कलेज पढौँ कि कोरियन भाषा सिकौँ ?
विद्यालय होस् वा विश्वविद्यालय, पढाइ पूरा गरेर बिदा हुँदै गरेका विद्यार्थीले बिदाइ समारोहमा एकले अर्कोलाई उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना आदानप्रदान गर्नुपर्ने हो । तर, गत वर्ष भक्तपुर बागेश्वरी माध्यमिक विद्यालयबाट कक्षा १२ को पढाइ पूरा गरी बिदा हुँदै गरेका विद्यार्थीहरूमध्ये एक जनाले साथीको सर्टमा लेखे, ‘खाडीमा भेटौँला ।’ निकै नै हृदयस्पर्शी यो सन्देश त्यतिखेर सामाजिक सञ्जालमा निकै भाइरल भयो । देशको राजनीतिक विकृति र आर्थिक अव्यवस्थाप्रति निकै कडा व्यङ्ग्य प्रहार गरेको यो सन्देशले बुद्धिजीवी वर्गमा समेत तरङ्ग पैदा गरेको थियो । देशमा बढ्दै गएको शैक्षिक गुणस्तरहीनता र बेरोजगारीलाई प्रस्टसँग इंगित गर्ने उक्त सन्देशले देशका लाखौं मत्वाकांक्षी युवाको सपना र भावनालाई प्रतिनिधित्व गरेको थियो ।
यस वर्षको कक्षा १२ को नतिजा प्रकाशित भइसकेको छ । कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सामेल भएको यो परीक्षामा ३ लाख ७२ हजार ६ सय ३७ नियमित परीक्षार्थी थिए भने बाँकी आंशिक परीक्षार्थी थिए । नियमित परीक्षार्थीमध्येबाट ५०.९१ प्रतिशत मात्रै स्नातक तह पढ्न योग्य ठहरिएका छन् । बाँकी ४९.०९ प्रतिशत परीक्षार्थी स्नातक तह पढ्न अयोग्य ठहरिएका छन् । यद्यपि ग्रेड वृद्धि परीक्षामा सामेल हुन योग्य १ लाख २३ हजार ३ सय परीक्षार्थीले आगामी असोज ९ र १० गते हुने ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउनेछन् । स्नातक पढ्न योग्य ठहरिएका अधिकांश विद्यार्थी बिदेसिनेमा कुनै सन्देह छैन । कन्सल्टेन्सी धाउने र शिक्षा मन्त्रालयमा वैदेशिक अध्ययन अनुमति अर्थात् नो अब्जेक्सन लेटर लिने विद्यार्थीको भीडले यही संकेत गरिरहेको छ । आर्थिक वर्ष ०७९-८० मा एक लाखभन्दा बढी विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् भने सोही वर्ष शिक्षाका लागि झन्डै डेढ खर्ब रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
कक्षा १२ को समग्र नतिजाले नेपालको विद्यालय शिक्षाको गुणस्तरप्रति प्रश्नचिह्न खडा गरेको छ । शिक्षाको गुणस्तरमाथि प्रश्नचिह्न खडा हुँदै गर्दा विद्यार्थीहरू भने कलेज पढ्ने कि कोरियन भाषा सिक्ने भन्ने अन्योलको मनस्थितिमा छन् । यस्तै अन्योल मनस्थितिमा रहेकी इलामको हेरिटेज नेसनल एकेडेमीकी एक विद्यार्थीले एउटा बहस कार्यक्रममा मेयरसामु प्रश्न तेस्र्याइन्, ‘क्याम्पस भर्ना होऔँ कि कोरियन भाषा कक्षामा ? अघिल्लो वर्ष कक्षा १२ को नतिजापछि विद्यार्थीले साथीलाई सुन्दर र उज्ज्वल भविष्यको शुभकामना दिनुसट्टा खाडीमा भेटौँला भने । यसपालि क्याम्पस पढ्ने कि कोरियन भाषा सिक्ने भनेर प्रश्न उठाए । यी दुवै सन्दर्भले नेपालको शिक्षा र रोजगारीसम्बन्धी सरकारी नीतिप्रति नै प्रश्न खडा गरेको छ । यसले नेपालको शिक्षा नीति र रोजगार नीतिबीच समन्वयको अभाव भएको पनि संकेत गरेको छ । साथै, शिक्षालाई रोजगारीसँग जोड्नुपर्ने अपरिहार्य आवश्यकता पनि औँल्याएको छ ।
शिक्षा आर्जनको उद्देश्य हो, जीवनलाई सहज र सरल बनाउनु । यो सहजता र सरलताभित्र विद्या, ज्ञान, सीप र उद्यमशीलता सिकेर रोजगार बन्ने र आयआर्जन गरी जीवनयापनको गतिलाई निरन्तरता दिने प्रक्रिया स्वतः जोडिएको हुन्छ । तर, नेपालमा निश्चित तहको शिक्षा हासिल गरिसकेपछि पनि रोजगार वा स्वरोजगार बन्ने निश्चितता भने पटक्कै छैन । निश्चित तहको शिक्षा हासिल गरिसकेपछि पनि रोजगार बन्न पाइने हो कि होइन भन्ने दुविधा हरेक युवाको मनमा रहेकै हुन्छ । यही दुविधाले गर्दा कोही खाडीमा भेटौँला भनेर साथीभाइसँग छुट्टिन्छन् त कोही कलेज भर्ना हुने कि कोरियन भाषा सिक्ने भन्ने प्रश्न मनमा बोकेर बस्छन् । यो विषम परिस्थितिले देशको भविष्य अन्धकारतर्फ धकेलिँदै गरेको संकेत गरिरहेको छ ।
नेपालमा बसेर के हुन्छ ? अहिले हरेक युवाको मनमा छिनछिनमा उठिरहने प्रश्न यही हो । बिदेसिने मनस्थितिमै छन् अधिकांश युवा । कलेज र विश्वविद्यालयमा भन्दा कन्सल्टेन्सी र म्यानपावर कम्पनीमा धाउने युवाको भीडले देशको विसंगत अवस्थालाई झल्काइरहेको देखिन्छ । यदि राज्यले युवाको मनमा अलिकति मात्रै आशा र भरोसा जगाउन सकेको भए हजारौँ युवाको मनमा यस्तो प्रश्न उठ्ने थिएन । अनि खाडीमा भेटौँला भनेर जाने युवाको संख्या पनि दिनहुँ बढ्ने थिएन र कलेज पढौँ कि कोरियन भाषा सिकौँ भनेर अन्योल मनस्थितिमा बस्ने युवाको संख्या पनि बढ्ने थिएन ।
राज्यले रंगीन सपना देख्ने महत्वाकांक्षी युवाको मनमा देशप्रति आशा र भरोसा जगाउनै सकेको छैन । बरु निराशा र वितृष्णा मात्रै जगाएको छ । राजनीतिक विसंगति, आर्थिक अव्यवस्था, कुशासन, भ्रष्टाचार आदिबाट युवावर्ग वाक्कब्याक्क छन् । नेताहरूका भनाइ र गराइको भिन्नताबाट युवाका मनमा निराशा र आक्रोश मात्रै बढाइरहेको छ । स्वदेशमै केही हुन्छ, स्वदेशमै केही गर्न सकिन्छ र केही बन्न सकिन्छ भन्ने आशा र भरोसा राज्यले जगाउनै सकेको छैन । राज्यको नीति र सरकारको कार्यशैलीबाट निराश भएका युवा केही सपना र केही आशा बोकेर धमाधम देश छोड्दै छन् । अनि त खाडीमा भेटौँला भनेर जानेहरू र पढ्ने र कमाउने भनेर जापान, अस्टे«लिया, क्यानडा, अमेरिका, बेलायत जानेहरूको लर्को लाग्ने गरेको छ । अनि यताचाहिँ जापान यात्रा सफल होस्, अस्ट्रेलिया यात्रा सफल होस् अथवा अमेरिका यात्रा सफल होस् भनेर कामना गर्नेहरूको संख्या बढिरहेको छ । अनि बचेरा उडेर गएपछि माउचराले रित्तो गुँड कुरेजस्तै रित्तो घर कुर्ने वृद्ध बाआमाको संख्या पनि बढिरहेको छ ।
नेपालमै बसी कलेज पढेर के गर्ने ? पढुन्जेल पनि नियमित पढाइ हुन्न । समयमा परीक्षा हुन्न । समयमा नतिजा प्रकाशित हुन्न । परीक्षाको नतिजा आएपछि पनि पढाइअनुसारको रोजगारी पाइने कुनै प्रत्याभूति छैन । ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने उत्पादनमूलक उद्योगले भन्दा थोरै जनशक्तिले चल्ने व्यापारले प्रश्रय पाएको छ । देशको अस्थिर राजनीति र अस्थिर आर्थिक नीतिबाट प्रताडित लगानीकर्ताहरू उद्योगधन्दा छोडेर व्यापारतिर लाग्दै छन् । उद्योगधन्दा फस्टाउन नसक्दा रोजगारी थपिनुको सट्टा भएको रोजगारी पनि खोसिँदै छ । आफैँ केही गरिखान्छु भन्ने युवाले सबैतिरबाट निराश र हतास भएर अन्त्यमा व्यवसायी प्रेमप्रसादले जस्तै सडकमै आत्मदाह गर्नुपर्ने विडम्बनापूर्ण अवस्था छ । अनि यस्तो बेथितिले भरिएको देशमा कुनचाहिँ युवा बस्छ र केको आसमा बस्छ ?
पढे पनि नपढे पनि जाने त विदेशै हो । पढ्नेहरू अमेरिका र युरोपतिर जालान् । नपढ्नेहरू खाडीतिर जालान् । अन्त्यमा देश त उही लुच्चा–फटाहा नेता र भ्रष्ट कर्मचारीका लागि मात्रै रामराज्य बन्ने हो । देशको राजनीति यति धेरै विकृत नभइदिएको भए, देशको कर्मचारीतन्त्र यति धेरै भ्रष्ट नभइदिएको भए र राज्यको शैक्षिक र आर्थिक नीति यति अस्थिर र अन्योलग्रस्त नभइदिएको भए परिवर्तनका संवाहक युवा निराश भएर बिदेसिन लालायित हुनुपर्ने थिएन । यति कुरा पनि देशको नेतृत्वतहले अझै पनि बुझ्ने चेष्टा गरेको छैन अथवा बुझेर पनि बुझ पचाइरहेको छ । यो नेपाली जनताको दुर्भाग्य हो । देशको भविष्य कता डो¥याइरहेछन् नेतृत्वतहले ? चिन्ताको विषय बनेको छ ।
स्वदेशमै बसेर केही गर्न सकिन्छ र केही बन्न सकिन्छ भन्ने आधार केही छैन । सबैतिर भताभुंग र लथालिंग मात्रै छ । नेताहरूका चर्का भाषणले युवाका कान टट्टाइसकेका छन् । तर, तिनको भाषणले युवाका मनमा कुनै आशा, भरोसा र विश्वास भने जगाउन सकेको छैन । बरु निराशा र वितृष्णा जगाएको छ । तिनका भनाइ र गराइमा देखिने आनका तान फरकको आधारमा सबै नेतालाई युवाले राम्रैसँग तौलिसकेका छन् । युवालाई अब कुनै नेताप्रति आशा छैन, भरोसा छैन र विश्वास छैन । चाहे बूढा नेता हुन् वा युवा नेता । सबैको कार्यशैली उस्तै छ र तिनको कार्यशैलीले युवालाई बिदेसिन बाध्य पारेको छ ।
अहिले हरेक घरमा छोराछोरीहरू विदेश जाने तयारीमा लागेका पाइन्छन् । घरसल्लाह पनि शिक्षा वा रोजगारीका लागि बिदेसिने विषयमा नै हुन्छन् । कोही पढ्नका लागि बिदेसिने तयारीमा लागेका, कोही रोजगारीका लागि बिदेसिन लागेका । अन्ततः पढ्नका लागि बिदेसिन लागेका युवाको अन्तिम लक्ष्य पनि त्यही रोजगारी नै हो । रोजगारी त पाइन्छ नै, साथै श्रमको सम्मान पनि छ विदेशमा । काम कुनै सानो र ठूलो भन्ने हुँदैन । जति बढी मेहनत ग¥यो उति बढी आम्दानी हुन्छ । नेपालमा जस्तो श्रममा विभेद छैन र श्रमको शोषण पनि छैन । नेपालमा जस्तो मजदुरको पसिनाले मालिक मोटाउने काम मात्रै हुँदैन विदेशमा । श्रमको उचित मूल्य पाउन सकिन्छ । युवामा विदेशमोह बढ्नुको मुख्य कारण पनि यही नै हो ।
घरघरबाट बिदेसिने तयारीमा लागेका छोराछोरीलाई तिनका वृद्ध बाआमाले देशमै बस, देशमै पढ र देशमै केही गर, विदेशचाहिँ नजाऊ भनेर भन्न पनि सकिरहेका छैनन् । किनभने देशमा त्यस्तो भन्न सकिने र आश्वस्त पार्न सकिने कुनै आधार नै छैन । जता हे¥यो उतै बेथिति छ । जता हे¥यो उतै निराशा मात्रै छ । आशा गर्ने र मन बुझाउने कुनै ठाउँ छैन । यहीँ बसेर पढे भोलि के हुन्छ भन्न सकिन्न । कोरियन भाषा सिके कोरिया गएर काम गर्न पाइन्छ । दुई–चार पैसा कमाउन सकिन्छ र परिवारलाई सुखले पाल्न सकिन्छ । यही आशा, सपना र निश्चिन्तता प्रतिविम्बित भएको छ, कलेज पढौँ कि कोरियन भाषा सिकौँ भन्ने अभिव्यक्तिमा । -karobardaily
प्रतिकृया दिनुहोस्