वर्षा हुने वित्तिकै भैरहवा ‘ढलमग्न’


भैरहवा– भारी वर्षा भएपछि गाउँघरमा खेतबारी जलमग्न हुन्छन् । खुला चौर र मैदानमा पानी टम्म हुन्छ । खुला र फराकिलो ठाउँ, खेतीपाती, छरिएका घर र परम्परागत बस्ती भएकाले गाउँमा व्यवस्थित ढल निकास हुँदैन । स्थानीय तह बनेपछि गाउँपालिका र नगरपालिकाले पनि ग्रामीण क्षेत्रमा फराकिला सडक निर्माण गरिरहेका छन् ।
त्यस्ता सडक दायाँबायाँ ढल निकासका लागि अलिहे नाला बनाउने गरिएको छ । ग्रामीण सडक र गोरेटो दायाँबायाँ व्यवस्थित नाला निर्माण गरिएका हुँदैनन् । जसले गर्दा गाउँमा साँघुरा सडक पनि जलमग्न हुन सक्छन् । यहाँ गाउँको कुरा होइन्, सहरको कुरा हो । त्यो पनि मुलुकको विकसित जिल्ला मध्येको एक रुपन्देहीको सदरमुकाम भैरहवा सहरको । यो पुरानो सहर हो । पुरानै नगरपालिका हो । पहिले बसाइँ सराइँ र सहरीकरण कम थियो । सिद्धार्थ नगरपालिकालाई राहत थियो । अहिले बसाइँ सराइँको चाप बढिरहेको छ । जनसंख्यासँगैं घरको संख्या बढेको छ ।
अहिले मुलुकको मुख्य स्थल र अन्तर्राष्ट्रिय हवाई नाका रहेको भैरहवा आधुनिक सहर बनिरहेको छ । त्यही अनुसार पूर्वाधार थप भइरहेका छन् । सिद्धार्थनगरपालिका भित्र धमाधम होटल र रेष्टुरेन्ट खुलिरहेका छन् । ती होटलमा क्यासिनो सञ्चालनमा छन् । जसले गर्दा मनोरञ्जनका लागि आउने पर्यटक ओहोरदोहोर गरिरहन्छन् । हुन पनि सिद्धार्थ नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले निर्वाचनका बेला भैरहवालाई ‘ब्युटिफूल सहर’ बनाउने नारा दिएका थिए ।
प्रचारका क्रममा जनताको घरदैलोमा जाँदा पाँच वर्षभित्र भैरहवा अन्तर्राष्ट्रिय स्तरको हरियालीयुक्त व्यवस्थित सहर बनाइने वाचा गरेका थिए । सहरमा फूलैफूल देखिने र जताततैं हरियाली निर्माण गरिने बताएका थिए । ‘ब्युटिफूल सहर बनाउने वाचा गरेका नगर प्रमुख आफ्ना प्रतिवद्धता पूरा गर्न कति डयूटीफूल भए’ जनताले मूल्यांकन गर्ने नै छन् । तर, सहर व्यवस्थापनमा उनको परीक्षा दैनिक भइरहेको छ । हरेक परीक्षामा अनुतिर्ण भइरहेका छन् । हरियाली, पार्किङ, फुटपाथ व्यवस्थापन, नाला व्यवस्थापन कतै पास मार्क पाइरहेका छैनन् ।
बुधबार साँझ भैरहवाको बैंक रोडका व्यवसायी हरिश सेठियाले वर्षापछि डुवानमा परेको सडक र बजारको दृश्य सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर संसारलाई सदरमुकामको पूरानो र मुख्य व्यवसायिक स्थलको अवस्था दर्शाइरहेका थिए । ‘लौ है हामी डुवियो, सडक डुब्यो, पशल डुब्न लागे,’ प्रत्यक्ष दृश्य प्रसारणका क्रममा सेठियाले प्रश्न गरिरहेका थिए, ‘यो समस्या अहिलेका मेयर साबले पूरा गर्ने कि ०८४ पनि आउने नयाँ मेयरले ।’ लोकतन्त्रमा जनताको प्रश्नको जनप्रतिनिधिले तत्काल जवाफ दिने विश्वास गरिन्छ ।
तर, यहाँ प्रश्न गर्नेलाई पूर्वाग्रही घोषित गर्ने गरिएको स्थानीय बताउँछन् । केही पाएन होला अनि आरोप लगायो भन्ने गरिएको छ । तर, बुधबार साँझ वर्षा भएपछि भैरहवा जलमग्न होइन ढलमग्न बन्यो । मुख्य सडकदेखि भित्र मार्गमा पैदल र गाडीमा सवार दुबैले सास्ती सहनु पर्यो । पूरा भैरहवाका मतदाताले झेलेको यस्तो समस्याबारे सवाल गर्दा कोही पूर्वाग्रही हुनुपर्दैन । सडकमा फोहोर फ्याँक्ने नागरिक गलत हुन् । तर, प्राकृतिक रुपमा भएको वर्षापछि बस्ती र बजार डुब्नुका पछाडी हाम्रो विकासे प्रबृत्ति र जनप्रतिनिधिको लाचारी प्रमुख कारण बनिरहेको छ ।
हाम्रा जनप्रतिनिधिलाई वर्षामा डुवान हुन्छ भन्ने ज्ञान छैन र ? पक्कै छ । तर, उनीहरु बेलैमा पानी र ढल निकासका काम गर्दैनन । सहरका सबै नाला झाडी र फोहोरले टालिएका छन् । सफा गरिएको छैन । वर्षाको बेला सडक दायाँबायाँ घाँस र बिरुवा हुर्किएका छन् । तीनले पनि पानी बग्न दिँदैनन् । पानीले बग्न नपाएपछि पस्ने त घरभित्र होला । यसरी बस्तीमा पस्ने पानी सफा छैनन । त्यसको कारण हो भैरहवाको फोहोर । भैरहवामा फोहोर संकलन प्रभावित भएको छ । अधिकांश स्थानमा सडकमै फोहोर हुन्छ । बुधबार साँझ परेको पानीले फोहोर बगाएर घरदैलोमा पुर्यायो । त्यसमा नगर क्षेत्रको ढल पनि मिसियो ।
वर्षाले फोहोर बगायो । त्यही फोहोर बगिरहेको पानीमा सर्वसाधरणले यात्रा गरे । जमेको पानीमा सवारी साधन चलाउँदा सडकको पानी मुहारमा छयापियो । अनि सडकको फोहोर र ढलका किटाणु सजिलैं मान्छेको मुखमा पुगेनन त ? हुन त अस्ति भर्खरै आम निर्वाचनमा भैरहवाबाट उम्मेदवार बनेका व्यक्तिले पनि नगरलाई ब्युटिफूल बनाउने भन्थे । उहाँहरु निर्वाचित भएर सरकार बनेको चार महिना पुगिसक्यो ।
रुपन्देही–१ बाट निर्वाचित सुनील लम्साल त मन्त्री नै छन् । तर, भैरहवाको फोहोर व्यवस्थापन र ढल निकासमा सांसद र मन्त्रीलाई कुनै चासो छैन । बरु नागरिकले पाउनु दुःख पाएपछि रोज्ने नयाँ पार्टीलाई हो भन्ने भ्रम त छैन । भ्रम छ भने हटाउनुपर्ने स्थानीय बताउँछन् । ‘तपाईंहरुले गरेका सुधारका वाचा पनि प्रचारात्मक मात्र हुन भन्ने जनताले भेउ पाइसकेका छन्’, एक स्थानीयले भने ।








प्रतिकृया दिनुहोस्