याबारे बताएका थिए ।
त्यस्तै लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मन्जु भुषालले औद्योगिक र व्यवसायिक क्षेत्रका समस्या समाधान गरिनुपर्ने बताइन् । व्यवसायी मदन पौडेल र गंगासागर अग्रहरीले भन्सार र राजश्व कार्यालयले लामो समय गाडी रोक्ने परम्परा अन्त्य गरिनुपर्ने बताए । संघका उपाध्यक्ष हरिबहादुर थापाले एउटा गाडी बिक्रि गरेर नामसारी गर्न एक महिना लाग्ने गरेको र त्यसबीच सरकारी कार्यालयले दुःख दिने गरेको बताए । पर्यटन व्यवसायी किशोर जोशीले भारतबाट नेपाल आएका गाडीलाई नाकामा भन्सार कार्यालयले सहजिकरण गर्नुपर्ने बताए ।








प्रतिकृया दिनुहोस्