June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

प्रशासन धाउँदै मिटर ब्याज पीडित

परासी– लामो समयदेखि मिटर ब्याजका कारण आफ्नो सम्पती गुमाउन बाध्य पश्चिम नवलपरासीका सर्वसाधरण न्यायको आशमा जिल्ला प्रशासन धाउन थालेका छन् । अहिले जिल्ला प्रशासनमा मिटरब्याज तथा अनुचित लेनदेनको उजुरी दिनेको भीड छ । साहुसित ऋण लिएका र साँवाभन्दा ब्याज बढी तिर्दासमेत मुक्ति नपाएका व्यक्ति धाउन थालेका हुन् ।

Advertisement

जग्गा दृष्टिबन्धक गरेर घरबारविहीन अवस्थामा पुगेका पीडितको मुहारमा हाँसो छैन । न्याय पाउने झिनो आशा बोकेर प्रशासनमा आएका पीडित धेरै खालका समस्यामा रुमल्लिएका छन् । जिल्लामा २०७७ चैतसम्म २ सय १० जना मिटरब्याज पीडितको आर्थिक लेनदेनको उजुरी परेको थियो । जसमध्ये ३८ वटा उजुरीको साहु र ऋणी राखेर समस्या समाधान भएको भए पनि अधिकांश उजुरीको विषयमा कानुनी झमेलाका कारण निराकरण हुन सकेको छैन ।

Advertisement

पछिल्लोपटक फेरि २०८० वैशाख १६ गतेदेखि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले उजुरी सहायता कक्ष नै स्थापना गरेर धमाधम उजुरी लिइरहेको छ । प्रशासनका अनुसार पछिल्लोपटक १ हजार १ सय ५५ जना पीडितले उजुरी दिएका छन् भने एक जना ऋण लगानी गर्ने साहुले पनि रकम उठाइदिन निवेदन दिएका छन् । अहिले परेका उजुरीमा मिटरब्याज, ठगी र किर्ते कागज गरिएको बढी छ ।

अनलाइनमार्फत सोझै केन्द्रमा तथ्यांक सूचीकरण हुने र केन्द्रको आदेश अनुसार काम हुने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । उजुरी दिनका लागि गाउँगाउँबाट पीडितहरू जिल्ला प्रशासनमा आएका छन् । सहायता कक्ष नै स्थापना गरेर उजुरी लिने काम भएकाले पीडितलाई उजुरीका लागि सहज भएको छ । यसअघि पनि जिल्ला प्रशासनले उजुरी लिएर दुबै पक्षलाई छलफल गराएको भए पनि आवश्यक कानुनको अभावमा समस्या समाधान गर्न कठिनाइ परेको थियो ।

संकलन भएका उजुरी र निवेदन अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगमा अनलाइनमार्फत दर्ता गरिएको छ । सरकार पछिल्लो पटक मिटरब्याजविरुद्ध कानून नै ल्याएको छ । यसको कार्यालय खोलेको छ । सबै जिल्लामा उजुरी दिन आह्वान गरेको छ ।