कृत्रिम हातखुट्टा वितरण शिविरः ५३ जनाको लिइयो नाप


भैरहवा– भैरहवामा बिहीबारदेखि तीन दिवसीय निःशुल्क हातखुट्टा वितरण शिविर सुरु भएको छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजना र मारवाडी सेवा समिति, भैरहवाको सहयोगमा शिविर सुरु भएको हो । तीन दिनसम्म चल्ने शिविरमा निःशुल्क कृत्रिम हातखुट्टा वितरण गरिने आयोजकको भनाई छ ।
भैरहवास्थित मारवाडी सेवा समितिको हलमा संचालित शिविरमा दुर्घटना लगायत विभिन्न कारणबाट हातखुट्टा गुमाएर लामो समयदेखि बसेका व्यक्तिलाई कृत्रिम हातखुट्टा वितरण गरिनेछ । मारवाडी युवा संगठनका राष्ट्रिय अध्यक्ष मनोजकुमार अग्रवालले विशुद्ध मानवीय सेवालाई ध्यानमा राखेर शिविर संचालन गरिएको बताए । उनका अनुसार शारीरिक रुपमा अक्षम नागरिकहरुको कृत्रिम अंग निर्माणका लागि प्राविधिकले बिहीबार नापजाँच लिएका छन् ।
आयोजकका अनुसार बिहीबार हातखुट्टाको नापजाँच लिइएको छ भने शुक्रबार नापजाँच अनुसार कृत्रिम हातखुट्टा तयार गरिनेछ । फागुन ९ गते शनिबार सम्बन्धित व्यक्तिहरुलाई वितरण गरिनेछ । शिविरमा रुपन्देहीसहित मुलुकका विभिन्न ठाउँबाट सहभागिता छ । आयोजकका अनुसार भैरहवामा तेस्रोपटक निःशुल्लक कृत्रिम हातखुट्टा वितरण शिविर संचालन गरिएको हो ।
संघले यसअघि भैरहवासहित अन्य सहरहरुमा आयोजना गरेको यस्तो शिविरबाट हालसम्म ३ सय भन्दा धेरैलाई कृत्रिम हातखुट्टा सहयोग गरेको छ । भारतबाट प्राविधिकहरु ल्याएर कृत्रिम हातखुट्टा बनाउने काम चलिरहेको छ । आयोजकका अनुसार शिविरमा ५३ जनाले कृत्रिम हातखुट्टा जडानका लागि नापजाँच दिएका छन् ।








प्रतिकृया दिनुहोस्