May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

अध्यात्म, शान्ति, करुणा र श्रद्धा स्थल लुम्बिनी (तस्बिरहरू)

Advertisement

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीप्रति धेरैको श्रद्धा छ । अध्यात्म, शान्ति र करुणाको खोजी गर्नेहरुका लागि पवित्र भूमि लुम्बिनी मुख्य गन्तव्य हो । यसैले त यहाँ विश्वभरबाट पर्यटक आउँछन् । बौद्ध धर्मावलम्बीहरुले मात्रै होइन्, हिन्दु, ईसाई र मुस्लिम समुदायले पनि लुम्बिनी भ्रमण गर्छन्, यहाँ आएर शान्तिको अनुभूत गर्छन् ।

Advertisement

त्यसैले भन्ने गरिन्छ– लुम्बिनी साझा बगैँचा हो । शान्तिको खोजी गर्नेहरुका लागि मुख्य स्थल हो । आफ्नो धर्म परम्परा र संस्कृति जे भए पनि सबैले लुम्बिनी एक बिश्वको पबित्रस्थलको रूपमा मान्ने गरेको पाइन्छ । त्यही भएर होला लुम्बिनीमा विभिन्न समुदायले आआफ्नो धर्म र परम्परा भन्दा माथि उठेर दर्शन, पुजापाठा गर्ने गर्छन् । यहाँ आएर आनन्द लिन्छन् ।

केही दिनयता लुम्बिनी चहलपहल छ । शुक्रबार मात्रै भियतनामबाट चार्टर बिमानमार्फत् १ सय ७० जना भिक्षु–भिक्षुणी तथा उपासक–उपासिक र बुद्धप्रति आस्था राख्नेहरु लुम्बिनी आए । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लिएका उनीहरु त्यहाँबाट कपिलवस्तु दरबार पुगी पुजापाठ गरी लुम्बिनीस्थित मायादेवी मन्दिर पुगे । यहाँ पुजापाठ गरे । लुम्बिनीस्थित महाबोद्धी बिहारका भिक्षु नन्दको नेतृत्वमा चिनियाँ र भियतनाम लागायतका बिहारले स्वागत गरेका थिए ।

उक्त टोली आज बिहानै चार्टर बिमानबाट भारतको कुशिनगरतर्फ लागेको छ । उक्त टोलि बुद्धका चारवटा पबित्र ठाउँको दर्शन गरि भियतनाम फर्कने भिक्षु नन्दले जनाए । लुम्बिनी दर्शन गर्न आएका भियतनामीहरुमा निकै श्रद्धाभाव देखिन्थ्यो । उनीहरुले मायादेवी मन्दिर परिसरमा केही घण्टा विताए । ध्यान गरे, शान्ति र करुणाको अनुभूति गरे ।

नेपाली–भारतीय मात्रै होइन्, लुम्बिनीमा युरोप, अमेरिका र एशियाका विभिन्न राष्ट्रका नागरिकहरु दर्शन, पुजापठ एवं भ्रमण गर्न लुम्बिनी आउँछन् । यतिमात्र होइन् नाइजेरिया, लेवनान, युगान्डा जस्ता देशबाट पनि लुम्बिनी आउनेहरुको तथ्यांक छ । बौद्धिष्ट मुलुकहरुबाट लुम्बिनी आउनेहरुको तथ्यांक ठूलै छ । यहाँ हामीले केही दिन यता लुम्बिनी आएका पर्यटकहरुको केही तस्बिरहरु साझा गरेका छौं ।

सबै तस्बिरहरूः प्रल्हाद यादव/लुम्बिनी