रोल्पाका पहिरो पीडितलाई राहतमा कमी हुन दिँदैनौँः मुख्यमन्त्री आचार्य


दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पामा मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउनुपर्ने राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठकमा बोल्दै मुख्यमन्त्री आचार्यले रोल्पामा विपद्बाट ठूलो जनधनको क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त सडक तथा पूर्वाधार मर्मत गर्ने विषयमा सरकारले महत्वपूर्ण निर्णय गरेको बताए ।
‘घटना घट्न नहुने थियो । तर, घटना घटिसकेको छ । सरकारको तर्फबाट पीडितहरूले पाउनुपर्ने राहत समयमै उपलब्ध गराउन सके पीडित परिवारले त्यसलाई मल्हमका रूपमा लिनुहुनेछ,’ उनले भने, ‘प्रदेश सरकारको तर्फबाट तत्काल राहत सामग्री पठाउने काम भएको छ ।’
मुख्यमन्त्री आचार्यले विपद् प्रभावित क्षेत्रमा खानेपानी, सडक पूर्वाधार तथा सिँचाइका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभयो । प्रदेश सरकारले गर्नुपर्ने काममा कुनै कमी हुन नदिने उनको भनाइ छ ।
रोल्पामा विपद् भएपछि तत्काल खोज तथा उद्धारमा सक्रियता देखाएको भन्दै मुख्यमन्त्री आचार्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रशंसा गरे । तीनवटै सुरक्षा निकायका प्रमुख घटनास्थलमै पुगेर उद्धार कार्यमा जुटेको उल्लेख गर्दै उनले सुरक्षा निकायप्रति धन्यवाद व्यक्त गरे ।
विपद्को समयमा जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता र सामाजिक अभियानकर्मीले देखाएको सक्रियताको पनि मुख्यमन्त्री आचार्यले प्रशंसा गर्नुभयो । विपद्बाट घाइते भएकाहरूको प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको उनले जानकारी दिए ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन तथा विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सम्बन्धित लाइन एजेन्सीलाई थप सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए । विपद् भएलगत्तै खोज तथा उद्धारलाई तीव्रता दिनुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले उद्धारमा ढिलाइ हुँदा पीडित परिवारले थप पीडा भोग्नुपर्ने बताए ।
उनले मनसुन अझै नसकिएकाले भदौको अन्तिमतिर समेत ठूलो वर्षा हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सबै सरकारी निकायलाई पूर्वतयारी अवस्थामा राख्न निर्देशन दिए । सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र प्रतिकार्य योजना प्रभावकारी बनाउन पनि उनले आग्रह गरे।








प्रतिकृया दिनुहोस्