May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रूपन्देहीमा धमाधम पालिका अधिवेशन गर्दै रास्वपा, आठ वटामा नेतृत्व चयन

Advertisement

भैरहवा– आगामी राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहमा धमाधम अधिवेशन गरिरहेको छ । यसैक्रममा रुपन्देहीका नयाँ नेतृत्व चयनलाई तिव्रता दिइएको छ । १६ स्थानीय तह रहेको रुपन्देहीमा हालसम्म ८ वटामा अधिवशेन भइसकेको छ । केहीमा सर्वसम्मत नेतृत्व चयन भए पनि केही पालिमा चुनाव मार्फत् नेतृत्व टुंग्याइएको छ ।

Advertisement

पार्टीको जिल्ला निर्वाचन समितिका अनुसार कञ्चन गाउँपालिकाको सभापतिमा प्रेमचन्द्र पोखरेल, शुद्धोधन गाउँपालिकामा बैदलाल शर्मा र सियारी गाउँपालिकामा रुद्रलाल शर्मा सभापति चयन भएका छन् । यस्तै, बुटवल उपमहानगरपालिकाको अधिवेशनबाट राजेश्वर (राजन) पाण्डे पुनः सभापतिमा निर्वाचित भएका छन् भने तिलोत्तमामा रुस्तम कँडेल दोहोरिएका छन् ।

त्यसैगरी सैनामैनामा लक्ष्मण पौडेल, मायादेवी गाउँपालिकामा हरि कुँवर तथा गैडहवा गाउँपालिकामा ओमप्रकाश भट्टराई सभापतिमा चयन भएका छन् । बाँकी रहेका पालिकाहरुमा पनि अधिवेशनको तयारी गरिरहेको रास्वपा रुपन्देही सभापति बुद्धि शर्माले जनाए ।

सभापति शर्माका अनुसा बुटवल, गैडहवा र तिलोत्तमा नगरपालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको थियो भने अन्य पालिकामा सहमतिमै नेतृत्व छानिएको हो । जेठ १४ गते देवदह र १६ गते सिद्धार्थनगर नगरपालिकाको अधिवेशन गर्ने तय भएको छ । यस्तै, लुम्बिनी सांस्कृतिकको अधिवेशनको तयारी गरिएको छ ।