सेजमा स्थापित उद्योगलाई थप छुट सुविधा दिनुपर्छः मन्त्री रिजाल


भैरहवा– उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगीलाई सरकारले सहयोग गरेर, अवसर दिएर उत्पादन बृद्धि गरी विदेश निर्यातलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले उद्योगीलाई सहयोग गरेमात्रै मुलुक अगाडि बढी समृद्धितिर जाने जनाए । शनिबार भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)को निरीक्षण पछि बोल्दै मन्त्री रिजालले सेजमा स्थापित र अब स्थापना हुने उद्योगलाई सरकारले थप सुविधा दिन तयार रहेको बताए ।
‘अहिले टे«ड ब्यालेन्स गडबड भएको छ । यसका लागि पनि निर्यातजन्य उद्योगलाई सरकारले संरक्षण गर्नुपर्छ । हामीले गर्छौं । सरकारले के सहयोग गर्नसक्छ, गर्छ’, उनले भने, ‘अहिले दिइएको छुट सुविधामा थप छुट दिएर भए पनि सेजमा स्थापित उद्योगलाई सरकारले सहयोग गर्छ ।’
उनले अहिले विशेष आर्थिक क्षेत्र प्राधिकरणले लिइरहेको प्लट भाडा अझै सस्तो गराउनुपर्ने जनाए । सेजमा सुरुमा उद्योगीबाट प्रति वर्गमिटर प्रतिमहिना १५० रुपैयाँ भाडा लिइन्थ्यो । यसलाई घटाएर अहिले २० रुपैयाँ कायम गरिएको छ । उद्योगीले अझै पनि भाडा महंगो भएको जनाएपछि अहिले घटाएर १० रुपैयाँ कायम गर्ने प्रस्ताब गरिएको छ । मन्त्री रिजालले यसलाई पनि घटाएर ८ रुपैयाँ बनाउनुपर्ने जनाए ।
‘सेज व्यवस्थापनका लागि मात्रै भाड लिएर उद्योगीलाई प्रोत्साहन र सहयोग हुने काम गर्नुपर्छ । तबमात्रै विश्वका ठाउँठाउँबाट सेजमा उद्योग खोल्न उद्योगी आउँछन् । त्यसपछि विदेश निर्यात गर्दा ट्रेड ब्यालेन्स बढ्छ’, उनले भने, ‘रोजगारी सिर्जना हुन्छ । स्थानीय रोजगार बन्छन् ।’ मन्त्री रिजालले नेपाली नागरिक र त्यसमा पनि स्थानीयलाई प्राथमिकता दिएर रोजगारी दिनुपर्नेमा जोड दिए ।
उनले उद्योगीलाई सहुलिएत दिने कुरामा आवश्यक ऐन, कानूनमा के–के संशोधन गर्नुपर्छ, सरकारले गर्ने जनाए । उद्योगीले विद्युत, इन्स्योरेन्स, भन्सारमा झन्झट र बैंकले कर्जा उपलब्ध नगराएको लगायतका समस्या रहेको गुनासो गरेका थिए ।
मन्त्री रिजालले समस्या समाधानमा गम्भीर भएर लाग्ने जनाए । ‘राष्ट्र बैंकले त्यती सहयोग गरेको छैन । तर सरकारको प्रयास छ, राष्ट्र बैंकसँग कुराकानी गरेर समाधानमा लाग्छौं’, उनले भने, ‘कर्जा नदिए उद्योगीले उद्योग खोल्न र संचालन गर्न नसक्ने अवस्था आउँछ । अहिलेको अवस्थामा अर्बौं रुपैयाँ लगानी गर्न सक्ने अवस्था छैन । त्यसैले बैंकले लगानी गर्नुपर्छ ।’
विशेष आर्थिक क्षेत्रका कार्यकारी निर्देशक चण्डिका भट्टले केही कानूनी समस्या रहेको जनाउँदै ती समस्या समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘विदेशी उत्पादनसँग प्रस्पिर्धा गर्न सकेनौं भने हाम्रो उद्देश्य खुम्चिन्छ’, उनले भने, ‘त्यसका लागि आश्यक ऐन, नियम संशोधन र उद्योगीलाई सहयोग पुग्ने वातावरण सिर्जना गर्नुपर्छ ।’








प्रतिकृया दिनुहोस्