August 21, 2026, Friday
२०८३ भाद्र ५ शुक्रबार

लुम्बिनी प्रदेशमा मनसुनजन्य विपदबाट तीन महिनामा ८५ जनाको मृत्यु

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशमा पछिल्लो समय मौसमजन्य विपदबाट ८५ जनाको ज्यान गएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत विवरणअनुसार लुम्बिनी प्रदेशमा जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म मनसुनजन्य विपद्का ९१ वटा घटना भएका छन् । ती घटनामा ८५ जनाको मृत्यु, १३ जना घाइते र दुई जना बेपत्ता भएका छन् ।

Advertisement

पानीमा डुबेर ५८ जनाको मृत्यु भएको छ । त्यस्तै बाढीका चार, चट्याङबाट सात, पहिरोका १० तथा अधिक वर्षाका कारण छ वटा घटना भएका छन् । बाढीमा परेर ४, चट्याङमा परेर ३, पहिरोमा परेर २० जनाको मृत्यु भएको छ ।

रोल्पामा यस वर्षको मनसुनजन्य विपद्का घटनाबाट चार स्थानीय तहमा २० जनाको मृत्यु भएको छ । थवाङमा मात्रै १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र दुई जना घाइते भएका छन् । सुनछहरी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । चार स्थानीय तहमा गरी ११ घरधुरी विपद्बाट विस्थापित भएका छन् । चार स्थानीय तहमा गरी ३१८ घरधुरी जोखिममा रहेका छन् ।

रोल्पामा राहत सामग्री पठाइयो
परिषद्ले नेपालगञ्ज विमानस्थल परिसरमा रहेको मानवीय सहायता तथा प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको गोदाममा मौज्दात राहत सामग्री रोल्पा पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पाको मागअनुसार २० थान टेन्ट, ३० थान त्रिपाल, ४० थान ब्लाङ्केट, ४८ थान झुल, ६ सेट किचन सेट र २० थान म्याट्रेस पठाइएको हो ।

यसैगरी नेपालगञ्जको गोदाममा प्रयोगको म्याद सकिएका सामग्री नष्ट गर्ने निर्णयसमेत गरिएको छ । डढेलो, आगलागी तथा बाढीपहिरोबाट क्षतिग्रस्त खानेपानी आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन कार्यालयमा मौज्दात रहेका खानेपानीका पाइप आवश्यकताअनुसार प्रयोग गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ ।

मनसुनजन्य विपद्को जोखिम कायमै रहेकाले विपद् व्यवस्थापनका विषयगत समितिहरू ‘क्लस्टर’ को नेतृत्व गर्ने मन्त्रालय तथा निकायलाई तत्काल बैठक राखी आफ्नो क्लस्टरलाई सक्रिय बनाउन पनि परिषद्ले निर्देशन दिएको छ ।

सुस्ताका लागि २५ लाख, रोल्पाको सडक र पुल मर्मतमा ५० लाख
परिषद्ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारिको सुस्ता क्षेत्रमा नदी कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मार्फत उक्त रकम खर्च गरिनेछ ।

त्यस्तै, रोल्पाको थबाङ गाउँपालिका–५ स्थित उवा खोला सडक पुलको एकातर्फको विङ वाल बाढीले बगाएको तथा पुलको पहुँच सडकमा ठूलो खाल्डो परेर आवागमन अवरुद्ध भएको अवस्थामा पुल र सडकको तत्काल मर्मत तथा संरक्षणका लागि ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिए । सुलिचौर–थबाङ सडकका विभिन्न भागसमेत क्षतिग्रस्त भएकाले तत्काल मर्मत तथा सुरक्षा आवश्यक रहेको जनाउँदै सडक पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत उक्त रकम खर्च गरिनेछ ।