२७५० मिटर सडक निर्माणपछि नजिकिए बस्ती


बुटवल– एउटै वडामा भएर पनि भौगोलिक हिसावले टाढा रहेका बुटवल उपमहानगरपालिका वडा नम्बर १० का दुईवटा बस्ती जोड्ने पक्की सडक (हरियाली पथ) निर्माण गरिएको छ । बुटवलको रामनगर (बेसक्याम्प)देखि पूर्वी कालिकानगरको हरियाली पथ हुँदै योगिकुटी जोड्ने झण्डै २ हजार ७ सय ५० मिटर पक्की सडक निर्माण कार्य सम्पन्न भएको हो ।
कुल ३ करोड ५० लाख लागतमा ३० फिट चौडाइको सो सडक निर्माणसँगै नाला ब्यबस्थापन, सडकपेटी निर्माण, सडकपेटीमा लकटायल बिछ्याउने काम भैरहेको १० नम्बर वडा कार्यालयले जनाएको छ । यो सडक निर्माणसँगै बुटवलको पूर्वतर्फका बस्तीहरुलाई पश्चिम दक्षिणतर्फका बस्तीहरुसँग जोड्न सफल भएको र एउटै वडा भएर पनि भौगालिक हिसावले टाढा रहेका मुख्यतया दुईवटा बस्तीहरुलाई नजिक बनाएको वडाध्यक्ष बलबहादुर पुनले बताए ।
यो सडक निर्माणले दुईवटा बस्ती आवतजावतमा सहज बनाउनुका साथै बुटवलको रामनगरबाट योगिकुटीसम्मको लागि बाइपास सडकका रुपमा पनि प्रयोग गर्न सकिने वडाध्यक्ष पुनले जनाए । कालिकानगर र रामनगरको बिचमा ठुलो घना जंगल रहेको र सो जंगल नेपाली सेनाको संरक्षणमा रहेको हुनाले सडक निर्माणमा धेरै कानुनी प्रक्रिया र झमेलाहरु पनि ब्यहोर्नु परेको उल्लेख गर्दै वडाध्यक्ष पुनले सबैको सहयोग र सद्भावका कारण छोंटो समयमै पक्कि सडक निर्माण गर्न सकिएको जनाए ।
यो सडक निर्माणले खासगरि बुटवल बजारलाई छलेर बाइपासको रुपमा प्रयोग गर्ने सवारी साधनहरुलाई सहज हुनेछ । भैरहवाबाट बुटवल हुँदै पूर्वतर्फ जाने सवारी साधनहरु यसअघि राजमार्ग चौराह पुग्नुपर्ने थियो भने अव योगीकुटीबाट सिधै रामनगर निस्कन सक्नेछन् ।








प्रतिकृया दिनुहोस्