अनावश्यक संरचना तत्काल हटाऊ [सम्पादकीय]


सिद्धार्थनगरलाई लुम्बिनीको प्रवेशद्वारको रुपमा लिइन्छ । हरेक राजनीतिक दल र जनप्रतिनिधिले यस नगरलाई हराभरा, स्वच्छ, सुन्दर बुद्धको नगरी भन्दै आफ्नो बखान गर्न पछि परेका हुँदैनन् । अझ विशेष गरि निर्वाचनको वेलामा त यो विषयले निकै चर्चा पाउने गरेको छ । विभिन्न समयमा भएका स्थानीय तहको निर्बाचनबाट चुनिएका जनप्रतिनिधिले पनि यही विषयबस्तुलाई चुनाबी मुद्दा बनाउँदै आफू बिजयी बने । तर आफैले उठाएको चुनाबी मुद्दालाई कार्यान्वयनमा ल्याउन भने भुले ।
खोइ कहाँ छ त हराभरा स्वच्छ र सुन्दर नगरी ? बरु बिगतमा भएका हरियाली पनि सवै मासिए । स्वच्छ र सफा भनिएका स्थानमा फोहोरको डंगुरले नगर नै कुरुप बनेका छन् । बिदेशी दातृ संस्थाको सहयोगमा नगरमा ठूला सडक त बने तर ती सडक सवै धुलाम्मे छन् । नगरका सवै सडकमा धुलोको प्रकोपले नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ । वर्षा याममा सडकको फोहोर पानी ढल तथा नालीबाट बगेर जाला भन्ने ठाउँमा उल्टै नाली जाम भएर नालीको फोहोर पानी सडकमा बग्ने गरेको यतार्थता सवै नगरवासीको सामु छर्लङ छ ।
यस विषयप्रति बिगतमा हाम्रा जनप्रतिनिधि काम गर्नमा चुकेकै हुन् । बिदेशी दातृ संस्थाको सहयोगमा निर्माण भएका सडक तथा नालीको समेत संरक्षण गर्नेतर्फ खासै चासो जनप्रतिनिधिको देखिएन । वर्षा याममा डुुबानमा परेको बस्ती वा सडकमा डोजर वा स्क्याभेटर लिएर जनप्रतिनिधि आफै फिल्डमा पुुगेर काम गरेको देखाउँदै जनताको मन जित्न नखोजिएको भने होइन । तर, यसको स्थायी समाधान भने समस्या आइसकेपछि निकास खोज्नु होइन । अग्रिम योजना बनाएर कार्यान्वयनमा ल्याइ समस्या नै आउन नदिनु स्थायी समाधान हो ।
नगरपालिकाको बेवास्ताको एउटा ज्वलन्त उदाहरण बनेको छ, बुद्धको नगरीबाट लुम्बिनी वा गौतम बुद्ध बिमानस्थल जानेआउने सडकको अवस्था । आउँदो जेठ २ गतेदेखि गौतम बुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान संचालन हुने भएसंगै यस नगर अन्तर्राष्ट्रिय जगतसंग जोडिँदै छ । स्वदेशी र बिदेशी पर्यटकको आवागमन यस नगरमा हुने छ । तर, पर्यटकले प्रयोग गर्ने ती सडकले हाम्रो नगरलाई गिज्याइरहेको आभाष हुन्छ ।
बुद्धचोकबाट बिमानस्थल वा लुम्बिनी जाने सडकको अवस्था हेर्दा निकै दुुर्गती छ । सडकको दाँयाबाँया दुवै किनारामा फुलको बगैँचा, हरियाली सुन्दर हुनुपर्ने हो । सायद लुम्बिनी आउने पर्यटकले पनि यी सडक र बुद्धको नगरीका वारेमा यस्तै चित्रण मनमा राखेका होलान् । तर, दुर्भाग्य यी सडकका किनारामा जनावरका भुत्ला फ्याकिएका छन् । थोत्रा गाडीको लाइन छ । कवाडी व्यवसायीको गोदाम बनाउने अनुमति दिइएको छ । यतिमात्रै होइन्, अटोभिलेजको नाममा करोडौं रुपैयाँ खर्च गरिएको स्थानमा अटो व्यवसायीलाई नलगेर कसैको स्वार्थका लागि अनुकुल हुने गरि अटो व्यवसाय नै सडकको किनारामा संचालन गर्न दिइएको छ ।
सडक किनाराको धेरै स्थानमा ढुंगा, वालुवाको मण्डी संचालन गर्ने अनुमती दिइएको छ । जुन सामान्य हावा चल्दा पनि पर्यटकको आँखामा परेर आँखा मिच्नु पर्ने बाध्यता छ । यस्ता बेथिति धेरै छन् । गल्लमण्डीबाट जाने सडकको त अझै गाडीको जाम लगायतका कारणले बेहाल छ । नगरकै अस्मितामा आँच आउने खालका यस्ता गतिबिधि हुनबाट तत्कालै रोक्न जरुरी छ । त्यस क्षेत्र यो वडा नम्बर वा त्यो वडामा पर्छ भन्ने होइन । नगरपालिका र स्थानीय प्रशासनले अविलम्ब यसतर्फ ध्यान पुर्याइ यी ठाउँका अनावश्यक संरचना हटाउन जरुरी छ ।








प्रतिकृया दिनुहोस्