सुस्तामा तटबन्द गर्न निरन्तर खटिरहेका आयोजना प्रमुख


पश्चिम नवलपरासी– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले तटबन्धको माथिल्लो भाग तीव्र रूपमा कटान गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । नदी नियन्त्रण तथा रोकथामका लागि नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख डा. नारायण प्रसाद सुवेदी सुस्तावासी र प्राविधिक टोलीसँगै नियन्त्रण कार्यमा अग्रसर भएर लागेका छन् ।
विगत एक सातादेखि कार्यस्थल (साइट) मै रहेर डा. सुवेदीले तटबन्धको कार्यको प्रत्यक्ष नेतृत्व गरिरहेका छन् । प्राविधिक काम मात्र नभई, कामलाई तीव्र बनाउन आफैँ बालुवाका बोरा भर्ने, पर्कुपाइन सेट गर्ने र पर्खाल निर्माणमा हातेमालो गर्दै उनी जुटेका छन् ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार, आयोजना प्रमुख आफैँ खटिएर श्रमदानसरह काम गर्दा स्थानीय र कामदारहरूमा थप उत्साह र भरोसा पैदा भएको छ ।
‘नदी कटानको यो संकटपूर्ण समयमा आयोजना प्रमुख आफैँ फिल्डमा खटिएर श्रमदानको भावनाका साथ काम गरिरहनुभएको छ । राष्ट्रिय सेवक कर्मचारी यसरी आफैँ मैदानमा उत्रिएर काम गर्दा स्थानीय समुदायमा ठूलो राहत र हौसला मिलेको छ’, उनले भने ।
लगातारको शारीरिक श्रमका कारण आयोजना प्रमुख सुवेदीको ढाडमा समस्या (ढाड सड्किएर बिरामी) आए तापनि नदी कटानको गम्भीरतालाई ध्यानमा राख्दै उनले कार्यस्थल छाडेका छैनन् । हाल सयौँको संख्यामा स्थानीयवासी, प्राविधिक र कामदारहरू कटान नियन्त्रणमा जुटिरहेका छन् ।
आफ्नो उपस्थिति र सक्रियताबारे आयोजना प्रमुख डा. सुवेदीले नागरिक सुरक्षा नै प्राथमिक जिम्मेवारी भएको बताए । ‘यो विपद्को समय हो । प्राविधिक टोली र स्थानीय समुदायसँग मिलेर काम गर्दा मात्रै संकट टार्न सकिन्छ । मेरो उपस्थिति कुनै देखावटी होइन, दायित्व पूरा गर्ने प्रयास मात्र हो’, उनले भने ।
संकटको घडीमा कार्यस्थलमा खटिने कर्मचारी र प्राविधिक टोलीको यस्तो तदारुकतालाई सबैले प्रशंसा गरेका छन् । स्थानीय तह र आयोजनाको स्रोत–साधनले भ्याएसम्म तटबन्द कार्य तीव्र बनाइए पनि माथिल्लो निकाय र मन्त्रालयको तर्फबाट तुरुन्तै प्रशासनिक तथा प्राविधिक सहयोग पुर्याउनुपर्ने स्थानीयको भनाई छ ।








प्रतिकृया दिनुहोस्