June 2, 2026, Tuesday
२०८३ जेष्ठ १९ मंगलवार

लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायः अवसर र चुनौती

Advertisement

सुरुमा त हामीले पर्यटन भनेको के हो ? भन्ने कुरा प्रष्ट बुझ्नुपर्छ । छोटकरीमा पर्यटन– सेवा हो । अतिथिको सत्कार हो । उद्योग शब्दले उत्पादनसँग सम्बन्ध राख्दछ । यसले वस्तु र सेवाको उत्पादनसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापसँग सम्बन्ध राख्दछ । उत्पादनमार्फत् वस्तुहरूको आपूर्ति गर्ने र सेवा प्रवाह गर्ने कार्य उद्योगको हो । उद्योगको शाब्दिक परिभाषा वस्तु र सेवासँग सम्बन्धित हुन्छ भने पर्यटन उद्योग वस्तुको उत्पादनसँग अप्रत्यक्ष रूपमा सम्बन्धित देखिए पनि यसको प्रत्यक्ष सम्बन्ध सेवा प्रवाह गर्नुसँग रहेको छ ।

Advertisement

पर्यटन उद्योग सेवा प्रवाहमा लागिपरेको हुन्छ । सबै देशमा पर्यटन उद्योगको प्रवद्र्धन गर्ने कार्यलाई उच्च प्राथमिकता प्रदान गरिएको हुन्छ । विकासोन्मुख देशहरूमा पर्यटन उद्योगलाई राजस्व संकलन गर्ने प्रमुख स्रोतका रूपमा ग्रहण गरिएको हुन्छ । सबै देशले यसलाई प्राथमिकता प्रदान गरेका हुन्छन् । सबै देशका प्राज्ञिकहरूको अध्ययन र विश्लेषण गर्ने विषयमा पर्यटन प्रवद्र्धनको क्षेत्र पनि पर्दै आएको पाइन्छ । यसैले भन्न सकिन्छ, पर्यटन भनेकै सेवामूलक क्षेत्र हो ।

लुम्बिनीका पर्यटन क्षेत्रहरू
गौतम बुद्धको जन्मभूमि लुम्बिनी रहेको लुम्बिनी प्रदेश नेपालको मात्रै नभएर संसारकै पर्यटकीय केन्द्र हो । नेपालका सात प्रदेश मध्ये लुम्बिनी प्रदेशको नामकरण आफैमा गर्भिलो र सुन्दर छ । नामकरण यही शान्ति भूमि पवित्र स्थल लुम्बिनीको नामबाट भएको छ । रमणीय स्थलहरूले भरिएको यस प्रदेश पर्यटनको हिसावले सबैभन्दा अगाडि छ । हिमाल, पहाड र तराई मिलेर बनेको यस प्रदेशमा पर्यटन विकासका लागि ठोस रुपमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारहरुले काम गर्न सकेका छैनन् ।

रुपन्देहीको बुद्ध जन्मभूमि लुम्बिनी होस् वा उनको मावली स्थल देवदह, यी अन्तर्राष्ट्रिय महत्वका केन्द्र हुन् । रुपन्देहीमा ऐतिहासिक तालहरुका अतिरिक्त अन्य पर्यटकीय स्थलहरुले समेत स्वदेशी तथा विदेशी पर्यटकको ध्यान खिच्ने गरेका छन् । बुटवलको जीतगढी किल्ला, मणिमुकुन्द सेन उद्यान (बुटवल फुलवारी) रामापिथेकशको दाह्रा भेटिएको स्थल तथा सिद्धबावा धामले यहाँको महत्वलाई थप माथि उठाएको छ ।

त्यस्तै पर्रोहाको ऐतिहासिक सैनामैना गाउँ तथा पर्रोहा वोलवमधाम, नयाँ गाउँमा रहेको मुक्तिनाथ धाम, रुपन्देहीकै गजेडी र गैडहवाताल यहाँका महत्वपूर्ण स्थल मानिन्छन् । पर्यटकीय दृष्टिकोणले नवलपरासी पनि अग्रस्थानमा छ । नवलपरासीको त्रिवेणी, दाउन्ने, लगायतका स्थल महत्वपूर्ण मानिन्छन् । त्यस्तै पाल्पा जिल्लामा ऐतहासिक रानीमहल, श्रीनगरडाँडा, कपिलवस्तुका विभिन्न पर्यटकीय स्थलहरुको पहिचानसहित संरक्षण गरेमा पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वासमा यस क्षेत्रका सरकारी निकायदेखि नीजि क्षेत्रका सरोकारवालाहरु छन् । लुम्बिनी आउने पर्यटकहरुलाई लुम्बिनीका सबै जिल्लामा पुग्ने खालको वातावरण सिर्जना गर्न एकीकृत योजनाको खाँचो रहेकोमा हामी जस्ता पर्यटन र उद्योगी व्यवसायीहरुको जोड छ ।

पर्यटक आउने मार्ग
भैरहवा र पोखरा विमानस्थलमा यात्रु नै छैनन् भनिन्छ तर सत्य होइन । हवाइ तथा स्थल दुबै दृष्टिले यहाँ आउन सजिलो छ । बेलहिया नाका मुलुकमै सबैभन्दा बढी स्थलमार्गी पर्यटन भित्रिने नाका हो । गौतमबुद्ध विमानस्थल, दाङको टरिगाउँ र नेपालगंज विमानस्थलले पनि पर्यटनको ढोका खोलेका छन् । कृष्णनगर, नेपालगंज नाका पनि पर्यटक भित्रिने महत्वपूर्ण द्वार हुन् । चारैतिरबाट लुम्बिनीका गन्तव्यहरुमा सहज आउन सकिन्छ ।

पर्यटकहरु यस क्षेत्रमा के चाहन्छन् ?
पर्यटकहरु यस क्षेत्रमा सुरक्षित वातावरण र सेवा चाहन्छन् । पर्यटक मनोरञ्जन गर्ने, आरामसँग समय व्यतित गर्ने मनसायले गन्तव्य निर्धारण गर्दछन् । यस्तो निर्णय लिँदा त्यस देश र स्थान विशेषको आधारशिला सुविधाले ठूलो महत्व राख्दछ । हामीले पर्याप्त मात्रामा मनोरञ्जन गराउने व्यवस्था गर्न सकेको स्थिति छैन । पर्यटकीय गन्तव्य स्थल र उपजमा विविधिकरण र विकास गर्ने नेपालमा प्रमुख पर्यटकीय उपजहरुको बजारीकरण गर्ने, प्रवद्र्धन गर्ने, सरकारी उद्देश्य देखिन्छ । यसका लागि राज्यले लिएको रणनीति हेर्दा पर्यटन विकास गर्न सार्वजनिक, निजी, सरकारी एवम् सामुदायिक क्षेत्रमा साझेदारी र सहकार्य गर्नुपर्ने हुन्छ ।

सम्भावना र अवसर
रुपन्देही र समग्र लुम्बिनी प्रदेशमा सम्भावना र अवसर दुबै छन् । विदेशी मुद्रा आर्जन गर्ने हुनाले विदेशी मुद्राको सञ्चितिमा उल्लेखनीय वृद्धि गर्न सकिन्छ । विभिन्न खालका व्यवसाय सञ्चालन गरी अर्थोपार्जन गर्न सकिने भएकाले अन्तर्राष्ट्रिय व्यापार घाटा न्यून गर्न सहयोग पुग्दछ । पर्यटकलाई विभिन्न प्रकारका सुविधा उपलब्ध गराई नेपालमा पटकपटक आउन आकर्षित गर्ने वातावरण निर्माण गर्न विभिन्न प्रकारका उद्योग र व्यवसायको स्थापना हुन पुग्दछन् । यसबाट रोजगारीको सिर्जना हुनुका साथै बहुआयामिक फाइदा लिन सकिन्छ । घरेलु उद्योगले कला र संस्कृतिको प्रतिनिधित्व गर्ने प्रकारका उत्पादन गर्नुपर्छ । उत्पादित वस्तुलाई प्रबद्र्धन गरिएको छ । यसलाई विदेशी पाहुनाले अत्यन्त ज्यादा मन पराएका छन् । यसबाट देशभर घरेलु उद्योगको विकास हुन सहयोग पुगेको छ । संस्कृति, धर्म, परम्परा, रीतिरिवाज सबैको आदानप्रदान सम्भव हुन्छ । राजस्व वृद्धिमा यसबाट फाइदा पुग्दछ । विभिन्न प्रकारका कर रकम, पर्यटकलाई नेपाल प्रवेश अनुमति दिँदा प्राप्त हुने भिसा शुल्क, विभिन्न प्रकारका रोयल्टी जस्तै ः सिकार आरक्षमा सुविधा प्रदान गर्दा, विभिन्न प्रकारका पर्वतको आरोहण अनुमति प्रदान गर्दा, विभिन्न प्रकारका पैदल मार्ग एवम् लस्कर मार्ग प्रयोग गर्न दिँदा प्राप्त हुने रकम आदिबाट ठूलो मात्रामा राजस्व संकलन हुन्छ । पर्वतारोहण र पैदल मार्गको प्रयोग गर्दा पर्यटक गाइड, भरिया, सम्पर्क अधिकृतदेखि ठूलो संख्यामा मानिसले काम पाउने भई यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा देशले नै फाइदा लिइराखेको हुन्छ ।

चुनौती
पर्यटकीय क्षेत्र पेरिसको आइफेल टावरजस्तै विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण माध्यम बन्न सक्छन् । हामीले असंख्य चुनौतीका बीच प्रचुर सम्भावना हुँदा पनि यसबाट फाइदा लिन सकेका स्थिति छैन । विदेशी पर्यटक आकर्षित गर्न हाम्रो व्यवस्थापन पनि मजबुत हुनुपर्दछ । निर्माण भएर पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सकेका छैनौ । सेवा दिन प्रारम्भ गर्न समय लाग्ने देखिँदै छ । सडक यातायातको अवस्था पनि सन्तोषजनक छैन । ठूला सहर र अग्ला भवन हेर्न पर्यटक आउने नभई हामीले विशेष प्रकारको मौलिकपना देखाउन सक्नुपर्दछ । संस्कृति, रीतिरिवाज, चाडपर्व, रहनसहन ग्रामीण क्षेत्रमा फरक हुन सक्दछ । हाम्रो मगर, गुरुङ, तामाङ संस्कृति देखाउन गाउँतिर गन्तव्य बनाउनु पर्दछ ।

सहरी क्षेत्रको तुलानामा यी भेगमा सञ्चार र यातायात सुविधा व्यवस्थित र गुणस्तरयुक्त हिसाबले पुर्याउन सकिएको छैन । पर्यटकीय गन्तव्य भनेको लुम्बिनी, काठमाडौं उपत्यका, पोखरा, चितवन आदि हुन् । पथप्रदर्शकदेखि यस व्यवसायमा पर्यटकलाई सेवा दिन प्रयोग हुने जनशक्तिको गुणस्तर अत्यन्त कमजोर छ । संकटको समयमा उपयुक्त उपचार हुने सम्भावना न्यून छ । थुप्रै पर्यटकले पर्वतारोहण र पैदल यात्रा गर्दा लेक (हाई अल्टिच्युड) लागेर जीवन गुमाएका छन् । यहाँको प्राकृतिक, साँस्कृतिक, जैविक एवम् मानव निर्मित सम्पदाहरुको संरक्षण, प्रवद्र्धन गर्दै देशलाई विश्वमान चित्रमा आकर्षक, रमणीय, सुरक्षित र मनोरम पर्यटकीय गन्तन्य हुने सोच राखेको छ ।

नेपाललाई पर्यटकीय अग्रणी स्थानको रूपमा देखाउन खोजिएको छ । नेपालमा पर्यटकीय क्षेत्र धेरै छन् । अनगिन्ती मौलिक र प्राचीन सम्पदाहरु छन् । विश्वमै दूर्लभ पाटेबाघहरु यही देख्न सकिन्छ । संसारमै चर्चित विश्वसम्पदा छन् । भौतिक दुनियाँमा वाक्क भएकाहरु आध्यात्मिक शान्तिको खोजी गर्न पनि यहाँ आउँछन् । बौद्ध जन्मस्थल लुम्बिनी र विश्वकै हिन्दुहरुको राजधानी नेपाल हो । यहाँ टुर गाइडकै कमी छ । पर्यटकीय क्षेत्र पोखरा, लुम्बिनी, पाल्पा, चितवन आदि क्षेत्रमा यस्ता जनशक्ति कम छन् ।

पर्यटक भित्र्याउन गरिने पूर्वाधार विकासमा पनि हामी निकै पछाडि छौं । राम्रो सडक, खानेपानी, सरसफाइ, शौचालयको प्रबन्ध, धुवाँधुलोरहित यात्रा, दुर्घटनारहित र भरपर्दो सुरक्षा पनि न्यूनतम आवश्यकताका विषय हुन् । भैरहवा, पोखरा विमानस्थलमा यात्रु नै छैनन् भनिन्छ तर सत्य होइन । हाम्रो मुलुकमा अधिकांश पर्यटकीय तीर्थ क्षेत्र हिन्दू धर्म, दर्शन, संस्कृतिमा आधारित छ । बसाई अवधि नबढाएसम्म र उनीहरुको औसत खर्च वृद्धि नगरेसम्म यहाँको राजस्वमा बढोत्तरी हुन्न । हिमाली, पहाडी र तराईका भौगोलिक विविधतामा असंख्य चाडपर्व, जात्राहरुले नेपाल र नेपालीको छुट्टै चिनारी दिएका छन् ।

(खत्री सिद्धार्थ होटल संघ नेपालका नवनिर्वाचित उपध्यक्ष तथा होटल सिटी सेन्टरका संचालक हुन् ।)