August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

ट्रम्प नीतिः के विश्व अर्थतन्त्र फेरि फस्दैछ मन्दीमा ?

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेको तीन महिना पुग्न लाग्दा पनि विश्वभर उनले अपनाउने नीति र दीर्घकालीन प्रभावका बारेमा अन्योलता कायमै छ।

Advertisement

एकै पटक उनले गरेका केही विश्वव्यापी प्रभावपर्ने निर्णयहरूका कारण अहिले युरोप र अमेरिका मात्र होइन एसियासमेत प्रभावित बनिरहेको छ।

एशियाली सेयर बजारमा सोमबार निकै ठूलो गिरावट देखियो। अमेरिकी बजारमा त धेरैं सेयर बेच्न तम्सिए। जसमा ठूलो मात्रामा सयेर खरिद विक्रिपछि बजारमा गिरावट आयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शुल्क नीतिले विश्वकै ठूला अर्थतन्त्रलाई मन्दीमा पुर्याउनसक्ने जोखिमलाई अस्वीकार नगरेपछि एशियाली सेयर बजारमा गिरावट देखिएको हो।

न्यूयोर्कमा प्रविधि कम्पनीहरूको सेयरमा ठूलो असर देखियो। जसका कारण न्यास्ड्याकले सन् २०२२ यताकै सबैभन्दा खराब दिनको अनुभव गर्यो। ट्रम्पलाई अमेरिकी अर्थतन्त्र सम्भावित मन्दीतर्फ जाँदैछ भन्ने चिन्ताबारे सोधिएको प्रश्नमा उनले देश संक्रमणको अवस्थामा रहेको टिप्पणी गरे। जसले लगानीकर्तामा डर पैदा गर्यो।

राष्ट्रपतिले त्यसपछि अर्थतन्त्रबारे कुनै थप टिप्पणी त गरेका छैनन्, तर उनका शीर्ष अधिकारी र सल्लाहकारहरूले लगानीकर्ताको भय कम गर्न प्रयास गरिरहेका छन्।

मंगलबारको प्रारम्भिक कारोबारमा जापानको निक्केई २२५ अर्थात २.५% ले घट्यो, दक्षिण कोरियाको कोस्पी २.३% ले तल झर्दा अष्ट्रेलियाको एस एण्ड पी/एएसएक्स २०० अर्थात १.८% ले ओरालो लाग्यो।

सोमबार न्यूयोर्कको कारोबारमा, अमेरिका भरका ठूला कम्पनीहरू समेट्ने एस एण्ड पी ५०० अर्थात २.७% ले घट्यो, डाउ जोन्स इन्डस्ट्रियल एभरेज २% ले ओरालो लाग्यो। अमेरिकी सेयर अर्थात न्यास्ड्याक ४% ले झर्यो।

टेस्लाका सेयर १५.४% ले घट्यो जबकि कृत्रिम बुद्धिमत्ता (एआई) चिप निर्माता एनभिडिया ५% भन्दा बढीले ओरालो लाग्यो। अन्य प्रमुख प्रविधि कम्पनीहरू मेटा, अमेजन, र अल्फाबेटको सेयर मूल्यमा पनि तीव्र गिरावट आयो।

आइतबार फक्स न्युजमा प्रसारण भएको तर बिहीबार रेकर्ड गरिएको अन्तर्वार्तामा ट्रम्पले यी चिन्ताहरू स्वीकार गरेझैँ देखिए। उनले भने,’म यस्ता भविष्यवाणीहरू गर्न चाहन्नँ। तर, अहिलेको समय एक संक्रमणकाल हो, किनभने हामी ठूलो काम गरिरहेका छौँ। हामी अमेरिका फर्काउन धनसम्पत्ति पुनः भित्र्याइरहेका छौँ। यो ठूलो कुरा हो।’

सोमबारको कारोबार बन्द भएपछि एक ह्वाइट हाउस अधिकारीले पत्रकारहरूलाई भने,’शेयर बजारको आत्मविश्वास (एनिमल स्प्रिट्स) र व्यवसायहरू तथा व्यवसायिक नेताहरूबाट देखिएको वास्तविक परिस्थितिबीच ठूलो अन्तर देखिँदैछ।’

ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले उद्योगका नेताहरूले ट्रम्पको नीतिहरू, विशेष गरी ट्यारिफहरू (भन्सार शुल्क), प्रति सकारात्मक प्रतिक्रिया दिँदै अर्बौं डलरको लगानी प्रतिबद्धता व्यक्त गरिसकेको दाबि गरे। तर, आर्थिक विश्लेषकहरूमा भने आर्थिक वृद्धिमा सुस्ती आउने र मूल्यवृद्धि हुने चिन्ता बढ्दै गएको छ।

गत साता, प्रमुख अमेरिकी शेयर बजारहरू ट्रम्पको चुनावी विजयअघि देखिएको स्तरमा झरे, जुन सुरुवातमा कर कटौती र हल्का नियमनको आशाले लगानीकर्ताहरूले स्वागत गरेका थिए।

लगानीकर्ताहरू चिन्तित छन् कि ट्रम्पले लगाएका करनितिहरुले देश भित्रिने सामानमा मूल्य वृद्धिको कारण बन्न सक्छ र अन्ततः विश्वकै ठूलो अर्थतन्त्रको वृद्धिमा अवरोध पुर्याउन सक्छ।

राष्ट्रपति ट्रम्पले यी उपायहरू चीन, मेक्सिको र क्यानडामाथि अवैध लागुऔषध र आप्रवासीहरूलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै लागू गरेका हुन्। ती तीन देशहरूले यी आरोप अस्वीकार गरिसकेका छन्।

राष्ट्रपति ट्रम्पका आर्थिक सल्लाहकार केभिन हासेट भने अहिले देखिएका चासोलाई नकारात्मक अनुमानहरू भएको बताउँछन्। सीएनबीसीलाई दिएको अन्तर्वार्तामा उनले अमेरिकी अर्थतन्त्रबारे धेरै सकारात्मक संकेतहरू रहेको बताए। साथै, क्यानडा, मेक्सिको र चीनमाथि लगाइएका ट्यारिफहरूले अमेरिकाभित्र उत्पादन र रोजगारी बढाइरहेको जिकिर गरे।

तर, विश्व अर्थतन्त्र अमेरिकी नितिकै कारण पुन:एकपटक मन्दीतर्फ अग्रसर भएको विज्ञहरू बताउँछन्।