दुई करोडले नश्ल सुधार सम्भव होला ?


भैरहवा– कृषि प्रधान देश । तर, कृषि क्षेत्रको विकास, विस्तार, प्रबद्र्धन र आमनागरिकलाई कृषिसँग जोड्न सरकारले सकिरहेको छैन । अर्कातर्फ नश्ल सुधार नहुँदा किसानले लागत अनुसारको मुनाफा पाइराखेका छैनन् । पछिल्लो समय गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तथा कोराना महामारीपछि पशु पालनबाट धेरै किसान पलायन भएका छन् । जसले गर्दा दुध उत्पादन घट्दो क्रममा छ ।
लुम्बिनी प्रदेश दुधमा आत्मनिर्भर छ । तर, रोगका कारण र सरकारी सहयोग नहुँदा किसान धमाधम पलायन भइरहेका छन् । यस्तोबेला लुम्बिनी सरकारले नश्ल सुधार भन्दै दुई करोड विनियोजन गरेको छ । यो रकम अत्यन्तै न्युन भएको किसान बताउँछन् । कपिलवस्तुको शिवराज नगरपालिकाका किसान अनिल केसीले सरकारले नश्ल सुधारलाई प्राथमिकता नदिएको बताए ।
‘मेरो परिवारले व्यवसायिक भैँसी पालन गर्छौं तर नश्ल सुधार नहुँदा हामीले लागत उठाउनै सकेका छैनौं, हामी जस्ता धेरै किसानले यही समस्या भोगिरहेका छन्’, उनले भने, ‘सरकारले सधैं न्युन बजेट छुट्याउँदा नश्ल सुधार कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।’
शुक्रबार लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को बजेटमा प्रदेशमा नश्ल सुधारका लागि दुई करोड छुट्याइएको घोषणा गरिएको छ । यो रकम निकै कम भएको किसानको गुनासो छ । कृषिमा यान्त्रीकीकरण र आधुनिकीकरण गर्दै मूल्य श्रृंखलामा आधारित बजारीकरणको व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ ।
लुम्बिनीमा विगतमा दैनिक एक हजार पाँच सय ७२ मेट्रिक टन दुध उत्पादन हुन्थ्यो । अहिले दैनिक दश हजार लिटर दुध कम उत्पादन भैरहेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको कृषि तथा पशुपन्छी विकास महाशाखाका पशु विकास अधिकृत हुमकान्त पाण्डेले जानकारी दिए ।
त्यसो त प्रदेशमा दैनिक हुने खपटबाट अझै १२ हजार लिटर दुध अन्य प्रदेशमा बिक्री भैरहेको छ । रोगको महामारीले दुधको लागत अनुसारको मुनाफा हुन छोडेपछि धेरैले पेशा फेरेका छन् । जसको असर उत्पादनमा परिरहेको छ । एक व्याक्तिलाई वार्षिक ९१ लिटर दुध पर्याप्त हुने पशु प्राविधिकहरुको भनाई छ । यस्तो बेला सरकारले न्युज बजेट छुट्याउँदा नश्ल सुधारमा समस्या हुने किसानको भनाई छ ।








प्रतिकृया दिनुहोस्