भैरहवाका व्यवसायी भन्छन्- मुलुकमा लगानीको वातावरण बन्न सकेन


भैरहवा– उद्योग सञ्चालनका लागि उपयुक्त नीति र व्यवसायीलाई सहजिकरण गर्नेतर्फ राज्यले चासो नदिँदा मुलुकमा औद्योगिक लगानीको बातावरण बन्न नसकेको सरोकारवालाले दुखेसो व्यक्त गरेका छन् । उद्योग दर्तादेखि सञ्चालन प्रक्रियासम्म राज्यका निकायमा सम्बन्धित व्यवसायीले हैरानी र विभिन्न खालका व्यवधानको सामना गर्नु पर्ने र उद्यमी व्यवसायीलाई राज्यले सम्मान गर्न नसकेको सम्बद्ध व्यवसायीले गुनासो गरे ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही)को आयोजनामा भैरहवामा जारी सातौं लुम्बिनी महोत्सव–२०८२ को अवसरमा महोत्सव स्थलमा सोमबार आयोजित उद्योग पबद्र्धन सम्बन्धि कार्यक्रममा सहभागीले उद्योग दर्ता गर्नेदेखि कर बुझाउन जाँदासम्म व्यवायीले राज्यको निकायबाट अनेक हैरानी र सास्ती खेप्न बाध्य हुनु परेको चिन्ता व्यक्त गरे ।
‘उद्योग सञ्चालन गर्नका लागि दर्ता प्रक्रिया सुरु भएदेखि नै व्यवसायीलाई हैरानी र सताउने काम सुरु हुन्छ’, महोत्सव आयोजक संस्था उद्योग व्यापार संगठनका अध्यक्ष सचिन रोक्काले भने, ‘तर, पनि उद्यमी व्यवसायीलाई सहजिकरण गर्नका लागि एकद्वार प्रणाली गर्ने तर्फ राज्यको कुनै चासो छैन ।’
स्वदेशी उद्योगको संरक्षण तथा प्रबद्र्धनका लागि छिमेकी मुलुक भारत र चीनसँग प्रतिस्पर्धा गर्न सकिने स्वदेशी कच्चा पदार्थको खोजी गरि उद्योग संचालनको बातावरण तयार पार्न र सरकारी कार्यालयहरुमा अनिबार्य रुपमा स्वदेशी उत्पादित बस्तुको प्रयोग गर्नु पर्ने नियम लागु गर्न जरुरी रहेको उनले बताए । लुम्बिनी करिडोरमा सञ्चालित उद्योगहरुलाई प्रदूषणको कारण देखाउँदै स्थानान्तरण गर्नु पर्ने प्रावधानले व्यवसायी हतोत्साहित हुन पुगेको भनाइ उनको थियो ।
बिगत लामो समयदेखि रुपन्देहीमा एभरेष्ट कत्था उद्योग सञ्चालन गर्दै आएका व्यवसायी बसन्त रोक्काले नीतिगत अप्ठ्यारोका कारण नेपालमा व्यवसायीहरु बिदेश पलायन हुन थालेको बताए । ‘विभिन्न उद्योग सञ्चालनका लागि स्वदेशमैं कच्चा पदार्थको उपलब्धता भए पनि नीतिगत अप्ठ्यारोले उपयोगमा ल्याउन नसकेर बिदेशबाट आयात गर्नु परेको छ’, उनले भने ।
क्रसर व्यवसायी चन्द्रमणि अधिकारीले उद्योग सञ्चालनका लागि अनुमती दिएको सरकारले बिगत दश वर्षदेखि नबिकरण नगरेर आफ्नै सम्पत्तिको उपभोग गर्ने अधिकारबाट बञ्चित गरेको आरोप लगाए । ‘उद्योग नबिकरण नहुँदा हामीले उद्योगलाई न बिक्री गर्न सकेका छौं न त बैंंकबाट ऋण लिन नै सकेका छौं’, उनले भने, ‘व्यवसायीलाई उद्योगको कर तिर्न जाँदा पनि एउटा काउण्टरबाट अर्को काउण्टर हुँदै दिनभरि समय लाग्छ ।’ क्षतिपूर्तिको विषयमा मौन रहेर लुम्बिनी करिडोरका उद्योगहरुलाई स्थानान्तरण गर्नु भनि न्यायलयले पनि सस्तो लोकप्रियताको पछि लागेको आरोप उनले लगाए ।
अर्घाखाँची सिमेन्ट उद्योगका नयाव महाप्रबन्ध कृष्णप्रसाद पाण्डेले जेनजी आन्दोलन पछि औद्योगिक सुरक्षाको त्रास बढ्दो अवस्थामा रहेको बताए । ‘मैले एउटा फर्म दर्ता गर्न बिगत ६ महिनादेखि धाइरहेको छु’, उनले भने, ‘मेरो नागरिकतादेखि सम्पूर्ण विवरण राज्यसँग हुँदाहुँदै पनि कहिले के पुगेन भन्छ घरि के पुगेन भन्ने गरिन्छ ।’
संगठनका पूर्वअध्यक्ष तथा व्यवसायी नारायणप्रसाद भण्डारीले नेपालमा उद्योग सञ्चालन गर्न दर्तादेखि समस्या नै समस्या भएको र नेपालमा गर्ने दुःख बिदेशमा गर्ने हो भने तीन गुणा कमाइने बताए । लुम्बिनी करिडोरमा सञ्चालित उद्योगलाई अन्यत्र स्थानान्तरण गर्दा वा हटाउँदा उत्पन्न हुने समस्या वारे कुनै बिचार नै नगरिएको जनाउँदै उनले करिडोरमा प्रदूषण नगर्ने सेवामूलक उद्योग सञ्चालनका लागि पनि दर्ता नदिएर रोकिएको बताए ।
उद्योगी–व्यवसायीले उठाएका कुरा सुनेपछि घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख शारदा भट्टराईले संघ र प्रदेश सरकारको कतिपय कानुन तथा नियमावली आपसमा मेल नखाँदा सेवाग्राहीलाई सहज रुपमा सेवा दिन नसकिएको बताइन् । ‘सेवाग्राहीले सामाना गर्नु परेको समस्याका वारेमा हामीले सम्बन्धित निकायमा पत्राचार त गर्ने गर्छौं तर महिनौंसम्म पनि प्रतिउत्तर आउँदैन’, उनले भनिन्, ‘यसले गर्दा सहज रुपमा सेवा प्रवाह गर्न समस्या हुने गरेको छ ।’
उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निमित्त निर्देशक पुष्पराज पाण्डेले उद्योगी व्यवसायीको समस्या तथा व्यवसायीले भोग्नु परेको कठिनाइ नेपाल भरिका सवै व्यवसायीको समान खालका रहेकाले नीति तथा योजना तहमा रहनेले सवै समस्याको जानकारी लिएर मात्र कानुन बनाउन जरुरी भएको बताए ।
‘संघ सरकार र प्रदेश अनुसारको फरक कानुन र बेलाबेलामा हुने नियमावली परिवर्तनले काम गर्न समस्या भएका छन्’, उनले भने, ‘स्वयम् उद्यामीले पनि लगानी गर्नु पूर्व पर्याप्त जानकारी र अध्ययन गर्न जरुरी छ । नेपालमा औद्योगिक लगानीलाई प्रोत्साहित गर्न व्यवसायी, कर्मचारी र नीति निर्माणमा रहेका उच्च पदस्थ तह एकै ठाँउमा बसेर सफ्टवेयर तयार पार्न जरुरी छ ।’








प्रतिकृया दिनुहोस्