पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्षविहीन


परासी—पश्चिम नवलपरासीस्थित पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विहीन बनेको छ । भ्रष्ट्राचारको मुद्धा लागेर पालिका अध्यक्ष निलम्बनमा परेका थिए । निर्वाचन आयोगले गत असार ९ गते पालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी पनि पदमुक्त भएको जानकारी गराएको थियो ।
आयोगले राजनीतिक दलसम्बन्धी कानुन तथा नियमावली अनुसार अन्सारीलाई निर्वाचित हुँदाको बखतमा आबद्ध रहेको राजनीतिक दलको निर्णयका आधारमा पद स्वतः रिक्त भएको जानकारी गराएको हो । २०७९ सालको स्थानीय निर्वाचनमा खातुन कांग्रेसबाट निर्वाचित भएकी थिइन् । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको र अन्य पार्टीका उम्मेदवारको पक्षमा मत मागेको भन्दै पार्टीले कारबाहीका लागि सिफारिस गरेको थियो ।
आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पदबहालीको माग गर्दै रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले साउन १० मा अन्सारीको रिट खारेज गरिदिएको हो ।
पालिकाका अध्यक्ष वैजुप्रसाद यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा असार २२ गते मुद्दा दर्ता गरेपछि निलम्बनमा छन् । अध्यक्ष र उपाध्यक्ष दुवै पद खाली भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भैरहेको पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीले बताए ।
‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १ सय १६ मा अध्यक्ष र उपाध्यक्ष वा प्रमुख र उपप्रमुख दुवै निलम्बनमा परेमा कार्यपालिका सदस्यमध्येबाट कार्यवहाक तोक्न सक्ने व्यवस्था अनुसार जनप्रतिनिधिबीच छलफल भइरहेको छ,’ केसीले भने,‘सकेसम्म सहमति र नभएमा कानुनी प्रावधानअनुसार केही दिनमा नै निकास दिने गरेर जनप्रतिनिधि लाग्नु भएको छ ।’








प्रतिकृया दिनुहोस्