October 15, 2024, Tuesday
२०८१ आश्विन २९

धनको सदुपयोग र दसैं विज्ञान

-अच्युतप्रसाद पौडेल

Advertisement

पूर्वीय धर्मदर्शनको मूल मन्त्र नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ हो । यसले अनुशासनको पक्षमा जोड दिएको छ र यसैलाई अहिले सुशासनको नाम दिइएको छ, जसलाई धेरैले प्रयोग गरेको देखिन्न, नेतृत्वले त गरेकै देखिन्न । धन भनेको जीवनको साधन हो, यसको गलत प्रयोग गर्नु हुन्न ।

जुवा आदिका कारण सत्यवादी पाण्डवहरू पनि वनवासी भएका थिए, द्वापर युगमा । कलियुगमा त धनको अधिक मोह हुन्छ नै, त्यसैका लागि महालक्ष्मी, महाकाली र महासरस्वतीको उपासना पनि गरिन्छ । अरू बेला पनि गरिन्छ, दसैंतिहारमा अलि बढी नै गरिन्छ । व्यर्थ चिन्तन, व्यर्थ चेष्टामा प्रयोग भएको धनले मान्छेको मति बिग्रन्छ । महालक्ष्मीको अर्को नाम रुक्मिणी हो र उनले शुद्धमतिको गर्भबाट जन्म लिएकी हुन् । शुद्धमतिको अर्थ हुन्छ, विचारमा शुद्धता । विचार शुद्ध भएपछि कार्यशैली शुद्ध हुन्छ, मुहान शुद्ध भएपछि नदीका जल प्रवाहहरू शुद्ध हुन सक्छन् ।

दसैंको घटस्थापनामा सुरुमै महासरस्वतीको उपासना गरिन्छ, सरस्वती भन्नु ज्ञानको भण्डार हो । महालक्ष्मीको पनि उपासना गरिन्छ, यी धनकी प्रतीक हुन्, दसैं उपासनामा महाकालीको उपासना गरिन्छ, अर्थात् शक्तिसञ्चय र यसको सही प्रयोग । यी तीन नै अर्थक्षेत्रका विविध रूप हुन् । विकसित देशहरूले ज्ञानको सदुपयोग गरे, आर्थिक रूपान्तरण पनि गरे । ज्ञान मस्तिष्कको उपज हो, हाम्रो देश भनेको दैवी शक्तिको देश हो, गुरु राष्ट्र हो र विवेकको प्रयोग गर्न सिकाउने देवीहरूको शिक्षा अनि असत्यमाथि सत्यको विम्ब खोज्ने हाम्रो परम्परा हो, हाम्रा पुर्खाले यही गरे, हामी पनि गर्दै छौं, निरन्तर चलेको संस्कृति भत्काउन पनि असहज नै हुन्छ ।

हाम्रो पुर्खाले यसैमा विज्ञान देखे, विज्ञान मस्तिष्कको उपज हो, मस्तिष्क भने ईश्वरको उपज हो, यो हाम्रो विश्वास हो । विश्वासमै त अडेको छ यो ब्रह्माण्ड, भनौं संसार, हिजो विज्ञान नहुँदा पनि हाम्रो पुर्खा शान्त र अमनचयनसँग बाँचेकै हुन् । कृषि पेसामा लागेका आम नेपालीहरूमाझ शारदीय यी रात्रिहरूमा खेतमा धानका बालाहरू झुल्नु, पौरखी हातहरूको स्वरूप लक्ष्मीको पूजा हुनु, कृषि, गोरक्षा, कृषिकार्यमा सहयोगी गाई, गोरुहरूको विशेष सम्मान हुनु हाम्रो एउटा नौलो उदाहरण पनि हो आम विश्वसामु । अघि समुद्र मन्थनबाट धर्तीमा अवतरित भएकी लक्ष्मीका अनेकौं रूप छन् । जसमध्ये सबैलाई मोहित पार्ने मोहिनी पनि हुन् । सिर्जनामा उनको स्वरूप सरस्वतीको हुन्छ । अक्षय, सुख, ऐसआराम, ऐश्वर्यदेखि पालनकार्यमा उनको स्वरूप महालक्ष्मीको हुन्छ भने संसारको अन्त्य गर्दा उनको स्वरूप महाकालीको हुन्छ ।

लक्ष्मी भनौं धनको चर्चा गर्दा यिनको स्वरूप बुझ्नुपर्ने हुन्छ । यिनका मुख्य दुई रूप छन् । एउटा हो— भौतिक रूप, अर्को हो— आध्यात्मिक वा दैवी स्वरूप । भौतिक रूपमा मात्र हेर्दा लक्ष्मी केवल भोगकी साधनमात्र बन्न पुग्छिन् । दैवी र आध्यात्मिक रूपले हेर्दा लक्ष्मी योगकी साधन, उपयोगकी साधन पनि बन्न पुग्छिन् । उपभोगले मात्र हेर्दा लक्ष्मीको बाहन केवल लाटोकोसेरो मात्र बन्न पुग्छ । तर, उपयोगका रूपमा हेर्दा लक्ष्मी गरुडासनी बन्न पुग्छिन् । जहाँ लक्ष्मीको सेवा हुन्छ त्यहाँ नारायणको सेवा हुनु जरुरी छ । नारायणको वाहन गरुड चढेर आउने लक्ष्मीको स्वागत गर्दा जीवन सुखमय, शान्तिमय र कान्तिमय बन्न पुग्छ । धन केवल भोग साधना गर्ने वस्तु हो भनी यसको दुरुपयोग गरेमा लक्ष्मी प्रसन्न हुन्नन् र मान्छेको मति बिगारिदिन्छिन् । मति बिग्रेपछि गति पनि ठीक हुन्न, दुर्गतितिर उन्मुख व्यक्तिले शान्ति र कान्ति दुवै पाउँदैन । नारायणको अर्को नाम यश र कीर्ति पनि हो । त्यसैले यश र कीर्ति प्राप्तिका लागि नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ भनी नीतिकारहरूले भनेका हुन् ।

लक्ष्मी प्रसन्न राख्न सरसफाइका साथै उद्यमशीलता आवश्यक पर्छ । उद्यम, परिश्रम, मिहिनेत र निरन्तरको साधनाबाट लक्ष्मी खुसी हुन्छिन् । केवल पूजाले मात्रभन्दा पनि त्याग र समर्पणभाव, प्रेम र सद्भाव, सहिष्णुता र उपकार अनि दान र सामाजिक सेवामा, सार्वजनिक निर्माणमा, उद्यान, शौचालय, बाटाघाटा, मठमन्दिर, असहाय तथा दीनदुःखीको सेवामा लागेको धन पवित्र हुन्छ । आम्दानीको १० प्रतिशतमा आफ्नो हक, भोग अधिकार नरहने र त्यो आयलाई सार्वजनिक, सामाजिक सेवामा अर्पण गर्नुपर्ने हुन्छ । आनन्द प्राप्तिका लागि लक्ष्मीको आध्यात्मिक एवं दैवी स्वरूपलाई बुझ्नुपर्ने हुन्छ ।

चारित्रिक शुद्धता, अक्रोध, अवैरभाव, देवत्वको भाव, अप्रमाद र उद्योगमा लक्ष्मीको बास हुन्छ । धनको सदुपयोग, पदार्थको सदुपयोग, तत्वज्ञानको सदुपयोग, लज्जा, त्याग, शिष्टतामा लक्ष्मीको बास हुने हुँदा लक्ष्मी उपासना गर्ने साधकहरू सज्जन, शान्त, धीर, वीर हुन जरुरी छ । सन्त, साधुहरूको सेवामा पनि लक्ष्मी रहने कुरा शास्त्रहरूले पुष्टि गरेका छन् । भनिन्छ, लक्ष्मीका धेरै पाउमध्ये एक पाउ उत्पादनमा, उब्जाउमा रहेको हुन्छ । पृथ्वी जसलाई धरा भनिन्छ, धराको प्राकृतिक स्रोतसाधनमा लक्ष्मीको एक पाउ छ । लक्ष्मीको अर्को पाउ प्रकृतिको रसादि तत्वमा छ, जसले शुद्ध तत्वलाई सिञ्चन गरी पोषण दिन्छ । जलमा रहेकी लक्ष्मीलाई विज्ञानले विद्युतीकरणसमेत गरेर हराभरा बनाएको छ ।

उद्योग, कलकारखाना र मानव जीवनदेखि यन्त्र साधनसमेत सजिलो बनेको छ । वृक्ष, वनस्पतिको हरियालीका लागि लटरम्म फलफूलको सिर्जनामा सहायकसिद्ध भएकी लक्ष्मीको अर्को पाउ तापशक्ति अग्निमा रहेको छ । वेदका मन्त्रले अग्निको स्तुति वन्दना गरेको छ । बाहिर देखिएको ताप शक्ति, सौर्य ऊर्जादेखि मानव हृदयभित्रको जठराग्निसमेतमा रहेर आफ्नै शक्तिद्वारा प्रदत्त पदार्थको पाचन गराउने कार्य जीवात्माको हृदयभित्र बसेर उनै लक्ष्मीले आफ्नो कार्य सञ्चालन गरिरहेकी हुन्छिन् ।

लक्ष्मीको अर्को पाउ बसेको छ, सत्यमा, साधुका हृदयमा, सत्यवादितामा, सरसतामा, मधुरवाणीमा, आशीर्वादमा, मीठो मुस्कानमा, प्रिय र सत्य बोली, आचरण र तप, मनको शुद्धता र सात्विक आहारविहारमा लक्ष्मीको पाउ अडेको हुन्छ । यसर्थ, तपस्वी, साधु, सन्त केवल भेषको कारण होइन, आचरण पवित्रतामा हुनुपर्ने र तिनको आशीर्वादमा लक्ष्मीको आगमन हुने हुनाले कीर्ति, बुद्धिका साथै विवेक, संयम, आत्मसंयमी आदि व्यक्तिमा यस्ती लक्ष्मीको निवासस्थान रहेको हुन्छ । महाभारत भीष्मपर्व, शान्तिपर्व र पद्मपुराण आदिमा लक्ष्मीको प्रशस्त चर्चा भएको छ । वेद, पुराणहरू हाम्रा धरोहर हुन्, नासाका वैज्ञानिक अहिले संस्कृत शब्दको खोजी गर्दै वेदको विज्ञान प्रयोग गर्दैछन् ।

दसैंको पहिलो दिन घटस्थापना गरिन्छ, शरीर एक घडा नै हो, पहिलो तिथि प्रतिपदाले जीवनको १० वर्षको संकेत गर्छ, जीवनीको संस्थापन, थालनी, जौ, मकै रोपेझैं बीज रोपण र अंकुर हुर्कने समय, बाल्यजीवन शैलपुत्रीको उपासना । द्वितीया, दोस्रो दिन जीवनका दुई दशक, शिक्षा, सीप आर्जन, तेस्रो दिन तृतीया, चन्द्रघण्टाको उपासना, भनौं घण्टाको आवाजझैं विद्या र सीपको प्रयोग, उपयोग, प्रचार जीवनको तीन दशक । चौथो दिन कुष्माण्डा देवीको उपासना, कुत्सित अन्डारूपी पेटकै समस्या, चार दशकसम्म जोतिएर काम गर्नुपर्ने, अथक परिश्रम, परिवारको भरणपोषण, बचतको पनि चिन्ता, बन्द व्यापार, लगानीको चिन्ता, चार दशकको उमेरसम्म आर्थिक समुन्नतिको प्रयास, हरतरहको प्रयास गरिरहन्छ मानवले । पाँचौं दिन स्कन्दमाताको उपासना, जीवनको पाँच दशकपछि मातापिताप्रतिको बढी सम्झना, आफ्नै सन्तानले पनि हैरानी कष्ट दिन थालेपछि मातृशक्ति स्कन्दमाताको गुहार, अनेकौं प्रयत्न गरिन्छ, परमेश्वरको चाहना पनि यतिबेलैदेखि अलि बढी हुन्छ जीवनमा ।

छैटौं दिन साठीको दशक, व्यवहारबाट निराश भई कात्यायनीको उपासना गर्न थाल्छ मानिस र कात्यायनी महामाये भवानी भुवनेश्वरी, संसार सागरे मग्नं मामुद्धर कृपामहे भन्न थाल्छ । अर्थात् संसार सागरमा फसेको छु, परिवार र भोगविलास र जन्जालमा, यसबाट उद्धार गर भन्दै आर्तपुकार गर्न थाल्छ, पश्चात्तापको भुमरीमा पर्दै । सप्तमी कालरात्रिको उपासना गरेर जीवनको सात दशकमा आफू रोगग्रस्त भई कालपाशमा पर्न लाग्दा आफ्नो सट्टा अबोध पशुपन्छीलाई भोग दिँदै मन्दिर मन्दिर धाउन थाल्छ मान्छे ।

महागौरी बालसुलभ गौरीको नाम हो, अष्टमी, आठौं दिन महागौरीको उपासना गर्दै मानवले बालभावको व्यवहार गर्न थाल्छ, जीवन पूरै थाकिसकेकाले अब उसले बचपनको व्यवहार देखाउन थाल्छ, अबोध बालकजस्तै । नवमी नवौं दिन, जीवनको नब्बेको दशक सिद्धिप्राप्तिको चाहना राख्दै सिद्धिदाताको उपासना गर्न थाल्छ, नौ दुर्गा सिद्धिदात्री नाम हो देवीको । कलिको पूर्णायु एक सय वर्षको छ र जीवनको शतआयु दशमी, एकसय वर्षको पूर्णता, अब विजयादशमीको दिन विजया र अपराजिताको उपासना गर्छ । यसको अर्थ हुन्छ आफ्नो विजय र अरूबाट अपराजित । अब ऊ अरूलाई टीका, जमरा, विजय, हर्ष र उल्लासको आशीर्वाद दिन सुरु गर्छ ।

शक्ति उपासनामा खरो उत्रेकाले मात्रै देवी उपासना राम्ररी गर्नेसँग मात्रै जमरा, रातो अक्षता, टीका वितरण गर्ने सामथ्र्य हुन्छ, आशीर्वचनको योग्यता प्राप्त हुन्छ, विधि विज्ञानबिना नै आशीर्वाद दिन तम्सिनु भनेको अपरिपक्वता हो, जसले सिद्धि प्राप्त गरेको हुन्छ, त्यस्तो अग्रज र उपासकलाई नै आशीर्वाद दिने क्षमता हुन्छ । आयुद्रोणसुते श्रियो दशरथे, शत्रुक्षयो राघवे, ऐश्वर्यं नहुषे गतिश्च पवने मानन्च दुर्योधने, शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते, विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे । यो अशीर्वाद मन्त्रले ब्रह्माण्डीय क्षमताको संकेत गरेको छ, सत्य, त्रेता, द्वापरसमेत तीन युगको सामथ्र्य प्रस्तुत गरेको छ ।

विज्ञानका विदुर, बलका हलधर भनौं बलराम, सत्यका कुन्तीपुत्रहरू द्वापरका हुन् । शत्रुविजय गर्ने सामथ्र्य भएका राघव श्री र यशका दशरथ त्रेतायुगका हुन्, कीर्तिका नारायण सत्ययुगका हुन् । यसमा यति धेरै शक्ति दिन खोजिएको छ कि सारा जनले विज्ञानको सदुपयोग गर्न सकून्, जानून् र शक्ति र धनको सदुपयोग गर्न सकून् । मानिसको उषाकाल सत्ययुग हो र हरेक बिहानी मानिसको सत्ययुग हो पहिलो चरण, त्यसैले उपासना पूजाहरू प्रायः बिहानै गरिन्छ, ज्ञान, सीप, शिक्षा आर्जनको समय मानिसको त्रेता युग हो, जीवनको दोस्रो चरण ।

प्राप्त ज्ञानको उपयोगको समय तेस्रो चरण हो, द्वापरयुग हो दिउँसोको समय र हरेक रात्रि मानिसको कलियुग हो, कलिमा कलह बढी हुन्छ र धनको दुरुपयोग पनि बढी नै हुन्छ । वास्तवमा धन भनेको साधन हो साध्य होइन, धनका लागि मानिस क्रूर बनेको छ आज, धनको प्रलोभनमा मानिस जे पनि गर्न तयार भएको छ, राज्यशक्तिले समेत सुशासन र अनुशासनलाई बिर्सेको छ । आज सार्वजनिक संयन्त्रहरूमा बेरुजुको चाङ बढेको छ, भ्रष्टाचारका काण्ड यत्रतत्र छरपस्ट छन्, मानिसले पैसाका लागि आफू अन्धो हुन तयार भएको छ, कुरूप हुन तयार भएको छ, धनको अर्थलाई अनर्थ गरिराखेको छ । हरेक वर्ष दसैं आउँछ, विज्ञापनमा शुभकामना धेरै आउँछन् तर शुभकाम बहुतै कम आउने गरेको छ ।

जो जागा हुन्छ, सचेत हुन्छ, जाँगर गर्छ, मिहिनेती हुन्छ उसकै हातमा धनको वर्षा पनि हुन्छ, परिश्रमी हातामा कुवेर बसेका हुन्छन्, कुवेर धनका प्रतीक हुन् र त दसैं बिदाइको क्रममा पूर्णिमा १५ दिनपछि कोजाग्रत महालक्ष्मीकै उपासना गरिन्छ । कोको जागा छन् भन्ने अर्थमा पृथ्वीतलमा महालक्ष्मी घुम्दै धनको वर्षा गराउँछिन्, भन्नुको विज्ञान के हो भने मान्छे हरदम जाँगरिलो हुन जरुरी छ, सक्रिय हुन जरुरी छ, जीउमा पसिना र हातमा ठेला नउठाईकन धनी हुन खोज्नु भनेको आफैंप्रति विश्वास नहुनु हो, लक्ष्मीप्रति विश्वास नहुनु हो र त विदेशमा कति खटेर काम हुन्छ, कसैलाई फुर्सदै हुन्न, अल्छीसँग त लक्ष्मी प्रसन्न नै हुन्नन् । -karobardaily