जितगढी किल्लामा विजय उत्सव


बुटवल– ऐतिहासिक महत्वको जितगढी किल्लामा आज उत्सव मनाइँदैछ । बुटवल–१, मा स्थित जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेना, गरुड दल गणले गत वर्ष बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आएको छ । किल्लाको संरक्षण र पुनःनिर्माणपश्चात् सेनाले हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । ‘जितगढी किल्ला उपमहानगरपालिका मातहतमा आएपछि हामीले किल्लाको संरक्षणका साथसाथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल अङ्ग्रेज युद्धको अध्ययन गर्ने थलोका रुपमा विकास गरिरहेका छौंँ,’ उनले भने, ‘यहीँ नजिकै युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना बनाई काम भइरहेको छ ।’
किल्ला क्षेत्रमा सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको छ । सांस्कृतिक, ऐतिहासिक महत्वका सम्पदामध्ये जीतगढी पनि एक हो । समुद्र सतहभन्दा करिब एक सय ४८ मिटरको उचाइमा अवस्थित यो गढी पूर्वदेखि पश्चिमतिर फैलिएको छ । गढीको दक्षिण र पूर्वतिरको भाग मात्र बाँकी छ ।
चारैतिरबाट हाल गढी घेरिएको अवस्थामा छ । जितगढी किल्लाको उत्खनन प्रारम्भ आव ०५५–५६ मा पुरातत्व विभागले गरेको थियो । विसं २०७० माघ ८ गतेदेखि पुनः उत्खनन भए पनि अहिले रोकिएको छ । जितगढीमा तत्कालीन अङ्ग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन विसं १८७१ बैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उपमहानगरपालिकाको ०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रुपमा मनाउँदै आएको छ ।
जितगढीमा विसं १८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग हारेपछि अङ्ग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ । सोही दिन (वैशाख ७ गते) लाई विजय उत्सव दिवसका रुपमा बुटवल उपमहानगरपालिकाले मनाउन कामको थालनी भएको हो । जितगढीमा अँग्रेजलाई हराउने कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक दक्षिणतिर फर्किएर शानका साथ उभिएको छ ।
नेपाल अङ्ग्रेज युद्धमा बहादुरीका साथ लडेर आफ्नो ज्यान आहुति दिएका १३ वीर योद्धा कर्णेल थापासहित काजी वीरभञ्जन पाँडे (गुरुबक्स कम्पनी), कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, समशेर राना मगर, सरदार सुर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शुरवीर बोहरा, हवल्दार रणशुर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ जुठे बस्नेतका सालिक राखिएका छन् । नेपालकै ठूलो राष्ट्रिय झण्डा फहर्याइरहेको छ । हरियाली बगैँचा तयार भएको छ भने राष्ट्रधुनसहितको जलफोहोरा तयार भएका छन् । आज यहाँ विशेष समारोह गरी उत्सव मनाइँदैछ ।








प्रतिकृया दिनुहोस्