सेजको भाडादर घट्यो, उद्योगीलाई राहत


भैरहवा– विशेष आर्थिक क्षेत्र (सेज)को भाडादर कटौती भएको छ । सरकारले सेजमा उद्योगीलाई आकर्षित गर्न भाडादर घटाएको हो । सेजको भाडादर महंगो भएको भन्दै व्यवसायीले लामो समयदेखि घटाउन माग गर्दै आएका थिए । नीतिगत रुपमा गरिएका सुधारका प्रयासले सेजमा लगानीकर्ता आकर्षित हुने सरकारको अपेक्षा छ । भैरहवा सेजमा लगानीकर्ता केही उद्योग स्थापना गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ खारेज गर्ने निर्णय गर्दै भाडादर घटाएको हो । सो कार्यविधिले तोकेको प्रतिवर्गमिटर २० रुपैयाँ रहेको भाडादर घटाई प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को बजेटमा भाडा कटौती गर्नेबारे अग्रिम घोषणा गरेको थियो । बजेटले विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमति प्राप्त उद्योगलाई सुरुको तीन वर्ष भाडा छुट दिने घोषणा गरेको थियो ।
साथै सेजको भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने घोषणा गरेको थियो । औद्योगिक क्षेत्रका उद्योगले उत्पादनको ३० प्रतिशत भन्दा बढी निर्यात गरे विशेष आर्थिक क्षेत्रका उद्योग सरह सुविधा दिने घोषणा समेत चालु आवको बजेटले गरेको थियो ।
विशेष आर्थिक क्षेत्र प्राधिकरण १० माघ २०६० मा उद्योग मन्त्रालय अन्तर्गत स्थापना भएको हो । विशेष आर्थिक क्षेत्र स्थापनाका लागि पूर्व सम्भाव्यता अध्ययन र सञ्चालन गर्न तथा नेपालभर रहेका विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न प्राधिकरण बनाइएको थियो ।
सेज गठन आदेश २०६९ आएपछि भने सञ्चालनको बाटो खुलेको हो । अहिले सिमरा र भैरहवा सेज सञ्चालनमा छन् । यस्तो क्षेत्रभित्र औद्योगिक क्षेत्रको नियमन तुलनात्मक रुपमा उदार हुन्छ । विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगलाई विशेषाधिकार दिइएको छ ।
सेजमा व्यवसाय सञ्चालन गर्नेलाई पहिलो ५ वर्षमा शतप्रतिशत आयकर छुट दिने गरिएको छ । लाभांशमा समेत सुरुवाती ५ वर्ष शतप्रतिशत छुट दिइएको छ । सेजमा उद्योगहरूद्वारा उत्पादिन उत्पादन र सेवाको निर्यातमा शून्य प्रतिशत भ्याट लाग्ने गरी तोकिएको छ । सेजमा हड्ताल र आन्दोलन निषेध गरिएको छ । श्रमिक संगठन निषेध गरिएको छ ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार भैरहवा सेजबाट गत आर्थिक वर्ष २०८१–८२ मा निर्यात बिक्री ३ अर्ब १५ करोड रुपैयाँ बराबर रहेको थियो । आन्तरिक बजार बिक्री १ अर्ब ७३ करोड रुपैयाँ बराबर भएको थियो । सरकारले भाडादर घटाएपछि उद्योगी खुशी भएका छन् भने यसले उनीहरुलाई राहत समेत मिलेको छ ।








प्रतिकृया दिनुहोस्