एक सातामा कपिलवस्तुबाट ११ नाल बन्दुक बरामद


कपिलवस्तु— जिल्लाका विभिन्न स्थानबाट एक साता अवधिमा ११ नाल बन्दुक बरामद भएका छन् । जिल्ला स्थित सामुदायिक वन क्षेत्रमा लुकाएर राखिएको अवस्थामा प्रहरीले यस्ता बन्दुक बरामद गरेको जनाएको छ ।
पछिल्लो पटक वाणगंगा–९, जिनुवास्थित कालिका सामुदायिक वनमा ५ नाल अवैध भरुवा बन्दुक फेला परेका हुन् । खोजीपुर सामुदायिक वन क्षेत्रमा ६ नाल भरुवा बन्दुक बरामद गरेको आठ दिनअछि बुधबार थप ५ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
वन क्षेत्रमा लुकाइछिपाइ भरुवा बन्दुक राखिएको सूचनापछि इलाका प्रहरी कार्यालय, पिपराबाट गएको टोलीले बुधबार बिहान ५ नाल बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । वन क्षेत्रभित्र ससाना रुखको फेदमा बन्दुक लुकाइएको थियो । बरामद बन्दुक कसले र के प्रयोजनका लागि जंगलमा लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिको पहिचान तथा बरामद भएका अवैध हातहतियारका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सिंहले बताए ।








प्रतिकृया दिनुहोस्